बिहान दशै बजे आकस्मिक मन्त्रिपरिषद्को बैठक, राजनीतिक नियुक्तिसहित महत्वपूर्ण निर्णय हुने

khabarwave
७ मंसिर २०७७

काठमाडौं । मन्त्रिपरिषद्को बैठक अहिले १० बजे बालुवाटारमा बोलाइएको छ । नियमित रुपमा सोमबार वा बिहीबार बस्ने गरेको मन्त्रिपरिषद् बैठक आज आकस्मिक रुपमा बोलाइएको एक मन्त्रीले बताएका छन् । मंसिर ३ गते सचिवालय बैठक छल्नका लागि आकस्मिक रुपमा दिउँसो १ बजे बोलाइएको मन्त्रिपरिषदको बैठक साँझ मात्रै बसेको थियो ।

आज बस्ने मन्त्रिपरिषद्को बैठकमा समसामयिक विषयका अलावा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङको प्रेस सल्लाहकार नियुक्त गर्ने बुझिएको छ । प्रेस सल्लाहकार नियुक्तिका लागि मन्त्रि गुरुङले ठाडो प्रस्ताव मन्त्रिपरिषद्मा लैजाँदैछन् । प्रेस सल्लाहकार कसलाई नियुक्त गर्ने भन्ने सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओली आफैंले मन्त्रिपरिषद्मा प्रस्ताव गर्ने तयारी गरेका कारण व्यक्ति रिक्त राखेर मन्त्रि गुरुङले प्रस्ताव पेश गर्ने बुझिएको छ ।

प्रधानमन्त्री कार्यालयमा रिक्त रहेको एक सचिव पदका लागि बढुवा समितिले तीन जना सहसचिवको नाम सिफारिश गरेको छ । लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा शुक्रबार मध्यान्हपछि बसेको बढुवा समितिको बैठकले सहसचिवहरु गोकर्णमणि दुवाडी, सुमनराज अर्याल र भरतमणि सुवेदीको नाम सिफारिस गरेको हो ।

सिफारिस भएकामध्येबाट एक जना सचिव बढुवा हुनेछन् । नियमित प्रक्रिया र विधिअनुसार बढुवा गरिए दुवाडी यस पटक सचिव बन्नेछन् । तर दोस्रो अर्याल र तेस्रो नम्बरका सुवेदीलाई बढुवा गर्नका लागि लबिङ भइरहेको बुझिएको छ । तर शुक्रबार अबेर बढुवा समितिको बैठक बसेको र आज दशैं बजे मन्त्रिपरिषद्को बैठक राखिएका कारण सिफारिश समितिको पत्र मन्त्रिपरिषद्मा नपुगेको हुँदा आजको बैठकबाट सचिव बढुवा हुने सम्भावना कम देखिन्छ । – फाइल तस्बिर

Loading spinner