अमेरिका–इरान शान्ति सम्झौता अझै अन्योलमा, ट्रम्पको सुरक्षा बैठक निष्कर्षविहीन
काठमाडौं । अमेरिका र इरानबीच सम्भावित शान्ति सम्झौता तथा ६० दिने युद्धविराम थप गर्ने विषय अझै टुंगोमा पुग्न सकेको छैन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस सम्बन्धमा अन्तिम निर्णय लिन बोलाएको उच्चस्तरीय सुरक्षा बैठक कुनै ठोस निष्कर्षबिना सकिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
ह्वाइट हाउसको सिचुएसन रुममा राष्ट्रिय सुरक्षा टोलीसँग करिब दुई घण्टा चलेको बैठकपछि पनि सम्झौता स्वीकृत भएको वा नभएकोबारे कुनै आधिकारिक घोषणा गरिएको छैन। बैठकपछि जारी वक्तव्यमा अमेरिकाको हित र राष्ट्रपतिका मुख्य सर्तहरू पूरा भएमा मात्रै सम्झौता हुने तथा इरानलाई कुनै पनि हालतमा आणविक हतियार विकास गर्न नदिइने उल्लेख गरिएको छ।
यसअघि दुवै देशबीच ६० दिने युद्धविराम थप गर्ने र इरानको आणविक कार्यक्रमबारे औपचारिक संवाद सुरु गर्ने समझदारीपत्रको मस्यौदा तयार भएको समाचार सार्वजनिक भएको थियो। तर दुवै देशका शीर्ष नेतृत्वबाट अन्तिम स्वीकृति नपाएसम्म उक्त दस्तावेज केवल प्रारम्भिक खाका मात्र रहने अमेरिकी अधिकारीहरूको भनाइ छ।
बैठकअघि राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जालमार्फत सम्भावित सम्झौताका लागि केही कडा सर्तहरू सार्वजनिक गरेका थिए। उनले इरानले कहिल्यै पनि आणविक हतियार नबनाउने प्रतिबद्धता जनाउनुपर्ने, हर्मुज जलडमरूमध्य तत्काल खुला गरिनुपर्ने तथा समुद्री खानीहरू हटाइनुपर्ने माग राखेका थिए। साथै, अत्यधिक समृद्ध युरेनियम नष्ट गरिनुपर्ने र तत्काल कुनै आर्थिक राहत नदिइने दाबी पनि गरेका थिए।
तर इरानले ट्रम्पका यी दाबीहरूलाई अस्वीकार गरेको छ। इरानी सञ्चारमाध्यमहरूले ट्रम्पको अभिव्यक्तिलाई तथ्य र भ्रमको मिश्रण भन्दै आलोचना गरेका छन्। इरानी पक्षका अनुसार वार्ताको मुख्य उद्देश्य युद्ध अन्त्य गर्ने विषय हो, आणविक कार्यक्रम होइन।
इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले अमेरिका र इरानबीच सन्देश आदानप्रदान जारी रहे पनि कुनै अन्तिम सहमति नभएको स्पष्ट पारेका छन्। त्यस्तै, विदेशमन्त्री अब्बास अराक्चीले हर्मुज जलडमरूमध्यको व्यवस्थापन इरानको सार्वभौम अधिकार र अन्तर्राष्ट्रिय कानुनअनुसार हुने बताएका छन्।
इरानी संसद्को राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिले पनि अमेरिकी मागहरूको आलोचना गर्दै समृद्ध युरेनियमको मौज्दात कुनै तेस्रो देशमा पठाउने सम्भावनालाई पूर्ण रूपमा अस्वीकार गरेको छ।
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले वार्ताकारहरू अझै युरेनियम संवर्धनसम्बन्धी विषयमा छलफल गरिरहेको र सम्झौता नजिक पुगे पनि अन्तिम निर्णय हुन बाँकी रहेको बताएका छन्।
यता, अमेरिका–इरान वार्ता जारी रहँदा मध्यपूर्वमा तनाव झन् बढ्दै गएको छ। इजरायलले लेबनानमा इरान समर्थित हिजबुल्लाह समूहविरुद्ध आक्रमण तीव्र बनाएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आफ्ना सेना रणनीतिक क्षेत्रमा अघि बढिरहेको दाबी गरेका छन्।
लेबनानी अधिकारीहरूका अनुसार जारी आक्रमणमा हजारौं मानिसको मृत्यु भएको छ भने लाखौं नागरिक विस्थापित भएका छन्। बालबालिकामाथि परेको प्रभावबारे अन्तर्राष्ट्रिय समुदायले समेत गम्भीर चिन्ता व्यक्त गरिरहेको छ।
विश्व ऊर्जा आपूर्तिको प्रमुख मार्ग मानिने हर्मुज जलडमरूमध्यमा उत्पन्न तनावका कारण विश्व बजारमा तेल तथा ग्यासको मूल्य उच्च रहँदा विश्व अर्थतन्त्रमा पनि दबाब बढेको छ। यही कारण अमेरिका र इरानबीचको सम्भावित सम्झौतालाई विश्व समुदायले चासोपूर्वक हेरिरहेको छ।
