मेरो आधीखोला*

khabarwave
१४ कार्तिक २०७७

  • प्रेमनारायण शर्मा

म तिमीलाई सम्झी रहन्छु
किन कि मेरो जीउ र कपडाको सफाई
तिमी नै गरिदिन्थ्यौ,
तिमीले नै मेरो तिर्खा मेटि दिन्थ्यौ
मेरो आधीखोला।
तिमीले सिंचित गरेका
अन्न बालीले हुर्किएको म
तिम्रो काखमा हुर्की बढेका
माछाहरूले पन्पिएको म
मेरो आधीखोला।
तिमीमा लुकेको शक्तिले
झिलीमिली प्रकाश पाएको म
तिमिले बोकेका शीलाले
घरका भित्ता ठड्याएको म
मेरो आधीखोला।
तिमीले ओसारेको बालुवाले
सिमेंट लगाएको म
तिमीले ल्याएको पॉंगोले
खेतको उब्जा बढाएको म
मेरो आधीखोला।
तर म तिमी संग रिसाएको पनि छु
किन कि तिमीले गर्दा
मेरा कति क्लासहरू छुटेका छन्
किन कि म र मेरो स्कूल बीच थियौ तिमी
मेरो स्कुल र म बीच तिमी तेर्सिएका कारणले
मलाई पुलको मुखमा पुग्नु पर्दा
एक घण्टा हिड्नु पर्थ्यो
मेरो आधीखोला।
म र स्कुल बीचको सीमना भएर बहेकी
तिमीलाई पार गर्न म संग कुनै साधन थिएन
किन कि पुलबनाउन नेता पनि भएनन्
त्यसैले तिम्रै कारण मेरो स्कुल
दुर्गम बन्यो मेरो लागि
मेरो आधीखोला।
तिमी रिसाउदा
मेरा खेतहरू बगर पनि भएका छन्
कतिका घर उजाड भएका छन्
कति मानवीय क्षति भएको छ
मेरो आधी खोला।
तर मलाई उदेक लाग्दै गएको छ
किन कि आजभोली तिम्रो बल
र तिम्रो क्षमता हराएको छ
किन कि तिम्रा मुहान सुके
मानवीय प्रदूषणले तिमी संग हुने
जलचरहरू हराए
मेरो आधीखोला।
तिम्रो क्षेत्र र सीमा
मानवीय गतिविधीले घट्दै गएको छ
अब त तिमीले ढुंगा बोक्न पनि नसक्ने भयौ
अब तिम्रो तिरमा बालुवा भेटिन पनि छाड्यो
अव त लाग्छ
मैले भोगेको बेहोरेको आधीखोला
अब ईतिहास बन्दै छ
किन कि
भावी पुस्तालाई मैले बुझाउन पाउने छैन
बिचरा मेरो आधीखोला।

* स्यॉंगजा जिल्लाको बीचमा बहने आधीखोला

Loading spinner