भोलि फेरि प्रयास गरौला
–सम्राट पन्त
ऊ खुसि देखिन्थ्यो
या सायद आफ्नो दुःख लुकाउथ्यो।
ऊ हावासँग उड्दथ्यो
नदीसँग बग्दथ्यो,
रुखसँगै झुल्दथ्यो ऊ
घामसँग झुल्कन्थ्यो ।
यसरी नै उसको दिन बित्थ्यो
र राती।।
तर जिद्दी रहेछ ऊ,
आफ्ना सबै सपना पुरा गर्ने रहर
अझै अडिग रहेछ उसको मनमा।
भास्करको पहिलो किरणसँग ब्युँझेर
ऊ यताउता टोलाउँछ,
हावासँग उड्दै, नदिसँग बग्दै र रुखसँग झुल्दै
ऊ हरेक कुना काप्चामा पुग्दछ
अनि आफ्ना सपनाहरूको खोजी गर्न थाल्छ।
सधैँ झैँ आज पनि बागमतीमा फालिएको फोहोरसँगै
उसको सपना बहेर जान्छ,
अल्लारे ठिटाले फुकेको चुरोटको धुँवासँगै
उसको सपना उडेर जान्छ।
सुर्यझैँ झुल्किरहेको उसको जीवनमा फेरि त्यही
अन्धकारमय रात छाउँछ
र भोलि फेरि प्रयास गरुँला भन्दै
ऊ त्यही सडकको किनारमा जान्छ
र आफ्ना मृत मातापिताको सम्झनामा
रोइरहन्छ।। –बालकबिता