सरकारमा संलग्नताकाबारेमा जसपा एमालेसँग आज निर्णायक बार्ता गर्दै

khabarwave
२८ फाल्गुन २०७७

काठमाडौं । बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागितामा भएको छलफलमा शुक्रबार कार्यदलस्तरमा निर्णायक छलफल गर्ने सहमतिपछि सरकारमा जाने कि नजाने भन्ने विषयमा सरकार र जनता समाजवादी पार्टी बीच शुक्रबार पनि वार्ता हुँदै छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न चार बजे वार्ता हुने समय ताेकिएकाे बताइएकाे छ ।

आजकाे वार्ता निर्णायक हुने नेताहरुले बताएका छन् । त्यसैले यो वार्तालाई चासोका साथ हेरिएको छ । बिहीबारकाे बार्तामा प्रधानमन्त्री ओली जसपाले राखेका मागप्रति सकारात्मक भएको र सोही आधारमा शुक्रबारको वार्ता टुंगोमा पुग्ने अपेक्षा गरिएको छ ।प्रधानमन्त्री ओलीलाई सरकार टिकाइ राख्न थप १८ सांसद आवश्यक पर्दछ । निलम्वितबाहेक ३२ सांसद रहेका जसपाको एउटा खेमालाई भए पनि साथ लिने रणनीतिमा ओली रहेका  छन् ।

जसपाले निलम्वित सांसद टीकापुर घटनामा दोषी ठहर रेशम चौधरीको मुद्दा फिर्ता र रिहाइ तथा मधेस आन्दोलनका मुद्दा फिर्ता, संविधान संशोधन लगायतका सर्त राख्दै आएको छ । आफ्ना माग सम्बोधनका लागि जसपाले कर्ण र सर्वेन्द्रनाथ शुक्ल सदस्य रहेको कार्यदल गठन गरेको छ । सरकारको तर्फबाट अर्थमन्त्री विष्णु पौडेल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई कार्यदलमा छन् ।

 

 

Loading spinner