समय र राजनीतिको तादात्म्य

khabarwave
१६ श्रावण २०७८

देउवाजीको नेत्तृत्त्वमा सरकार बनेको पनि तीन हप्ता लाग्दै छ तर विहानीले दिनलाई संकेत गर्छ भन्ने उखानलाई हेर्ने हो भने राम्रो संकेत दिन नसकेको अनुभूति हुदै छ। निवर्तमान सरकार प्रमुखले कानून र संविधानलाई उल्लंघन गरेको कारणले कानूनी उपचारको माध्यमबाट बनेको यो सरकार ओली खेमा संलग्न सरकार उपर विरोधका कार्यक्रमहरू सन्चालन गर्दा सरकार कसरी बनाउने र कसरी अगाडि बढ्ने भन्ने रोड म्याप सहित आन्दोलन गरेको रहेनछ कि भन्ने अनुभव गरिदैछ वर्तमान सरकारको गति हेर्दा। हुन त काम गर्ने ईच्छा हुनेलाई समय त्यति ठूलो वाधा नहुने रहेछ भन्ने संकेत टोकियोमा जुलाई ३१ मा स्पेन र कोस्टारिका बीच भएको फुटबलको क्वार्टर फाईनलको खेलले पनि देखाउछ।

किनभने निर्धारित समय ९० मिनेट सम्म बराबर अंकमा रहेका यी दुई देशका फुटबल खेलाडीले ईन्जुरी टाईमको लागि थपिएको ५ मिनेटलाई सदुपयोग गरेर पुन: बराबरी हुन पुगे। यहा भन्न खोजिएको कुरा के हो भने ९० मिनेटमा हुन नसकेको काम पनि ५ मिनेटमा गर्न सकिने रहेछ। राजनीति पनि एउटा खेल जस्तै हो, यसको पनि गन्तब्य हुन्छ, यदि अर्जुन दृष्टि लगाएर काम गर्यो भने लक्ष्यमा पुग्न समय वाधक हुदैन। अहिलेको सरकारलाई करीव डेढ वर्ष टाईम छ जसरी फुटबल खेललाई डेढ घण्टा टाईम हुन्छ, राम्रो काम गर्न वा थालनी गर्न डेढ महिना मै पनि सकिन्छ यसको लागि डेढ वर्ष कुर्न पनि पर्दैन। यो सरकारले परम्परागत रूपमा मानिएको हनिमुन पिरीयडमा अल्मलिने समय पनि लिन सुहाऊदैन र लिने छुट पनि छैन तर खुट्टी देखेर चाल पाईयो भन्ने उखान चरीतार्थ हुन थालेको छनक देखिदैछ जुन सफल संकेत हैन।

मा. प्रदीप गिरीका शब्दहरू सापट लिएर भन्ने हो भने यो सरकार सफल नहुदा यो संग संविधान र शासन ब्यबस्था नै सती जाने सम्भावना छ। वर्तमान सरकार एउटा दलबाट बनेको भए अरू दलहरूले तमासा हेरेर बसे हुन्थ्यो, हुन त यो सरकारको तमासे ओली पक्ष नभएको पनि हैन तर ओली सरकार हटाउन लागी परेका दलहरू जसरी आन्दोलनमा मतैक्य भएर आन्दोलन सफल बनाए त्यसै गरी यो सरकार सफल बनाउन पनि मतैक्य हुनु पर्ने हो जुन त्यस्तो देखिदै छैन।

किनभने सरकारले पूर्ण रूप पाउनै झण्डै एक महिना लाग्न थाल्यो जुन राम्रो संकेत हैन। संविधानलाई मूलबाटोमा ल्याउन सफल दलहरूमा देखिएको यो अलमलले न त कोभिडको ब्यबस्थापन समय मै हुन सक्छ न त सुशासनका कामले गति लिन सक्छन्। ५ वर्षका लागि गर्नु पर्ने कामहरूका झण्डै साढे तीन वर्ष ओली सरकारले वेकारमा खर्च्यो र उक्त काम वाकि डेढ वर्षमा सम्पादन गर्नु पर्ने दायित्व वर्तमान सरकारमा छ।

वर्तमान सरकारमा संलग्न दलहरूले आफ्नो पार्टी को छाया सरकारमा पर्न दिनु भएन जसरी निवर्तमान सरकारले गर्यो। सरकारमा संलग्न दलहरूका आफ्ना आन्तरिक कार्यहरूका कारण सरकारको मिशन र भिजनमा कुनै अवरोध हुन भएन। त्यसै गरी यो असहज बेलामा बनेको सरकार भएको हुनाले पनि यसमा संलग्न हुने दलहरूले सरकारको बनाबट र सन्चालनलाई मोलमोलाईको विषय समेत बनाउनु भएन। सरकारले प्रारम्भ मै हालको स्वास्थ्य संकटलाई संबोधन गर्ने गरी परराष्ट्र र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई प्रमुख विहीन नराख्नु पर्ने थियो जुन कमजोरी भै सक्यो तर अब ढिला नगरीकन यसलाई सम्बोधन गरेर अगाडि बढ्नुको बिकल्प छैन।

नेपालको संविधानमा विद्यमान विशेष ब्यबस्था बमोजिम बनेको यो सरकारले गर्नु पर्ने काम पनि विशेष नै छन्। यो सरकारले हाल विश्वमा जल्दो बल्दो समस्याको रूपमा देखा परेको कोभिडको ब्यबस्थापन संगै मुलुकमा हाल देखा परेको राजनीतिक संकटलाई समेत उचीत तवरबाट सम्बोधन गरी सम्विधानलाई सही बाटोमा हिडाएर मात्र पुग्दैन परन्तु यसले विश्वमा नै सन्तुलन डगमगाउदै गएको विदेश नीतिलाई समेत ख्याल गर्दै नेपालको भू- राजनीति बमोजिम सन्तुलित तवरबाट परराष्ट्र नीति अगाडि बढाउन सक्नु पर्छ।

Loading spinner