सबै नतिजा ८ दिनभित्र

khabarwave
२ मंसिर २०७९

काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेससभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको परिणाम तीन दिनभित्र सार्वजनिक गर्ने तयारी गरेको छ। प्रतिनिधि र प्रदेससभातर्फको प्रत्यक्षतर्फ सम्पूर्ण परिणाम तीन दिनभित्र सार्वजनिक गर्ने लक्ष्य राखिएको आयोगले जनाएको छ। प्रत्यक्षतर्फको परिणाम तीन दिनभित्र र समानुपातिकतर्फको परिणाम पाँच दिनभित्र सार्वजनिक गर्ने लक्ष्य राखिएको आयोगले बताएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रत्यक्षतर्फको तीन दिन र समानुपातिकतर्फको परिणाम पाँच दिनभित्र सार्वजनिक गर्ने योजना बनाएको बताएका छन्।
‘सबै मतपेटिका संकलन भएलगत्तै मतगणना सुरू हुनेछ, तीन दिनभित्र प्रत्यक्षतर्फ र त्यसको पाँच दिनभित्र समानुपातिकका सबै मतगणना सक्ने गरी योजना बनाएका छौं,’ थपलियाले भने,‘मतदान सकिएको ८ दिनभित्र प्रत्यक्ष र समानुपातिक दुवैको नतिजा सार्वजनिक गर्ने लक्ष्य राखेका छौ।’ उनले बढीमा मंसिर २२ गतेभित्र चुनावको सबै नतिजाको प्रतिवेदन तयार पार्ने तयारी रहेको बताए।
‘नतिजा निस्किएपछि राजनीतिक दलहरूले समानुपातिकतर्फको प्रतिनिधि छान्नुप¥यो, अनि आयोगले प्रमाणपत्र दिनुप¥यो,’ उनले भने,‘कानुनबमोजिम दलहरूले हप्ता दिन समय पाउँछन्, २२ गतेभित्र सबैथोक सक्ने लक्ष्य राखेका छौं।’ मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेससभाको निर्वाचन देशभर एकै चरणमा हुँदैछ।
यो चुनावका लागि १ करोड ७९ लाख ८० हजार ५७० मतदाता कायम छन्। मतदानका लागि १० हजार ८९२ मतदान स्थल र २२ हजार २२७ मतदान केन्द्र कायम गरिएको छ।

Loading spinner