हरिबोधनी एकादशी-दुई दिन यसरी मनाइदै

khabarwave
१० मंसिर २०७७

काठमाडौं । कार्तिक शुक्ल एकादशीलाई हरिबोधनी एकादशी भनिन्छ । आषाढ शुक्ल एकादशीका दिन क्षीरसागरमा शयन गर्ने भगवान् विष्णु यसै दिन जागा हुने शास्त्रीय मान्यता छ । प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिन मनाइने हरिबोधनी एकादशी यस वर्ष स्मृतिमा आधारित भई कर्म गर्नेले बुधबार र वेदमा आधारित भई कर्म गर्नेले बिहीबार मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतम मंसिर १० गते बुधबार एकादशी तिथि ५९ घडी नाघी ११ गते बिहान अरुणोदयकालमा पनि रहेको बताउँछन् । दशमी र एकादशी तिथि पहिलो दिन ५६ घडी नाघेमा दोस्रो दिन पनि हुन्छ भन्ने शास्त्रीय मत छ । एकादशी तिथि ५६ घडी नाघेका दिन स्मृतिलाई आधारमानी कर्म गर्ने अर्थात् स्मार्तले एकादशी मनाउँछन् । यसै कारण मंसिर १० गते बुधबारलाई ‘स्मार्तानां एकादशी व्रत’ भनी समितिले स्वीकृति दिएका पात्रो पञ्चाङ्गमा उल्लेख गरिएको उनले जानकारी दिए ।

अषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल पूर्णिमासम्म सनातन धर्मावलम्बीले घरघरमा तुलसी रोपी विशेष पूजा आराधना गर्छन् । हरिबोधनी एकादशीका दिन तुलसीलाई विष्णुसँग विवाह गरी विशेषरुपमा मनाउने गरिन्छ ।

वैदिक पात्रोमा उल्लेख गरिने १६ तिथिमध्ये एकादशीलाई महत्वपूर्ण तिथिका रुपमा मनाइन्छ । हरिबोधनी एकादशीलाई ‘ठूलो एकादशी’ पनि भनिन्छ । यस दिन सनातन धर्मावलम्बीले अन्न ग्रहण नगरी कन्दमूल र फलफूल खाने गर्छन् । चतुर्मासभर पूजा आराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशीदेखि मार्गशीर्ष कृष्ण पञ्चमीसम्म वैदिक यज्ञ गरी समापन गरिन्छ ।

यस अवसरमा काठमाडौं उपत्यकाका चार नारायण मन्दिरमा विशेष मेला लाग्ने गर्छ । भक्तपुरको चाँगुनारायण, ललितपुरको गोदावरीस्थित विशंखुनारायण, काठमाडौंको दक्षिणकाली नगरपालिकामा रहेको शेषनारायण र नागार्जुनमा रहेको इचंगुनारायणमा एकादशीदेखि कार्तिक शुक्ल पूर्णिमासम्म विशेष मेला लाग्छ । यस अवसरमा चार नारायणको दर्शन गरेमा पाप पखालिई पुण्य कमाइने र मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । यस वर्ष कोरोना भाइरसको संक्रमणका कारण चार नारायणमध्ये केहीमा मात्र मेला लाग्ने जनाइएको छ । भक्तजनलाई घरघरमै बसी नारायणको पूजा आराधना गर्न धर्मशास्त्रविद् र सम्बन्धित मन्दिर व्यवस्थापन समितिले आह्वान गरेका छन् ।

दक्षिणकाली नगरपालिका–५ मा पर्ने चार नारायणमध्येको एक शेषनारायण मन्दिरमा भने हरिबोधनी एकादशीका अवसरमा बुधबार र बिहीबार दुवै दिन मेला लाग्ने भएको छ ।

 

Loading spinner