सत्ता कब्जा गर्न खोज्नेहरू देखि साबधान !!!
२०७७ पुष ५ देखि यताका छापाहरू हेर्दा नेकपा एमाले हुदै डबल नेकपा र हाल पुन: नेकपा एमालेका अध्यक्ष हुन पुगेका बर्तमान प्रमं. केपी शर्मा ओलीले चालेका कदम र गरेका काम कारवाही हेर्दा उनी माथि एक तानाशाह र एउटा तानाशाह उपर प्रयोग हुने प्राय: सबै शब्दाबलीहरू प्रयोग गरिएको पाईन्छ।यसो हुनु स्वभाविक पनि हो। किनभने उनी र उनको दल नेपाल कम्युनिष्ट पार्टी भित्र सुहाउने र उपयुक्त शब्द हो तानाशाह।
विश्वका कुन कम्युनिष्ट मुलुक उदार प्रजातन्त्र वा लोक तन्त्रबाट संचालित छन् र! यदि चलेको छ भने त्यो कम्युनिष्ट मुलुक नै हैन। नेपालका कम्युनिष्टहरू विश्व राजनीतिक बजारमा बिक्री हुन आफ्नो पार्टीलाई ट्रेड मार्कको रूपमा मात्र लिएको र चुनावमा मागिने भोटको निम्ति मात्र हामी यो शब्द प्रयोग गरेको पाईन्छ । यिनीहरू आफूलाई संसदीय ब्यबस्था, खुल्ला र उदार अर्थ नीति, प्रतिस्पर्धी बजारका पक्षपाती हौं भन्ने गर्छन् तर जब सत्तामा पुग्छन् त्यस पछि आफ्नो चेहरा देखाउन पछि पर्दैनन्। खास गरी गएको आम निर्वाचनमा एमाले र माओवादी मिलेर चुनाव लडे वमोजिम बहुमत प्राप्त गरेपछि मात्र यिनीहरूमा तानाशाह हुने भूत जाग्यो। यसरी भूत जगाउन केपी ओली सफल भए र उनी तानाशाह भै रहेका छन् तर उनको ठाउ प्रचण्ड वा माकुनेले लिएको भए पनि हुने त्यही हो।
किनभने यिनीहरूको शब्दकोष एउटै हो र एकै किसिमको पाठ्यक्रम यिनीहरूले अध्ययन गरेका हुन्।अहिले यी कम्युनिष्टहरू बर्तमान ब्यबस्थामा तानाशाहीपन ल्याउन प्रयासरत भएको पाईन्छ। ९० को दशक पछि कम्युनिष्टहरूले दुई जिब्रे भाषा बोल्नु परेको छ। किनभने बिश्व खुल्ला र प्रतिस्पर्धी बजारमा गएको र राज्य नियन्त्रित अर्थ ब्यबस्थाको पतन भै सकेको सन्दर्भमा यिनीहरूले मुखबाट मात्र भए पनि नागरिक शासनको पक्षमा मत राख्न बाध्य हुनु परेको छ ।बर्लिन पर्खाल ढले पछि यिनीहरूमा अस्तित्वको संकट हुदै आयो र अहिले मुस्किलले एउटा हातको औंलामा गन्न सकिने संख्यामा यिनीहरूको अस्तित्व छ।
तानाशाहका रूपमा रहेका राजा, सैनिक शासन संगै यिनीहरूको पनि पतन हुदैछ। जसरी पुरातनवादी सोचको अन्त्य हुदै छ, त्यसरी नै मानव मात्रको स्वतन्त्रतामा अंकुस लगाउने बिचार साम्यवादको पनि क्षयीकरण भै रहेको छ। तर यो कटु सत्य पचाउन नेपालका कम्युनिष्टहरूलाई गार्हो भएको छ। भारतको प. बंगालमा लामो समय सम्म जनताको आंखामा छारो हाल्न सफल ज्योति बशु मार्का कम्युनिष्ट जस्तै नेपालका कम्युनिष्टहरू पनि पतनोन्मुख भै रहेका छन्। यिनीहरू देश र जनताको भलाईको लागि हैन तानाशाह बन्ने होडमा लरभाती गरेको कुरा कसैबाट छिपेको छैन। संसदीय शासन ब्यबस्था र लोक तन्त्रको विरोधमा जंगल पसेको माओवादी र यिनीहरू संग तालमेल गर्ने एमालेको अभिप्राय र लक्ष्य कदापि संसदीय प्रजातन्त्र हैन र हुन पनि सक्दैन।
यिनीहरूको मुख हेरेर मात्र बस्ने हो भने यसको परिणाम देश र जनताले दु:ख पाउने बाहेक केही हुदैन।त्यसैले संसदीय खेमाका राजनीतिक दलहरू मिलेर यो सरकारको विकल्प दिन विलम्ब गर्नु हुदैन। सरकारको बिकल्प दिन संसदीय गणितले साथ नदिने अवस्थामा निर्वाचनमा जानुको विकल्प छैन र त्यही बिकल्प कामयाव बनाउने तर्फ प्रजातान्त्रिक दलहरू अग्रसर हुनु पर्छ। राजनीति कुनै पनि राज्यको मूल नीति हो। यसैको अवधारणा र गन्तब्यले मुलुकको गन्तब्य निर्धारण गर्छ। राजनीति मुलुकलाई गन्तब्यमा पुर्याउने साधन हो। जुन साधन जीर्ण र असामयीक हुन्छ र जस्का चालक खिया लागेका हुन्छन्, यस किसिमका साधनका माध्यमबाट यसका चालकले मुलुक र मुलुकवासीलाई पक्कै पनि गन्तब्यमा पुर्याउदैनन्।यस्तो साधन र चालकले देश र जनतालाई गन्तब्यमा नपुर्याउने मात्र हैन कि देश र देशवासीलाई नै दुर्घटनामा पारिदिन्छन्। यसैले हालको ब्यबस्था बमोजिमको राजनेताको खोजी गरेर मुलुकलाई जिम्मा लगाउनुको बिकल्प छैन।