
सुशान्तलाई दोष थुपार्दै रियाले स्वीकारिन् अभियोग
सुशान्तसिंह राजपुत आत्महत्या प्रकरणको अनुसन्धान ड्रग्स ओसारपसार तर्फ केन्द्रीत भएको छ। सुरुमा सीबीआईले आत्महत्या हो कि हत्या हो भन्ने विषयमा प्रेमिका रिया चक्रवर्तीमाथि अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा ड्रग्सको कनेक्सन देखिएपछि नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले पनि छानविन अगाडि बढाएको छ। ड्रग्स ओसारपसारमा संलग्नता देखिएपछि मुख्य अभियुक्त रियाका भाई शोविकलाई एनसीबीले नियन्त्रणमा लिइसकेको छ। रियासँग निरन्तर सोधपुछ जारी छ। मंगलवारको सोधपुछमा रियाले आफूले पनि ड्रग्स लिँदै आएको स्वीकार गरेकी छन्। यसअघि उनका वकिलले रियाले कहिल्यै पनि ड्रग्स नलिएको र उनी रगत जाँच गराउन पनि तयार रहेको बताएका थिए। स्वयम् रियाले पनि एक अन्तर्वार्तामा आफूले कहिल्यै ड्रग्स सेवन नगरेको दावी गरेकी थिइन्।
आज उनले वकिल र आफ्नो पूर्वदावी विपरित एनसीबीलाई आफूले सेवन गर्ने गरेको स्वीकार गरेकी हुन्। रियाले आफूलाई सुशान्तले नै ड्रग्स लिन बाध्य पारेको पनि दावी गरेकी छन्। सुशान्तले ड्रग्स सेवन गर्न दबाब दिने गरेको र त्यसैकारण आफूले सेवन गरेको उनको दावी छ। आफूले गाँजाका साथै केही केमिकल्स पनि लिने गरेको रियाले वयान दिएकी छन्। भारतीय मिडियाका अनुसार एनसीबीसँग रियाले आफैमा बाझिने गरी अगल अलग बयान दिइरहेकी छिन्। जसबाट उनी थप संकटमा पर्दै गएकी छन्। रियाले सुशान्तको फिल्म सेटमा नै ड्रग्सको प्रयोग हुने गरेको बताउँदै सेवन गर्ने केही कलाकारको नाम समेत वयानमा भनेकी छन्।