महाधिवेशनको तयारीमा जुट्यो एमाले, प्रतिनिधि घटाउने तयारी

khabarwave
१२ कार्तिक २०८२

काठमाडौं । नेकपा एमालेले कात्तिक १५ गते सचिवालय बैठक बोलाएको छ । बैठकस्थल भने तय भएको छैन । केन्द्रीय कार्यालयस्रोतका अनुसार पोखरामा मङ्सिर २७(२९ गते आयोजना हुने ११ औँ महाधिवेशनको तयारीमा बैठक केन्द्रित हुनेछ । महाधिवेशन प्रतिनिधि चयनको मोडालिटीसहित व्यवस्थापन र निर्वाचन तालिका बैठकको एजेन्डा रहेको स्रोतले जनायो । यसपटक महाधिवेशन प्रतिनिधि घटाइने भएको छ । चितवनको सौराहामा सम्पन्न १० औँ महाधिवेशनमा १८ सय प्रतिनिधि थिए । आयोजक सहित २१ सयको सहभागिता थियो । यसपटक १२ सय हाराहारीमा आयोजकसहित प्रतिनिधि चयनको विधि सचिवालय बैठकले तय गर्ने पार्टी केन्द्रीय कार्यालयस्रोतले बताएको छ । त्यसका निम्ति महासचिव शङ्कर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, विष्णु रिमाल, सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारी, केन्द्रीय कार्यालय सचिव डा।भीष्म अधिकारीसहितका नेताले गृहकार्य गरिरहेका छन् । एमालेले महाधिवेशन प्रतिनिधि चयनका लागि सङ्घीय निर्वाचन क्षेत्रस्तरमा आन्तरिक निर्वाचन गराउने गरेको छ । अहिले मुलुक विषम परिस्थितिमा रहेको र पार्टी एकतालाई अझ मजबुत बनाउनुपर्ने कारण प्रतिनिधि चयनमा निर्वाचनको विधि अपनाउने कि नअपनाउने भन्नेबारे बैठकमा छलफल हुने उक्त स्रोतले जनायो ।

Loading spinner