एमाले–नेपाली कम्युनिष्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य, सत्ता साझेदारीको सहमति
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सञ्चालनमा सहकार्य गर्ने औपचारिक सहमति भएको छ। शनिबार भएको सहमतिअनुसार दुवै दलले प्रदेशसभामा संयुक्त रूपमा सरकार गठन गर्दै सत्ता साझेदारी गर्ने भएका छन्।
दुई दलबीच भएको सहमतिपत्रमा प्रदेशसभामा पछिल्लो समय बजेट निर्माणका क्रममा देखिएका असमझदारी, बजेटविहीन अवस्था तथा अस्वस्थ राजनीतिक प्रतिस्पर्धाको अन्त्य गर्दै राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासलाई गति दिने उद्देश्य उल्लेख गरिएको छ।
सहमतिअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेपाली कम्युनिष्ट पार्टीले गर्नेछ।
यस्तै मधेश र गण्डकी प्रदेशमा सरकार गठनका विषयमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलसँग परामर्श गरी सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय गर्ने सहमति भएको छ।
सहमतिपत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हस्ताक्षर गरेका छन्।
दुवै दलले प्रदेश सरकारलाई स्थिर, प्रभावकारी र जनमुखी बनाउँदै विकास तथा सुशासनका कार्यक्रमलाई तीव्रता दिने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
