युवाहरूको पलायन र यसको अशर
नेपालको श्रम बजारमा वर्षेनी थपिने युवाहरू मध्ये करीव ८०% युवाहरू रोजगारीका लागि विदेशिने गर्छन्। नेपाली श्रम बजारमा रोजगारी नपाईने वा रोजगारी पाए पनि ज्याला कम भएका कारण जीविकोपार्जन हुन नसकेकाले रोजगारीका लागि युवाहरू विदेशिन वाध्य हुनु पर्ने अवस्था देखिएको छ। हामी संग विद्यमान रोजगारीका साधन सीमित छन्। थप रोजगारी सृजना गर्न आवश्यक पर्ने पूजी, बजार, प्रविधि र दक्ष जनशक्तिको अभाव छ। त्यसमाथी हामी संग प्रतिस्पर्धा गर्ने भारतीय बजार नजिकै छ जो संग पर्याप्त अवसर र पूर्वाधारहरू छन्।त्यसैले हामीले हाम्रो परम्परागत ब्यबसायलाई नै रोजगारीको माध्यमको रूपमा अपनाउन बाध्य छौ तर यो ब्यबसाय श्रम बजारमा आउने युवाहरूको रूची भित्र पर्दैन।
रूची नै रहे पनि यो ब्यबसायले श्रमिकका रूपमा आउने युवाहरूलाई खपत गर्न सक्दैन। तसर्थ नेपाली श्रमबजारमा खपत हुन नसक्नाले यी युवाहरू वैदेशिक रोजगारीमा जान वाध्य हुन्छन्। यसरी विदेशमा जाने युवाहरूको कामको सुरक्षा र कामको ग्यारेण्टी गर्ने निकाय नेपालमा भरपर्दो छैन। यिनीहरू राहदानी लिएर म्यान पावरका कार्यालयमा धाउछन् र यी म्यान पावरका भरमा विदेशिन वाध्य हुन्छन्। यस्ता गैर जिम्मेवार म्यान पावरले मगाएको भीषा नै भरपर्दो नहुने, भीषा पाए पनि काम गर्ने किसिमको नहुने, भीषामा भनिए जस्तो काम र तलव नपाईने, पाईएको काम गर्ने सीप र दक्षता नहुने जस्ता समस्याहरू देखिने गरेबाट वैदेशिक रोजगारी पनि त्यति सहज र भरपर्दो भएको पाईदैन। नेपालमा उत्पादन हुने शैक्षिक जनशक्ति नेपाल भित्र खपत हुने स्थिति छैन।
यहाको शैक्षिक उत्पादनको सानो अंश मात्र नेपाल भित्र खपत हुन्छ। यहा खपत हुन नसकेको शैक्षिक जनशक्ति अध्ययनका नाममा समुन्द्रपारका मुलुकमा जानु पर्ने अवस्था छ। शैक्षिक वेरोजगार सवै युवाहरूले वैदेशिक अध्ययनको अवसर पनि पाउदैनन्। केही मेधावी विद्यार्थीहरूले मात्र यो मौका पाउछन् र यिनीहरू अध्ययनका लागि विदेशिएर अध्ययन सकेर नेपाल फर्कने आट गर्दैनन्। किन कि नेपालमा भएको बेरोजगारीको कहाली लाग्दो तस्वीरबाट ती युवाहरू अपरिचित हुदैनन्। यस प्रकार शारीरिक र मानसिक क्षमता भएका युवाहरू नेपाल भित्र रहने बस्ने अनुकूलता नभए पछि नेपालमा बाकी रहेका युवा र पाकाहरूले देशको जिम्मेवारी वहन गर्नु पर्छ। देशको राजनीति पाका नागरिकहरूको कब्जामा छ। उनीहरूले आफूलाई राजनीतिमा ब्यस्त गराएका छन् र यो ब्यस्तता आजीवन रहोस् भन्ने चाहन्छन्। पाका नागरिकहरू स्वभावैले शारीरिक एवं मानसिक तवरबाट कमजोर हुन्छन् तैपनि त्यो कमजोरी स्वीकार गर्न सक्दैनन्।
न त यिनीहरूमा भिजन हुन्छ न कुनै मिशन तर कुर्सी मोहले गर्दा युवाहरूलाई मौका दिन रूची राख्दैनन्। युवाहरूमा पनि आफ्नै समस्या छ।यिनीहरूले अग्रज संग तर्क गर्न सक्दैनन्। उनीहरू संग पनि मुलुकलाई अगाडि बढाउने किसिमको परिपक्व सोच नभएको हो कि उनीहरूले देखाउन नसकेको हो अलमलको अवस्था छ।केही ब्यबसाय गरौ सीप छैन, सीप हुन सक्छ पूजीको समस्या छ, पूजी भयो भने जनशक्ति र बजारको समस्या छ। यसैले यी युवहरूले पनि राजनीतिलाई नै पेशा बनाएर अगाडि बढ्न खोज्छन् जसमा कुनै जिम्मेवारी र खतरा मोल्नु पर्दैन। एउटा राजनीतिक दलमा लाग्यो, नेताको झोला बोक्यो, ठेक्का पट्टामा च्यांखे थाप्यो अनि बिहान बेलुकाको गर्जो टार्यो बस् युवाको दैनिकी। यस्तो अबस्थामा देशले कसको मद्दत पाएर अगाडि बढ्ने हो? उराठ लाग्दो तस्वीर देखा पर्छ।
यस्तो अवस्थामा समेत राजनीति गर्नेले कुनै चासो र चिन्ता लिएको देखिएन। यिनीहरू सबै देश र जनताको नाममा स्वयंलाई केन्द्रित गरेर राजनीति गरीरहेको अनुभूति गरिदैछ।यसरी देश प्रगति तिर जादै छैन भन्ने स्पष्ट भएको छ। तसर्थ हामीले अहिले सम्म लिएका नीति तथा कार्यक्रममा सोच्नु पर्ने स्थिति देखिन्छ। देशको विकासको लागि पहिचान भएका हाम्रा श्रोतहरू जलश्रोत र पर्यटनलाई अगाडि बढाउन ढिला गर्नु हुदैन र यसै गरी हाम्रो परम्परागत कृषि प्रणालीलाई अन्न खेतीको सट्टा अन्य नगदेबाली तर्फ परिणत गर्दै आधुनिक तौर तरीका अपनाएर उत्पादन बढाउन सक्नु पर्छ। यी तीनवटा साधनहरूलाई उपयोग गर्न सकेमा नेपालको विकास अगाडि बढ्छ। यसको लागि चाहिने बजार अन्तर्राष्ट्रिय रूपमा प्राप्त गर्न सकिने र आबश्यक पर्ने पूजीको लगानीका निम्ति विदेशिएका नेपाली युवाहरू नै पर्याप्त हुन्छन्। लगानीको वातावरण उदार र सहज तुल्याउन सके पूजीको समस्या पर्दैन।तर यसको लागि नेपालका राजनेता सकारात्मक भने हुनु पर्छ। यदि यसो गरिएन भने हाम्रो देश अगाडि बढ्न सक्दैन।