भोजपुरको बिकास र समृद्धिको उपायहरु

khabarwave
८ आश्विन २०७७

राई, ब्रम्हाण, क्षेत्री, नेवार, तामाङ, शेर्पा, भुजेल, दमाई, कामी, सार्की आदि जात/ जनजातीहरुको बसोबास भएको यस जिल्लामा ट्याम्के, सेल्मे, मैयुङ, सिलिचुङ, साल्पापोखरी, दिङ्ला, सिद्धकाली, कालपोखरी, हतुवागढी, सुन्तले आदि प्रसिद्ध धार्मिक तथा साँस्कृतिक महत्वका धरोहरहरु रहेका छन् । जिल्लाको वीचबाट मध्य पहाडी लोकमार्ग निर्माण भईरहेकोले समग्र जिल्ला बिकासको संभावना बढी रहे तापनि विभिन्न आन्तरिक तथा बाह्य समस्याहरुबाट ग्रसित छ सिंगो जिल्ला ।  पूर्वी नेपालको अति बिकट, अविकसित र दुर्गम,  भौगोलिक,आर्थिक, सामाजिक, राजनीतिक, र साँस्कृतिक हिसाबले समेत पछाडि पारिएको र परेको, सिंहदरवारले कहिल्यै नदेखेको,अपहेलना गरेको र उपेक्षित,सडक पहुँचबाट बर्षौंसम्म पछाडि परेको, शिक्षा, स्वास्थ्य, मानबाधिकार, स्वतन्त्रता र संभावनाले महत्व नपाईरहेको, त्याग, समर्पणता निश्वार्थ सेवा, निष्ठा र आश्थामा बिस्तारै बिचलित हुँदै गईरहेको, बसाईसराई र बैदेशिक रोजगारीले सिंगो जिल्ला उजाड, मानबबस्ती बिहिन हुँदै गईरहेको , प्रतिभा पलायनले जिल्लामा शिक्षाको गुणस्तर दिनदिनै खस्कदै गईरहेको, जराधारदेखि होइन नेताको वरिपरी राजनीति घुमिरहेको , आत्मनिर्भरबाट  परनिर्भरतातर्फ उन्मुख भईरहेको, निरपेक्ष गरिबी, जलबायू परिवर्तनको प्रभाव र त्यसले ल्याउने गरेका नकरात्मक असर ,नयाँ संक्रामक रोग र महामारी, सामाजिक तथा लैङिगक बिभेद र आर्थिक बिषमता जस्ता मूख्य समस्याहरुसँग जुध्दै बिकासको पथमा  लम्किरहेको छ । तर समस्याहरु मात्र होइन सम्भावना पनि उतिकै छन् जिल्लामा ।

नेपालको सुदुर पूर्बमा अबस्थित, प्राकृतिक छटाहरुले भरिएको, प्राकृतिक सौन्दर्यतायुक्त यो जिल्ला  भौगोलिक बिबिधतायुक्त, बिबिध जातजाती, धर्म, भाषा, बर्ण ,समुदाय, संस्कृति र ,भेषभुषा भएको माझकिराँतले परिचित आर्य र मंगोलको साझा भूमि, बहुल समाजयुक्त बिशेषता ट्याम्के, सेल्मे, सिलिचुङ, मैयुम, सिलिचो जस्ता उच्च टाकुरा साल्पापोखरी, कालपोखरी, घोडेटार, पाँचधारे, दिङ्ला, प्याउली, सुन्तले, दिल्पा, च्याङ्ग्रे, बैकुण्ठे, साल्पा, टक्सार, दाँवा, पोखरे दिङ्ला जस्ता धार्मिक ऐतिहासिक तथा सामरिक महत्व राख्ने पबित्र भूमि भएको अरुण, दुधकोशी  जस्ता ठूला नदीहरुको अत्यन्तै नजिक रहेको भूभि, बालागुरु षडानन्द, क्रान्ति योद्धा रामप्रसाद राई, योगमाया, नारदमुनी थुलुङ,  साहित्यकार दैबज्ञराज न्यौपाने, परशु प्रधान, हिरण्य भोजपुरे, गणेश रसिक,  गायक शम्भु राई जस्ता अनगिन्ति योद्धा,प्रतिभा एवं श्रष्टाहरु जन्माउने उर्वर भूमि, संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका महामहिम राष्ट्रपति बिद्धादेवी भण्डारी, १ नं प्रदेशका मूख्यमन्त्री शेरधन राई, पूर्व मूख्य सचिव डा. विमल कोइराला, पूर्व अर्थमन्त्री शंकर कोईराला/ ज्ञानेन्द्र बहादुर कार्की, पूर्व उद्योगमन्त्री हेमराज राई  जस्ता कयौं राजनीतिज्ञ तथा प्रशासकहरुको जन्म तथा कर्म भूमि पनि हो भोजपुर  । 

यी र यस्तै संभावनालाई आत्मासाथ गरि बिस्तारै बिकास प्रयासमा बामे सर्दै आफ्नो उज्जवल भविश्यको लागि धिमा गतिमा भएपनि परिवर्तन र रुपान्तरणको यात्रामा आफ्ना पाईला अगाडि बढाईरहेको छ भोजपुर जिल्लाले अहिले । 

आज भोजपुरमा प्रयासः सवै  गाँउ गाँउमा हिंउद महिनामा भएपनि यातायातका साधनहरु पुग्दछन् । जनताको चेतनास्तरमा बिस्तारै बढोतरी भईरहेको छ । प्रत्येक वडामा  कम्तिमा माध्यमिक बिद्यालय/ उच्च माध्यमिक विध्यालयहरु स्थापित छन् भने प्रत्येक पालिकामा कम्तिमा स्वास्थ्य चौकीहरु / प्रहरी चौकीहरु भोजपुरे जनताको सेवामा अहोरात्र खटिरहेका छन् । परम्परागतरुपमा सिंहदरवारले प्रदान गर्दे आएको सेवा आज स्थानीय तहका प्रत्येक पालिकाले प्रदान गर्दै आएका छन् । अन्य जिल्लामा जस्तै भोजपुरमा पनि स्थानीयस्तर देखि नै नेतृत्व बिकास हुदै आएको छ । जराधारदेखि बिकासको अवधारणा अनुसार बिकास गतिबिधीहरु संचालित छन् ।  संघीयताको अभ्यास गरिरहेको छ भोजपुरले ।  नेपालको संविधानप्रति भोजपुरे जनताको अपनत्व बढिरहेक छ । सबै राजनैतीक दल, धर्म, सम्प्रदाय र आश्था/ बिचार बीच अभुतपूर्व एकता, सहमति र सहकार्यको साथ भोजपुरको बिकासमा साझा अबधारणा स्थापित भएको छ 

 आज सिंगो देश समृद्धि नेपाल सुखि नेपाली भन्ने मूल नाराको साथ आफ्ना योजना तथा रणनीतिहरु कार्यान्वयन गरिरहेको छ भने भोजपुरले पनि समृद्ध भोजपुर सुखि भोजपुरे भन्ने मूल मन्त्रको साथ आफ्ना प्रयासहरु अगाडि बढाउनु पर्दछ ।  हामीले चाहेको बिकासमा  सबै  भोजपुरे जनता सुखि त हौउन सँगसगै खुसी पनि हुन् । बिकासमा मानबीय स्वर प्रतिबिम्बित होस । बिकासमा जनताको अपनत्व पनि होस ।

स्थानीय सीप, कौशल, स्रोत साधन र प्रविधिको  अत्युतम प्रयोग गर्दै स्थानीय जनताको बिकासमा ब्यापक सहभागितामा जनअपेक्षित लक्ष्य प्राप्त गर्न सक्नुपर्दछ ।  सिमित स्रोत र साधनको मितव्ययी ढंगले खर्च गर्ने र सोको पारदर्शीता र उतरदायित्व बहन गर्दै गुणस्तरीय बस्तु र सेवाको उत्पादन र आपूर्तिको सुनिश्चितताको साथ सुशासन कायम गर्न सक्नुपर्दछ । 

 भोजपुर जिल्लामा देहाय बमोजिम हुनुपर्दछ  भन्ने मेरो मान्यता छ :-

  • बिकास र समृद्धिमा सवै राजनैतिक दलहरु वीच ब्यापक सहमति, एकता र सहकार्य
  •  जनतामा ब्यापक उत्साह, उच्च मनोवल, त्याग र समपर्णता
  • जनता जनता वीच माया, सद्भाव, स्नेह र सहयोग आदान प्रदान
  •   लोभ, पाप, स्वार्थ र अपराध बिहिन समुदाय
  •  साझा हितको लागि सम्वन्धित सवै सरोकारवालाहरु वीच एकाकर सम्बन्ध 
  •  आफ्नो परिवार, समुदाय र देशको माया गर्न र सम्मान/ आदर गर्न सक्ने जनसमुदाय
  •  सर्बसाधरणको राज्यप्रति  दायित्व बहन गर्दै  कानूनले गर्न हुन्न भनेको कुरा नगर्ने अनि राज्यप्रणाली, राजनेता र राजनैतिक दलहरूलाई दोष नलगाई   कम्तिमा आफ्नो,  आफ्नो परिवार र आँफू जन्मेको पबित्र भूभिको सुरक्षा र संरक्षण गर्ने सोच र चिन्तन 

 

आज भोजपुरले मागेको छ ;

  • बालबालिकालाई सत्य र निष्ठापूर्वक इमान जमान सहित  अध्यापन गराउने  शिक्षकहरु
  •  बिल बिजक सहित शुद्ध, सफा र गुणस्तरीय बस्तु र सेवा विक्रि बितरण गर्ने ब्यपारीहरु 
  • आफ्नो काम, कर्तव्य र दायित्व प्रति समर्पित कर्मचारीतन्त्र 
  • ब्यक्तिगत र दलगत स्वार्थरहित राजनैतिक दलहरु 
  • ब्यवसायिक चिकित्सक 
  • पेशागत धर्म पालन गर्ने निर्माण व्यवसायीहरु
  • गुरुभक्त विद्यार्थीहरु 
  • आमा, बुबा, गुरु , पाहुना र मातृभूमिको अगाध स्नेही जनताहरु । 

 

 अव भोजपुरमा ;

  • हरेक नागरिक कसैले पनि जथाभावी फोहोर नफालुन्
  • हरेक नागरिकले सडक गल्लीमा भएको प्लाष्टिक, मास्क जस्ता फोहोर जस्ले देखेपनि टिपेर डष्टविनमा हालुन् ।
  • हरेक नागरिकले आफ्नो घर, आँगन, पेटी, सौचालय, भान्षा र ब्यक्तिगत सरसफाईमा प्रयाप्त ध्यान  दिउन् ।
  • हरेक नागरिकले सरकारको मुख नताकी आफ्नो घर अगाडिको सडक, बाटो र पेटी आँफैले मर्मत गरुन् बनाउन् र हिलो पुरुन् ।
  • हरेक नागरिकले ब्यक्तिगत सरसफाई र स्वास्थ्यमा सजग / सचेत बनुन्
  • हरेक नागरिकले इमानको कमाईलाई मात्र सम्पति ठानुन् ।
  • हरेक नागरिकले पुस्तौनी सम्पति संकलन गर्ने होड छोडुन् ।
  • हरेक नागरिकले प्रयास / मेहनत गर्दा सधै बाँच्छु भनेर र स्वार्थ लोभ र पापको कुरा आँउदा कति बाँचिएला र भन्ने सोचेर ब्यबहार गरुन् । 
  • हरेक नागरिकले जाँडरक्सी र सूर्तिबिडी जथाभावी  जुनसुकै समयमा नखाउन ,कुलतमा नलागुन् ।
  •  हरेक नागरिकले बिहानदेखि बेलुकासम्म के काम गर्ने तालिका बनाएर गरुन ।
  • हरेक नागरिकले सरकारी नीति, नियम, कानून, प्रक्रिया र पद्धतिको अनुसरण गरुन्
  • हरेक नागरिकले रुढिबादी, कुसंस्कार अन्धबिश्वासप्रति सजग र सचेत रहँदै सनातन धर्म, संस्कृति, जात्रा, पर्व,  रहनसहन,  प्रथा, परम्परा र प्रचलनलाई अनुसरण गरुन् ।
  • उद्योगी/ ब्यापारीहरुले शुद्ध, सफा र स्वस्थ खाद्यपदार्थ मात्र बेचोस, सडेगलेका,कुहिएका, म्याद गुज्रेका, बस्तु बिक्रि बितरण  नगरुन् । कृतिम अभाब खडा नगरी  बजारलाई पारदर्शी बनाउन् । उपभोक्तालाई बिक्रि गरेको सामानको बिलबिजक दिउन् ।
  •  होटल संचालकले शुद्ध, सफा र गुणस्तरीय खाना, नास्ता र चिया बेचुन् । होटलमा धुमपान कक्ष छुट्टै होस । 
  • बस्तु र सेवा प्रवाह गर्ने प्रत्येक सेवाप्रदायकले सेवाग्राहीप्रति सालिन र मुस्कान सहितको ब्यबहार गरुन् ।
  • प्रत्येक कर्मचारीले आफ्नो कर्तब्यप्रति सजग र सचेत रहदै समय पालना, मुस्कान सहितको गुणस्तरीय सेवा प्रवाह, आफूले गरेका काम कर्तव्य प्रति जवाफदेहिता, मितव्यीता,  नियमितता र कार्यकुशलता प्रर्दशन गरुन् । जिम्मेवारिमा अग्रसर भई जनताको हितैषी बनुन । बिधिको शासन, पक्षपातरहित सेवा प्रवाह र आफ्नो काम प्रति आत्मसंतुष्टी प्राप्त गर्न सकुन् र जनतालाई चोट लाग्दा कर्मचारीलाई दुखोस ।

आफ्नो अधिकांस समय पव्जी, फ्रिफायर जस्ता भर्चुयल गेममा रमाउने आजका बालबच्चा/ बिद्यार्थीलाई  प्रत्येक अभिभाबकले मोबाईलको कुलत छोडाउन सक्नुपर्दछ । प्रहरी प्रशासन देख्दा मात्र कानून र अनुशासन मानेजस्तो गर्ने प्रत्येक नागरीक आत्मअनुशासन बन्न सक्नुपर्दछ । प्रत्येक नागरीक बिना बर्दीका प्रहरी बने मात्र समाज शान्त, समृद्ध र सुसंस्कृत बन्दछ । 

तास, लुडो, जुवा जस्ता समय, मति र सम्पति नष्ट गर्ने प्रकृतिका खेलहरु चोकचोकमा खेल्दै राजनेता/ राजनैतिक दलहरुको समर्थन र बिरोध गर्ने बानी बेहोरा छोडेर आफ्ना बाबुआमा ,श्रीमति/ श्रीमान र छोराछोरीलाई एकअर्कालाई माया, प्रेम, सद्भाव र सहयोग गर्ने बानी बसाले आफ्नो उन्नति टाढा छैन भन्ने जान्नुपर्दछ प्रत्येक नागरीकले । अर्ति र औषधि तितो हुन्छ भन्ने स्वीकारेर आजैदेखि आफूलाई परिवर्तन गर्न सक्नुपर्दछ । आज हाम्रो समाजमा रहेका कयौं समस्याहरु बिकृतिहरुको अन्त्य गर्दै सभ्य सुसंस्कृत र आधुनिक समाजको स्थापना र बिकास गर्ने दायित्व हामी नागरीकहरुको हो भन्ने कुरा भोजपुरे जनताले बुझ्नु पर्दछ ।  

  • भोजपुरका हामी प्रत्येक उद्योगी/ ब्यापारी उत्पादक वा ब्यापारी मात्र होईनौं, हामीहरू ग्राहक पनि हौं ।
  • भोजपुरका हामी प्रत्येक  कर्मचारी प्रशासक मात्र होईनौं, सेवाग्राही पनि हौं ।
  • भोजपुरका हामी प्रत्येक नेता नेता मात्र होईनौं, प्रत्येक कार्यकर्ता/ मतदाता पनि हौं ।
  • भोजपुरका प्रत्येक निर्माण ब्यबसायी निर्माण ब्यबसायी  मात्र हौईनौं, उपभोक्ता पनि हौं ।
  • भोजपुरका हामी प्रत्येक शिक्षक शिक्षक मात्र होईनौं, अभिभाबक पनि हौं ।
  • भोजपुरका आम नागरीक ब्यापारी, शिक्षक, कर्मचारी, राजनेता, मतदाता, उद्योगी, सेवाग्राही,  निर्माण ब्यबसायी र उपभोक्ता सबै हौं ।
  • भोजपुरका प्रत्येक बालबच्चा भबिश्यका कर्णधार हुन् ।

तसर्थ यो र यस्ता विषयहरुलाई मनन गरी अगाडि बढन सके भोजपुरको बिकास र भोजपुरको समृद्धि टाढा छैन । भोजपुरे जनताको सन्तुष्टी, खुशी र सुख टाढा छैन । माथि उल्लेखित बिषयबस्तुमा ध्यान दिन सके भोजपुर बन्छ ;

  • प्रत्येक पालिका र प्रत्येक पालिकाका प्रत्येक वडा पक्की सडक संजालले जोडिन्छ अनि भोजपुरको समृद्धिको यात्रा तय हुन्छ ।
  • प्रत्येक पालिका र प्रत्येक पालिकाका प्रत्येक वडामा गुणस्तरीय शिक्षा, स्वास्थ्य र खेलकुदका आधुनिक सेवा र सुविधा पुग्दछन् ।
  • प्रत्येक पालिका र प्रत्येक पालिकाका प्रत्येक वडाका प्रत्येक नागरीक उद्धमी बन्ने छन् । प्रत्येक नागरीक रोजगार बन्ने छन् । खर्च धान्न मात्र अरबको ५० डिग्रीको तापक्रममा काम गर्न जानुपर्ने बाध्यता सधैंको लागि हट्नेछ ।
  • भोजपुरका प्रत्येक गाँउगाँउबाट शिक्षा, स्वास्थ्य, सुरक्षा र रोजगारीको लागि बसाईंसराई गएका नागरीक आफ्नो प्राणभन्दा प्यारो मातृभूमिको अगाध स्नेह सम्झेर आफ्नो गाँउघर फर्कने छन् र गाँउ  घना बन्ने छ ।  हाल उजाड बनेका ऐतिहासिक महत्व बोकेका टक्सार, दाँवा, घोडेटार, दिंला, दिल्पा, पाँचधारे  जस्ता साना शहरको पुनर्ताजगी हुनेछ । 
  • प्रत्येक गाँउ गाँउको खेतियोग्य जमिन उर्बर बन्नेछ । खाद्यन्न, फलफूल, तरकारी इत्यादिमा जिल्ला आत्मनिर्भर बन्नेछ । आँफूलाई पुर्याएर बाँकि रहेको खाद्यन्न,तरकारी, फलफूल, अलैंची, अकबरे, अदुवा जस्ता नगदे बाली जिल्ला बाहिर बिक्री गरेर प्रशस्त आम्दानी गरिनेछ ।
  • गाँउ गाँउमा घरेलु, साना, र कुटिर उद्योग स्थापना गरिने छ । 
  •  स्थानीय स्रोत, साधन, सीप, कौशल,कला र प्रबिधिको प्रयोग गरी उत्पादन गरेका राडीपाखी, गलैंचा र पश्मिनाले युरोपको बजार पाउने छ र प्रशस्त बिदेशी मुद्रा आर्जन  गरिने छ । यसबाट आत्मनिर्भर बनि विश्व आर्थिक मंचमा भोजपुरको नाम सुनौलो अक्षरले लेखिनेछ । 
  • प्रकृतिक छटाहरु, सौन्दर्ययुक्त टाकुरा,  ताल, पोखरी, गुफा ,झरना र बिबिध साँस्कृतिक बिबिधताको बिकास, बिस्तार, संरक्षण र आधुनिकीकरण गरी प्रर्या प्रर्यटन र धार्मिक प्रर्यटन उद्योग मार्फत आन्तरिक तथा बाह्य प्रर्यटकहरुको गन्तब्य बन्नेछ भोजपुर ।    
  • प्रत्येक नेता, कार्यकर्ता, शिक्षक, कर्मचारी, बिद्यार्थी, उद्योगी, ब्यापारी, निर्माण ब्यबसायी  अनि सवै नागरीक इमान्दार, सक्षम, कार्यकुशल, योग्य, दक्ष , प्रबिण बन्ने छन् अनि भोजपुरे जनता एउटालाई चोट लाग्दा अर्कोलाई दुख्ने स्थीतिमा रहने छन् ।
  • पिखुवा, इर्खुवा, चिर्खुवा, सिक्तेल खोला, बेहेरे, घट्टे खोला जस्ता साना तथा मझौला खोलाहरुबाट उत्पादन हुने प्रशस्त बिजुलीले भोजपुरको प्रत्येक बस्ति, झुप्रा र घर आँगनहरु झलमल हुनेछ । आन्तरिक  मागलाई धानेर बिजुलीको निर्यातबाट प्रशस्त आम्दानी गरिनेछ ।
  • अरुण तथा दुधकोशी नदीमा संचालित जलयात्राबाट प्रयाप्त मनोरन्जन मात्र होइन प्रर्यटकहरुको मन लोभ्याउन सकिनेछ । यात्रा सहजता सँगसगै मनोरम दृश्यहरुको दृश्यावलोकन र  पर्यटकीय गन्तव्यबाट प्रशस्त बिदेशी मुद्रा समेत आर्जन भई गरिबी निबारणको राष्ट्रिय अभियानमा भोजपुरले एउटा आयम थप्नेछ ।   

 स्वभाव र,सोच बदली, इमानजमान नछोडी, सत्य र निष्ठाको साथ आः आफ्नो कर्तव्यप्रति विचलित नभई अगाडि बढ्ने हो भने र व्यक्तिगत स्वार्थलाई सामाजिक स्वार्थको अधिनस्त राखी निमुखा , गरीब र सीमान्तकृत वर्गको उत्थान, उन्नति र प्रगतिको लागि निस्वार्थ सेवा गर्न सके  भोजपुर समृद्ध बन्ने छ  र भोजपुरे नागरीक सुखि त बन्ने  नै छन्  अनि भोजपुरे नागरीकको ओठमा हाँसो र आँखामा खुशी पनि देखिनेछ ।

 लेखक भोजपुरका सहायक प्रमुख जिल्ला अधिकारी हुनुहन्छ ।

 

 

 

Loading spinner