इयू आबद्ध देशका कूटनीतिज्ञसँग आज प्रधानमन्त्री शाहको सामूहिक छलफल

khabarwave
१२ जेष्ठ २०८३

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज नेपालस्थित युरोपेली संघ (इयू) आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग सामूहिक छलफल गर्ने भएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहान साढे ११ बजे हुने कार्यक्रममा इयूका २२ सदस्य राष्ट्र तथा दक्षिण–पूर्वी एसियाली मुलुकका ३० भन्दा बढी कूटनीतिज्ञ सहभागी हुनेछन्।

प्रधानमन्त्री शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार भेटवार्तामा नेपालको वर्तमान प्राथमिकता, द्विपक्षीय सम्बन्धको सुदृढीकरण तथा विभिन्न क्षेत्रमा सहकार्य विस्तारका विषयमा केन्द्रित भएर छलफल हुनेछ।

छलफलका क्रममा नेपाललाई अतिकम विकसित राष्ट्र (एलडीसी) को सूचीमा केही समय यथावत् राख्न अन्तर्राष्ट्रिय समर्थन जुटाउने विषय उठाइने बताइएको छ। साथै, युरोपेली संघको हवाई सुरक्षा ‘कालोसूची’बाट नेपाललाई हटाउने विषयमा पनि पहल गरिने जनाइएको छ।

यसअघि गत चैत २५ गते प्रधानमन्त्री शाहले नेपालस्थित विभिन्न मुलुकका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेट तथा संवाद गरेका थिए।

आजको भेटलाई प्रधानमन्त्री शाहको कूटनीतिक सक्रियता विस्तार गर्ने तथा नेपाल–युरोपेली संघ सम्बन्धलाई थप सुदृढ बनाउने प्रयासका रूपमा हेरिएको छ।

Loading spinner