बर्खास्तमा परेका प्रदेश प्रमुख भन्छन- हटाइएकाे जानकारी सञ्चारमाध्यममा आएपछि मात्र थाहा पाए, नयाँ नियुक्तिकाे कांग्रेसकाे बिरोध

khabarwave
७ फाल्गुन २०७७

काठमाडौं ।  राष्ट्रपति विद्यादेबी भण्डारीले २ नम्बर प्रदेशको प्रदेश प्रमुख परिवर्तन गरेकी छन् । २ नम्बर प्रदेशका प्रदेश प्रमुख तिलक परियारलाई हटाइएकाे छ । साे स्थानमा  डा.  राजेश झालाई नियुक्ति गरिएकाे छ । उनकाे शुक्रबारनै शपथसमेत भएकाे छ ।

मधेशवाणी साप्ताहिक पत्रिकाका सम्पादक समेत रहेका झा मधेश मिडिया हाउसका सञ्चालक हुन्। पत्रकारिता जगतमा उनलाई ’राजेश अहिराज’ नामले चिनिन्छ। रौतहटको गढीमाई नगरपालिका वडा नम्बर ३ सुन्दरपुरका झाले मधेश मामिलामा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन्।कानून विषयमा स्नातक गरेका उनी मधेश मामिलाका जानकारका रूपमा चिनिने गर्छन्।

निवर्तमान प्रदेश प्रमुख तिलक परियारले स्वकीय सचिवसँगको झगडाका कारण आफुलाई हटाइएको आरोप लगाएका छन् । उनले आफूले अहिलेको वर्तमान राजनीतिक परिस्थितिमा कतै केही नबोलेको बताउँदै उनले कसैसँग सम्पर्क समेत नभएको बताए । तर एकजना स्वकीय सचिवसँग भएको झगडालाई लिएर आफूलाई हटाएको उनले गुनासो गरेका छन ।रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराई र निवर्तमान प्रदेश प्रमुख परियारका स्वकीय सचिव अनिल पासवानबीचको गाली गलौजको फोन रेकर्ड बाहिर आएको थियो । त्यसैलाई इसु बनाएर प्रधानमन्त्री ओलीले प्रमुखबाट परियारलाई हटाएको चर्चा चलिरहेको छ ।आफू प्रदेश प्रमुख भएर संघीय सरकारलाई सहयोग पुग्ने गरी नै काम गरिरहेको र संघीय सरकारलाई असहयोग हुने कुनै पनि काम नगरेको दावी गर्दै परियारले आफूलाई बर्खास्त गरेको कुरा सञ्चारमाध्यममा आएपछि मात्र थाहा पाएको बताए ।

प्रदेश प्रमुख हटाउने र नयाँ नियुक्ति गर्ने कार्यको नेपाली कांग्रेसले बिरोध गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रदेश प्रमुखको नियुक्ति बदर गरेर प्रदेश प्रमुखको गरिमा घटाउँदै लगेको बताएका छन् । प्रवक्ता शर्माले विज्ञप्ति जारी गरी ‘निर्वाचन घोषणा भएको छ भनेर दलको विवाद निरुपण नगर्न निर्वाचन आयोगलाई आन्तरिक दबाब दिने सरकार बर्खास्त र नियुक्तितर्फ लाग्नु नैतिक दृष्टिले समेत अत्यन्तै गलत र आपत्तिजनक छ ।’

प्रतिनिधिसभा बिघटनपछि कामचलाउ अवस्थामा पुगेको सरकारले यसरी बर्खास्त, नियुक्ति आदि काम गर्न नपाउने शर्माको विज्ञप्तिमा उल्लेख छ । ‘नेपाली कांग्रेस स्वेच्छाचारी ढंगले गर्ने यस्ता कार्य अविलम्ब रोक्न सरकारलाई चेतावनी दिन चाहन्छ’, शर्माले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।

Loading spinner