
वामदेव गौतमले ल्याए ‘प्राणभन्दा प्यारो नेपाल’
नेकपा उपाध्यक्ष बामदेव गौतमले ‘प्राणभन्दा प्यारो नेपाल ‘ नामक ल्याएका छन ।
यो मुक्त भूमि, यो ज्ञान भूमि, हो बुद्ध भूमि नेपाल
लम्किरहोस्, चम्किरहोस्, प्यारो देश नेपाल
जय, जय, जय, जय, प्राणभन्दा प्यारो नेपाल
नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० उपाध्यक्ष वामदेव गौतमले रचना गरेको गीतको भिडिओ शुक्रबार सार्वजनिक भएको छ।
गीतकार गौतमले २०६३ सालमै लेखेको उक्त गीतको भिडिओ सार्वजनिक गरिएको त्यसका संगीतकार शम्भुजित बाँस्कोटाले बताए।
राष्ट्रप्रेम र राष्ट्रभाव झल्किने उक्त गीतमा गौतम आफैंले पनि अभिनय गरेका छन् भने भिडियो तयार पार्ने सबै काम उनकै छोरा हरिशचन्द्र गौतमले गरेका हुन्।
गौतमले यो गीत २०६४ सालमा रेकर्डिङ गरेका थिए। ‘मेरो गीति यात्रा’ एल्बममा उनले रेकर्ड गरेका सात गीतमध्येकै यो गीतको भिडिओ ल्याइएको उनका प्रेस सहयोगी विश्वमणि सुवेदीले बताए।
सुवेदीका अनुसार २०६२र२०६३ पछि राष्ट्रियगानको छनौट हुँदा यो गीत प्रतिस्पर्धामा पठाइएको थियो। तर, ब्याकुल माइलाको ‘सयौं थुंगा फूलका हामी’ गीत छनौट भयो।
त्यसबेला संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रदीप ज्ञवाली थिए। राष्ट्रगान छनौट समितिमा नेता मोदनाथ प्रश्रित थिए।
‘आफ्नै पार्टीका नेता छनौट समितिमा हुँदा आफ्नो गीत सेलेक्ट नभएपछि उहाँले राष्ट्रगान छान्दा निष्पक्ष भएछ भन्ने ठान्नुभयो,’ सुवेदीले भने।
गीत आङ्गौल क्रिएसनले बजारमा ल्याएको हो। उत्पादन सुवास काफ्लेले गरेका हुन्।
गीत रोशन गुरुङ र माण्डवी त्रिपाठीलगायतले गाएका हुन्।
काठमाडौं, भक्तपुर, दरबारमार्ग, दरबारस्क्वायर, चोभार, बौद्ध, स्वयम्भू, भैंसेपाटी, बौद्ध लगायतका ठाउँमा भिडिओ सुटिङ गरिएको हो।
काफ्लेका अनुसार लकडाउन खुलेको बेला बीचमा भिडिओ सुटिङ गरिएको हो।
गीतमा वाद्य संयोजन मनोहर सुनाम र छायांकन दीर्घ गुरुङले गरेका हुन्। निर्देशन जीवन थापाले गरेका हुन्।
गणतन्त्र घोषणाअघि गौतमले ‘गणतन्त्र जिन्दावाद’ भन्ने अर्को गीत सार्वजनिक गरेका थिए। सो गीत २०७० सालमा गणतन्त्र दिवसको दिन नेपाली सेनाले ब्याण्डमा प्रस्तुत गरेको थियो।
‘मलाई लिरिक्स राम्रो लाग्यो, मन परेको शब्दमा मैले संगीत भरेँ,’ संगीतकार बाँस्कोटाले भने।
गौतम किसान, नारी आन्दोलनका अगुवा मानिन्छन्। उनी सानैदेखि गीत, कविता लेख्ने गर्थे। सिर्जनात्मक प्रतियोगिताहरूमा भाग लिन्थे।
तर, नेता भएपछि उनले गीत, कविता लेख्न छोडेका थिए। पछि राष्ट्रिय गान ल्याउने बेला प्रतिस्पर्धा हुँदा उनले गीत रचना गरेका थिए।