मृत भेटिएका असईको धारिलो हतियार प्रहार, शंकास्पद ११ जना समातिए

khabarwave
२ कार्तिक २०७७

कैलाली । ड्युटीमै रहेका बेला बेपत्ता भएका कैलालीको धनगढीबाट बेपत्ता भएका प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विकको धारिलो हतियार प्रहार गरी हत्या गरेको खुलेको छ। शनिवार रातिदेखि बेपत्ता भएका धनगढी उप–महानगरपालिका वडा नम्बर १२ को अस्थायी प्रहरी विट जुगेडामा कार्यरत असई विकको आइतबार बिहान नेपाल भरत सीमास्थित मोहना नदीमा शव फेला परेको थियो ।

घटनास्थलमा पुगेको सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायव महानिरीक्षक उत्तम सुवेदीसहितको टोलीले मृतक विकको शव खोलाबाट निकालेको छ। उनको घाँटीमा धारिलो हतियार प्रहार गरेको चोट देखिएको छ, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले भने, उनलाई हत्या गरेर त्यहाँ फ्याँकिएको हुन सक्ने प्रारम्भीक अनुसन्धानले देखाउँछ। उनीसँगै गस्तीमा गएका प्रहरी जवान रामबहादुर साउदको अवस्था भने अझै अज्ञात रहेको सिंहले जानकारी दिए।

अस्थायी प्रहरी विट जुगेडाका इन्चार्ज समेत रहेका प्रहरी सहायक निरीक्षक (असई) बिक र प्रहरी जवान साउद नियमित गस्तीमा गएका बेला शनिवार रातिदेखि बेपत्ता भएका थिए। राति करिब ८ बजेतिर नियमित गस्तीमा गएका उनीहरू १२ बजेतिर फर्किनुपर्नेमा नफर्किएपछि प्रहरीले खोजी सुरु गरेको थियो।

विकले चढ्ने बा ५८ प ५२८४ नम्बरको मोटरसाइकल समेत प्रहरीले फेला पारको छ। शव भेटिएको स्थानदेखि साढे २ किलोमिटर पश्चिमतर्फ उनको मोटरसाइकल फेला परेको प्रहरीले जनाएको छ। विकसँग रहेको हतियार भने फेला नपरेको प्रहरीले जनाएको छ। अहिले घटनास्थलमा बेपत्ता रहेका जवान साउदको खोजीका लागि सशस्त्र प्रहरीको अत्तरियास्थित ७ नम्बर बाहिनीको गोताखोर टोली घटनास्थलमा पुगेको छ। घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

शंकास्पद ११ जना पक्राउ
असई गोविन्द विकको हत्या प्रकरणमा प्रहरीले ११ जना शंकास्पद व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्यस क्षेत्रबाट सामान तस्करीमा संलग्न रहने गरेका व्यक्ति र विकसँग असन्तुष्ट समूहका सदस्यहरु छन् । अनुसन्धान प्रारम्भिक चरणमा रहेकाले पक्राउ पर्नेको नाम खुलाइएको छैन ।

Loading spinner