अमेरिकाले इरानमा फेरि गर्‍यो आक्रमण

khabarwave
१४ जेष्ठ २०८३

अमेरिकाले इरानमा फेरि आक्रमण गरेको छ। गएराति दक्षिणी इरानमा अमिरिकाले फेरि हमला गरेको भनेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ। अमेरिकाले हर्मुज नजिक आफ्नो सेना र व्यावसायिक जल यातायातका लागि खतरा ठानिएका इरानी सैन्य संरचनाहरूलाई लक्ष्य गरेरर रातारात हमला गरेको हो। रोयटर्सले एक अमेरिकी अधिकारीलाई हवाला दिँदै लेखेको समाचार अमेरिकी सेनाले इरानबाट उडाइएका धेरै ड्रोनहरू पनि खसालेको बताएका छन्। ती ड्रोनले अमेरिकी सैन्य फौज र हर्मुज जलमार्ग हुँदै हुने सीमित व्यावसायिक जहाज आवागमनमा खतरा निम्त्याएको दाबी गरिएको छ। अमेरिकी अधिकारीका अनुसार अमेरिकी सेनाले चारवटा ‘वन–वे अट्याक ड्रोन’ ९एकतर्फी आक्रमण ड्रोन० खसालेको थियो। त्यसपछि पाँचौँ ड्रोन उडाउनुअघि दक्षिणी इरानको बन्दर अब्बासस्थित ड्रोन नियन्त्रण केन्द्रमा हवाई आक्रमण गरिएको थियो। उक्त स्थान इरानको सबैभन्दा महत्वपूर्ण बन्दरगाह मानिन्छ। अमेरिकी अखबार द न्युयोर्क टाइम्सका अनुसार बन्दर अब्बास आसपास बिहीबार बिहानपख विस्फोटको आवाज सुनिएको इरानी सरकारी सञ्चारमाध्यमहरूले पनि पुष्टि गरेका छन्। इरानी पक्षले शहरको पूर्वी क्षेत्रमा तीनवटा विस्फोट भएको र वायु प्रतिरक्षा प्रणाली सक्रिय पारिएको जनाएको छ। घटनाको स्रोतबारे अनुसन्धान भइरहेको बताइएको छ। यो तीन दिनभित्र अमेरिकी सेनाले गरेको दोस्रो आक्रमण हो। यसअघि सोमबार पनि अमेरिकाले आफूले रक्षात्मक कारबाही गरेको जनाएको थियो। अमेरिकाले बारुदी सुरुङ बिछ्याउन खोजेका डुंगा र मिसाइल प्रक्षेपणस्थललाई निशाना बनाएको दाबी गरेको थियो। तर इरानले त्यसलाई दुई देशबीचको कमजोर युद्धविरामको गम्भीर उल्लंघन भनेको थियो। अमेरिका र इरानबीच तीन महिनादेखि जारी युद्ध अन्त्यका लागि वार्ता चलिरहेका बेला पछिल्ला सैन्य कारबाही सार्वजनिक भएका हुन्। फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि युद्ध चर्किएको थियो, जसमा हजारौँ मानिस मारिएको र विश्वव्यापी ऊर्जा मूल्यमा तीव्र वृद्धि भएको बताइएको छ। यसैबीच अमेरिकी राष्ट्रपतिले बुधबार इरान र ओमानले संयुक्त रूपमा होर्मुज जलडमरूमध्यको जल यातायात व्यवस्थापन गर्ने सहमति भएको भन्ने इरानी सरकारी सञ्चारमाध्यमको दाबी अस्वीकार गरेका छन्। ट्रम्पले उक्त जलमार्ग खुला रहने बताएका छन्। इरान अमेरिका युद्ध अन्त्य गर्न हाल कतारमार्फत अप्रत्यक्ष वार्ता भइरहेको छ। इरानले करिब २४ अर्ब अमेरिकी डलर बराबरका रोक्का सम्पत्ति फुकुवा गर्नुपर्ने माग अघि सारेको छ। अमेरिका र इरानबीच वार्ताका अधिकांश विषयमा सहमति भइसकेको र अब केबल अन्तिम रूप दिन बाँकी रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि नै बताएका थिए। प्रारम्भिक सम्झौताका सर्तहरू अहिलेसम्म औपचारिक रूपमा सार्वजनिक भएका छैनन्। तर अमेरिकी अनलाइन एक्सियसले वार्तामा सहभागी एक अमेरिकी अधिकारीको हवाला दिँदै सहमति भइसकेका बुँदाहरू खुलाएको छ। एक्सियसका अनुसार दुवै पक्षले ६० दिनका लागि एउटा समझदारी पत्रमा हस्ताक्षर गर्नेछन्। जसको अवधि आपसी सहमतिमा थप्न सकिनेछ। ६० दिनको अवधिमा स्ट्रेट अफ हर्मुज बिना कुनै शुल्क लिएर खुला रहनेछ र इरानले जहाजहरूलाई स्वतन्त्र रूपमा आवतजावत गर्न दिनका लागि त्यहाँ बिछ्याएका सामुद्रिक बमहरू हटाउन सहमत हुनेछ। यसको बदलामा अमेरिकाले इरानी बन्दरगाहहरूमा लगाएको नाकाबन्दी हटाउनेछ र इरानलाई स्वतन्त्र रूपमा तेल बिक्री गर्न दिन केही प्रतिबन्धहरूमा छुट दिनेछ। सो कदमले इरानको सहित विश्वकै अर्थतन्त्रका लागि ठूलो राहत हुनेछ। इरानीहरूले जति चाँडो हर्मुजमा राखेको बम हटाउँछन् र जहाजहरूको आवतजावत सुरू गर्न दिन्छन्, त्यति नै चाँडो अमेरिकी नाकाबन्दी हटाइनेछ। अमेरिकाले रोक्का गरिएका रकमहरू तुरून्तै फुकुवा र स्थायी रूपमा प्रतिबन्धहरूबाट मुक्ति पाइयोस् भन्ने इरानको चाहना छ। तर ट्रम्पको ‘कार्य सम्पादनका आधारमा राहत’ दिने सिद्धान्त अनुसार अमेरिकीले भने ठोस रूपमा कामहरू पूरा भएपछि मात्र त्यसो हुन सक्ने स्पष्ट पारेको छ। अमेरिकी अधिकारीका अनुसार समझदारी पत्रको मस्यौदामा इरानले कहिल्यै पनि आणविक हतियार नबनाउने र आफ्नो युरेनियम प्रशोधन कार्यक्रम स्थगित गर्ने तथा अत्याधिक प्रशोधन गरिएको युरेनियमको भण्डार हटाउने विषयमा वार्ता गर्ने प्रतिबद्धताहरू समावेश छन्। इरानले प्रशोधन कार्य स्थगित गर्ने र आणविक सामग्रीहरू त्याग्ने सन्दर्भमा आफू कतिसम्म लचिलो हुन तयार रहेको भन्नेबारे मध्यस्थकर्ताहरू मार्फत अमेरिकालाई मौखिक प्रतिबद्धता दिएको भनेर अरू दुई स्रोतको हवाला दिँदै एक्सियसले लेखेको छ। अमेरिका ६० दिनको अवधिमा प्रतिबन्धहरू हटाउने र इरानको रोक्का गरिएको रकम फुकुवा गर्ने विषयमा वार्ता गर्न सहमत हुनेछ। तर ती कदमहरू प्रमाणित गर्न सकिने गरी अन्तिम सम्झौता लागू भएपछि मात्र कार्यान्वयनमा आउनेछन्। हालैका महिनामा अमेरिकाले मध्यपूर्वमा परिचालन गरेका सैनिक र सैन्य उपकरणहरू ६० दिनको अवधिभर सोही क्षेत्रमा रहनेछन् र अन्तिम सम्झौता भएमा मात्र त्यहाँबाट फिर्ता हुनेछन्। समझदारी पत्रको मस्यौदाले लेबननमा इसराइल र हिजबुल्लाहबीच भइरहेको युद्ध समाप्त हुने पनि स्पष्ट पारेको छ। इसराइली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले शनिबार ट्रम्पसँगको फोन वार्तामा सो सर्तप्रति चिन्ता व्यक्त गरे पनि ट्रम्पले उनलाई मनाएका छन्। यद्यपि अमेरिकाले इरानमा हमला गरेपछि इसराइलले पनि लेबननमा आक्रमण थप सशक्त बनाएको छ।

Loading spinner