सरकारकाे निर्णयमा देउवा आक्राेशित -अलाैकतान्त्रिक निर्णय खारेज गर

khabarwave
६ कार्तिक २०७७

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने सरकारको निर्णय लज्जास्पद भएको बताउदै नागरिकको स्वास्थ्य परिक्षणदेखि संक्रमितको उपचारसम्म सबै काम निशर्त, भेदभाव बिना, निःशुल्क गर्ने व्यवस्था मिलाउन सरकार र प्रधानमन्त्रीलाई आग्रह गरेका छन ।
देउवाले बिहीबार विज्ञप्ति जारी गर्दै यो निर्णयले सरकार जनताकाप्रति सम्वेदनहीन, गैर जिम्मेवार, अनुत्तरदायी र कर्तव्य बिमुख छ भन्ने देखिएको बताएका छन् । कोभिड–१९ नियन्त्रणमा सरकार प्रारम्भदेखि नै गैरजिम्मेवार भएको र महामारीको भयावह अवस्था सिर्जना हुनुमा सरकार जिम्मेवार रहेको समेत उनले बताएका छन् ।

सरकारले हालै मात्र आर्थिक रुपमा विपन्न, अशक्त, अपाङ्ग र फ्रन्टलाइनमा खटिएकाहरुमा लक्षण देखिए मात्र परीक्षण र उपचार निःशुल्क गर्ने बताएको छ । अरुले आफ्नै खर्चमा परीक्षण र उपचार गर्नुपर्छ ।

देउवाले विज्ञप्तिमा भनेका छन – आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्नु नागरिकको संवैधानिक एवं कानूनी हक भएको भन्दै उनले भनेका छन्, ‘सरकारले जनताहित, लोकतान्त्रिक मूल्य, संवैधानिक र कानूनी व्यवस्था विपरित निर्णय गरी घोर अलोकतान्त्रिक चरित्रको प्रदर्शन र सर्वोच्च अदालतको पनि अवहेलना गरेको छ । यस्तो स्थिति आउन नदिन म प्रधानमन्त्रीजीलाई सजग गराउन चाहन्छु ।’

 

 

Loading spinner