वैकल्पिक शक्ति र नेता फकाउँदै रास्वपा

khabarwave
१४ मंसिर २०८२

काठमाडौं । गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह, वर्तमान ऊर्जामन्त्री कुलमान घिसिङ, धरान उपमहानगरपालिकाका मेयर हर्क सापाङ र धनगढीका मेयर गोपी हमालको राजनीतिक भविष्यलाई लिएर अनेक लख काटिँदैछ । कुलमानले उज्यालो नेपाल र हर्कले श्रम संस्कृति पार्टी दर्ता गरिसकेका छन् । गोपी राष्ट्रिय स्वतन्त्र पार्टीको सम्पर्कमा छन् । उनी कुलमानको उज्यालो नेपाल र रास्वपामध्ये एकमा जाने योजनामा छन् । तर बालेन्द्रको दोधार भने बुझिनसक्नु छ । तर यी सबैलाई समेट्न राष्ट्रिय स्वतन्त्र पार्टीले संवाद गरिरहेको छ । दर्ता भएको एक वर्षमै चौथो शक्ति भएर २०७९ सालमा संसद् यात्रा गरेको रास्वपा आगामी चुनावका लागि सबै वैकल्पिक शक्ति फकाउन लागेको हो । खासगरी सभापति रवि लामिछाने जेल गएपछि दबाब परेको रास्वपा आफ्नो शक्ति फर्काउने नयाँ नयाँ उपाय खोजिरहेको छ । बुधबार मात्रै स्वर्गीय उज्ज्वल थापाले खोलेको विवेकशील साझा पार्टी रास्वपामा मिसिएको छ । तर यहीबीचमा सुमना श्रेष्ठ र सन्तोष परियारसहितका नेताहरूले लर्को लागेर रास्वपा छाडेका छन् । जिल्लादेखि केन्द्रसम्मै पार्टी छाड्ने लहर चलेको छ । तर रास्वपा अहिले कांग्रेस र एमालेलाई टक्कर दिन नयाँ धारका व्यक्ति र समूहसँग संवादमा छ । रास्वपाबाट वार्ता समितिसंयोजक डा।स्वर्णिम वाग्ले र शिशिर खनाल वैकल्पिक शक्तिसँग निरन्तर वार्तामा छन् । कुलमानसँग डा। वाग्लेले कुरा गरिरहेका छन् । बालेनको समूहसँग शिशिर खनाल वार्तामा छन् । उनीसँग बालेननिकट सुनील लम्साल, सुदीप ढकाल, कुमार बेन र अस्मित पोखरेल लगायत सम्पर्कमा छन् । बालेनसँगै रास्वपा नेताहरूले भेटिसकेका छैनन् । कुलमानसँग भने डा।वाग्ले र खनाल दुवैले कुरा गरेका छन् । स्रोतका अनुसार रास्वपाप्रति बालेन नकारात्मक छैनन् । तर उनको समूहले अझै विचार नमिलिसकेको बताएको छ।
बालेनसँग अहिलेसम्म कुनै दल छैन । मिलेसम्म घण्टीबाट निर्वाचन लडाउने तयारी रास्वपाले गरेको छ । बालेनले तर उता कुलमानको उज्यालो नेपालमा नजाने निकटहरूलाई बताएका छन् । कुलमान कुनै पनि बेला भ्रष्टाचार मुद्दामा जोडिन सक्ने कुरा आइरहेकाले उनको टिमले नै एकता टारेको खुलेको छ ।
कुलमानसँग दुवै तर्फबाट कुरा भइरहेको नेताहरू बताउँछन् । कुलमान रास्वपामा मिसिने भन्दा मोर्चा बनाएर चुनावमा जाने योजनामा रहेको नेताहरू बताउँछन् । ‘एकै दलबाट चुनाव लड्ने या मोर्चा बनाएर जाने कुरा भइरहेको छ । अहिले रास्वपामा विघटित प्रतिनिधिसभामा २१ जना सदस्य छन् । २ लाखजति औपचारिक पार्टी सदस्य छन् । यस्तै ०७९ को निर्वाचनमा ११ लाख मत कटाउँदा देशको चौथो ठूलो दल छ । त्यहीकारण कुलमानका कुरा मान्न नसकिने नेताहरू बताउँछन् । रास्वपाको सङ्गठन ७७ जिल्लामा पुगेको छ ।
अहिले बालेन चुप बसेमा घाटा लाग्ने अवस्था छ । यदि बालेन र गोपी रास्वपाबा निर्वाचन लड्ने अवस्था आए त्यसले देशभर असर गर्न सक्छ । यसले रास्वपाको अहिलेको आकारलाई दोब्बर ठूलो बनाउन सक् छ । पहिलेकै अवस्थामा रास्वपा एक्लै निर्वाचनमा गए अहिलेकै हैसियत जोगाउन पनि संघर्ष गर्नुपर्ने हुन सक्छ । अहिलेकै दृश्य यथावत रहे आगामी संसद्मा पनि रास्वापले कांग्रेस र एमालेसँगै मिलेर सरकार बनाउनुपर्ने अवस्था हुन सक्छ
मधेशमा रास्वपा कमजोर छ । बालेन मधेशी समुदायका भएकाले त्यहाँ पनि उभार आउन सक्छ । मधेश प्रदेशमा पनि रास्वपा प्रतिस्पर्धी बन्न सक्छ । रास्वपामा बालेन भित्रिए प्रत्यक्ष र समानुपातिक दुवैमा धेरै सिट तलमाथि हुने सम्भावना बलियो छ । बालेनसँगै जेन–जी पंक्ति पनि जोडिँदा यसले निर्वाचन परिणाम ठूलो अन्तर ल्याउन सक्छ । ०७९ सालमा रास्वपाले उपत्यका र चितवनसहितमा उल्लेख्य मत ल्याउँदा मधेशका ८ जिल्लामा धेरै कमजोर देखियो । ०७९ मा ११ लाख मत कटाउँदा रास्वपाले मधेसबाट प्रत्यक्षतर्फ ३२ हजार मत पायो । समानुपातिक मत ७२ हजार कट्यो । यता सूदुरपश्च्मिमा गोपी हमालको पकड राम्रै छ । उनी रास्वपातिर लागेमा शक्ति बढ्न सक्छ । अहिले त्यहाँ एमाले कमजोर भएको छ । कांग्रेस पनि शेरबहादुर देउवा र शेखर कोइराला गुटको लडाइँले तनावमा छ । मधेशमा मात्रै होइन, रास्वपा पूर्वमा पनि कमजोर छ । इलाम २ मा गत वर्षको उपनिर्वाचन हुँदा मिलन लिम्बूले ५ हजार ५० मत ल्याए । यो मत रास्वपाका लागि सम्मानजनक होइन । ०७९ को निर्वाचन हेर्दा केशीमा रास्वपा २ लाख १४ हजार मतसहित तेस्रो दल बनेको थियो । समानुपातिकमा राम्रो मत ल्याए पनि उसले उपनिर्वाचन जित्न सकेन । लिम्बू पनि माओवादी छाडेका पूर्वपत्रकार हुन् । अर्कातिर रवि लामिछाने पनि वित्तीय अपराधमा मुछिएकाले इलाममा रास्वपालाई झट्का लाग्यो ।

Loading spinner