राजतन्त्रको अन्त्य भएको १४ वर्षपछि दिनहुँजसो राजसंस्था तथा हिन्दूराष्ट्रको पक्षमा प्रदर्शन, सरकार रमिते

khabarwave
२० मंसिर २०७७

काठमाडौँ । राजतन्त्रको अन्त्य भएको १४ वर्षपछि मुलुकका विभिन्न शहरमा दिनहुँजसो राजसंस्था तथा हिन्दूराष्ट्रको पक्षमा प्रदर्शन भइरहेका छन् । काठमाडौँ,बुटवल,पोखरा, नेपालगञ्ज,सुर्खेत,धनगढी, जनकपुर,विराटनगरलगायत स्थानमा भएका प्रदर्शनमा हजारौँ सर्वसाधारणले सहभागिता जनाइसकेका छन । राजतन्त्रवादी दलहरु र हिन्दू राष्ट्रको माग गरिरहेका विभिन्न संस्थाहरुले स्वतस्फूर्त रुपमा यसखाले प्रदर्शन गरिरहेका छन् । प्रदर्शनलाई लक्षित गर्दै गृह मन्त्रालयले देशैभरका जिल्ला प्रशासन कार्यालयमा पत्र पठाइसकेको छ ।

प्रदर्शनकारीहरुले भने शान्तिपूर्ण प्रदर्शनमा हस्तक्षेप स्वीकार्य नहुने चेतावनी दिँदै आएका छन् । हालसम्म भएका प्रदर्शनहरु स्वतन्त्र देशभक्त नागरिक,राष्ट्रवादी नागरिक समाजलगायत संघसंस्थाका व्यानरमा आयोजना गरियो । प्रदर्शनको अग्रपंक्तिमा राष्ट्रिय प्रजातन्त्र पार्टी, विश्व हिन्दू महासंघ,केशरबहादुर बिष्टको राष्ट्रिय शक्ति नेपाल, हरिबोल भट्टराईले नेतृत्व गरेको नेपाली कांग्रेस (बेपी), प्रकाश कोइरालाले नेतृत्व गरेको नेपाली कांग्रेस (राष्ट्रवादी) र शिवसेना नेपाल लगायत छन् ।

देशव्यापी आन्दोलनमा ऐक्यवद्धता जनाएको राष्ट्रिय प्रजातन्त्र पार्टीले झापामा भने आफैँ प्रदर्शन गरेकाे छ । राजसंस्था र हिन्दूराष्ट्रका पक्षमा जनदवाब सिर्जना गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी झापाले शनिबार विशाल मोटर तथा मोटरसाइकल र्‍यालीको आयोजना गरेकाे हाे ।
झापामा हुने प्रदर्शनको नेतृत्व संघीय सांसद् तथा राप्रपा नेता राजेन्द्र लिङ्देनले गरेका थिए ।

राजसंस्था र हिन्दूराष्ट्रको पुनःस्थापना,संघीयताको खारेजी, भ्रष्टाचार नियन्त्रण,कोरोना व्यवस्थापनमा सरकारको असक्षमता, रासायनिक मलको अभावलगायत जनजीविकासँग सम्बन्धित विषयमा जनदवाब सिर्जना गर्न ¥याली आयोजना गरिएकाे  लिङ्देनले बताए ।

 

 

Loading spinner