संवेदनशील उमेर र भविष्य
मानव जीवनमा १८ वर्ष देखि २५ वर्षको उमेरलाई संवेदनशील अवस्था भन्न सकिन्छ। किनभने यही उमेरमा गरिने कृयाकलाप र ब्यबहारले ब्यक्तिको भावी जीवनको मार्ग बनाउछ। उक्त अबधिलाई गणितमा जस्तो तोकेर यत्ति नै भन्ने पनि हुदैन तर ७५ प्रतिशत ब्यक्तिहरूको जीवन मार्ग यही उमेर भित्र कोरिन्छ भन्न सकिन्छ। यो अवधिमा स्वयं व्यक्तिको भूमिका महत्वपूर्ण हुने गर्छ आफ्नो भविष्य बनाउन। उसको भावि जीवन के मा ब्यस्त पार्ने हो?
यसको लागि आवश्यक पर्ने साधन र श्रोतको चाॅंजो कसरी मिलाउने हो? कस्तो शिक्षा प्रणाली अपनाउने, आफ्नो दक्षता के मा देखाउने, आफ्नो बिबाह कस्तो योग्यता र क्षमता भएको संग गर्ने, सन्तान कहिले र कतिवटा जन्माउने, आफ्नो बृत्ति कुन क्षेत्रमा लगाउने, यसमा परिवार र समाजबाट के कस्तो भूमिकाको अपेक्षा गर्ने आदि प्रश्नहरूमा आधारित भएर आफ्नो भविष्यको बाटो कोर्नु पर्ने हुन्छ।यसैले मानव जीवनमा यो वर्गीकरणको उमेरलाई महत्वपूर्ण र स्वर्णिम उमेर भन्न सकिन्छ।
यो अबधिमा गरिएका योजनालाई सफल रूपमा कार्यान्वयन गर्न सकियो भने मानव जीवन सफल हुन्छ। पहिला पहिला जस्तो चिकित्सा र ईन्जिनीयरिंग क्षेत्रमा मात्र बृत्ति बिकासको अवसर पाईन्छ भन्ने सोच बर्तमानमा लिनु पर्ने अबस्था छैन। अहिले बृत्तिका क्षेत्रहरू अनगिन्ति छन् तर प्रतिस्पर्धा भने जरूर छ। अहिले रोजगारीका क्षेत्रहरूलाई भौगोलिक सीमाले नियन्त्रण गरेको पाईदैन। विज्ञान प्रविधिले संसारलाई हत्केला र औंलामा ल्याई दिएको छ, खाॅंचो छ केवल परिश्रमको।
त्यसैले मेहनती र परिश्रमी ब्यक्तिलाई बृत्ति बिकासका अवसरहरूले पछ्याई रहेको पाईन्छ तर छनौट गर्न सक्षम हुनु पर्छ। यसो भन्दैमा सबैको दैनिकी र नियति यस्तै हुन्छ भन्ने छैन। मानव जीवनमा अशर पार्ने विभिन्न तत्वहरू हुन्छन्। यी तत्वको अशरले मानव जीवनको मार्गलाई प्रभाव पार्छ र जीवन नै फरक किसिमले चल्न पुग्छ। यसरी चल्ने जीवनहरू कम मात्रामा सफल हुन्छन्। जसरी जीवन सफल बनाउन ब्यक्ति स्वयंको सोच र शैलीले अशर पार्छ त्यसरी नै जीवनलाई अप्ठ्यारो पनि त्यसैले पार्छ। यो उमेर समूह जोशमा होस पुर्याउनु पर्ने समूह पनि हो।
नेपालमा एउटा लोकगीत छ- जवानीमा तानेको गाॅंजा, अहिले मलाई लाग्दैछ नमजा भन्ने, हो जवानीमा होस पुर्याउन सकिएन भने जीवन भर रोएर बस्नु पर्ने अबस्था पनि आउन सक्छ। यस्तो अबस्था आउनुमा ब्यक्ति स्वयं त जिम्मेवार हुन्छ नै तर यसमा परिवार पनि यो जिम्मेवारीबाट उम्कन पाउदैन। उदाहरणका लागि आम्दानी अली बढी हुनेहरू आफ्ना सन्तानलाई बढी नै स्वतन्त्रता दिने नाममा बच्चालाई बढी फुर्मास गर्न दिने र तिनीहरूको अनुगमन पनि नगर्ने गर्नाले बच्चाहरू कूलतमा फसेका धेरै छन्।
त्यसरी खराब संगतले पनि बच्चाहरू बिग्रेको पाईन्छ। त्यसैले बच्चाहरूको जीवन सुधार्ने काममा परिवारको भूमिका पनि कम हुदैन। त्यसै गरी हाम्रो स्थानीय समाज तमासे र रमीते भयो भने पनि त्यस्तो समाजमा हुर्के बढेको बच्चाको जीवन सुखमय भएको पाईदैन।उदाहरणको लागि हाम्रो समाजमा कतिपय ठूलाबडाले आशिर्वाद दिदा धेरै ठूलो मान्छे हुनु, सम्पति कमाउनु, फलानाको छोराले त्यत्रो सम्पति कमाई सक्यो त यत्रो ठूलो पदमा भएर पनि शहर बजारमा एउटा घर सम्म छैन भनेर हेयको दृष्टिले हेर्छन्।
यदि यस्ता कुरा सुनेर मन बढाउन थालियो भने भ्रष्टाचारको कारवाहीमा परिन सक्छ। त्यसैले आफ्नो जीवन सुखमय बनाउन अकूत सम्पति हैन सन्तोष लिन सिक्नु पर्छ। त्यस्तै घर परिवारमा पति वा पत्नी बढी महत्वाकाॅंक्षी भएमा पनि जिन्दगी अन्धकार हुने सम्भावना रहन्छ। यसरी परिवार वा समाज बैकल्पिक समस्या भए पनि ब्यक्तिको भविष्य कति उज्जल वा कति अन्धकार हुन्छ भन्ने कुराको निर्धारण ब्यक्ति स्वयंले उक्त उमेर बीचमा गर्ने निर्णयले गर्दछ भन्न सकिन्छ। यसैले कुनै पनि ब्यक्तिले यो उमेरमा गर्ने कार्य र सोचाईमा अत्यन्त संवेदनशील भएर लाग्नु पर्छ।