९ जनाको ज्यान गयो, १०४१ संक्रमित थपिए

khabarwave
२० भाद्र २०७७

काठमाडौं । पछिल्लो २४ घण्टामा ९ जनाको ज्यान जाँदा १०४१ नयाँ संक्रमित थपिएका छन् । शनिबार उपत्यकामा ४०८ सहित देशभर एक हजार ४१ जना कोरोनाका संक्रमित थपिएका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत कोरोनाका एक हजार ४१ संक्रमित थपिएको जानकारी दिए। प्रवक्ता गौतमका अनुसार काठमाडौं जिल्लामा ३२६ जना, भक्तपुरमा ४५ जना र ललितपुरमा ३७ जना गरी काठमाडौं उपत्यकामा थप ४०८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। नेपालभर कोरोनाबाट संक्रमित हुनेको संख्या ४५ हजार २७७ पुगेको छ।

हालसम्म २७ हजार १२७ जना डिस्चार्ज भएका छन् भने गत २४ घण्टामा १५ सय ६६ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या १७ हजार ८७० रहेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा ९ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनको संख्या २८० पुगेको छ। गत २४ घण्टामा १२ हजार ४७३ जनाको पीसीआर विधिबाट कोरोनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। यस्तै ६ हजार ७०१ जना क्वारेन्टिनमा रहेका छन्।

Loading spinner