बेलायतमा तीव्र रुपमा कोरोना फैलिदैँ, नेपालसहित ५० भन्दा बढी मुलुकहरुले रोके उडान
काठमाण्डाै ।भाइरसले बेलायतमा तीव्र रुपमा फैलिरहेको कोरोना नयाँ परिवर्तन गरेपछि पचासभन्दा बढी मुलुकहरुले बेलायतबाट हुने सम्पूर्ण उडानमा रोक लगाएका छन् । हाल बेलायतमा देखिएको नयाँ किसिमको भाइरस ‘भियूआइ–२०२०१२०१’ यस अघिको भन्दा ७० प्रतिशतसम्म बढी संक्रामक रहेको जनाइएको छ । यही कारण बेलायतस्थित नेपाली दूतावास लण्डनले मंगलबार एक सूचना जारी गर्दै नेपालका लागि तत्काल पर्यटक एवम् अन्य भिसा जारी नगरिने बताएको छ ।
नेपाल सरकारले बेलायतबाट जाने यात्रुलाई मंगलबारबाट नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेसँगै दूतावासले उक्त सूचना जारी गरेको छ ।पछिल्लो समयमा बेलायतमा कोरोना संक्रमण दर, मृतक संख्या र हस्पिटल भर्ना हुनेको संख्या अत्यधिक वृद्धि भएको छ । मंगलबार एकैदिन बेलायतमा ६९१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६८ हजार ३०७ पुगेको छ । यसैगरी पछिल्लो २४ घन्टामा ३६ हजार ८०४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । संक्रमण दर नियन्त्रण भन्दा बाहिर गएको भन्दै सरकारले विशेष गरि लन्डन क्षेत्रमा ‘टीयर ४’ नाम दिइएको लकडाउन घोषणा गरेको छ, जुन यसअघि गरिएको देशव्यापी लकडाउन जस्तै छ ।
नेपाल सरकार कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको मिति पुस ७ गतेको निर्णयले संयुक्त अधिराज्यबाट प्रस्थान गरी नेपाल जाने एवं संयुक्त अधिराज्य ट्रान्जिट भई नेपाल जाने यात्रुलाई नेपाल प्रवेशमा रोक लगाएको हो । पुस ७ गते एयरपोर्टमा ट्रान्जिटमा रहेको बाहेक अर्को सूचना नहुन्जेलसम्म नेपाल आगमनमा रोक लगाइएको हो । नेपाल सरकारको सोहि निर्णयलाई आधार मान्दै यस अवधिमा नेपालका लागि भिसा वितरण गर्ने कार्य स्थगित गरिएको सूचनामा उल्लेख गरिएको छ ।