प्राकृतिक परिपूरकता र दक्षता सहितको तटस्थ प्रतिबध्दता
प्रशासनयन्त्रको दायित्व भनेको सरकारी सेवालाई सरल सहज झन्झटमुक्त र प्रभावकारी बनाउनु हो । जनताको अभिमत र चाहनालाई कार्यरुपमा परिवर्तन गर्न सार्वजनिक प्रशासनको महत्वपूर्ण भूमिका रहेको हुन्छ । प्रशासनयन्त्रको प्रभावकारिता, चुस्तता , प्रतिबध्दता र तटस्थताले जनअभिमतको सच्चा कदर हुन सक्दछ । तटस्थता प्रशासनयन्त्रको त्यो अपरिहार्य गुण हो जसको मूल ध्येय कानूनले निर्धारित गरेका प्रक्रियालाई पूर्णरुपमा परिपालना गर्दै सेवाग्राही संगको सम्बन्धलाई स्वच्छता, निष्पक्षता, इमान्दारिता, प्रतिबध्दता र तटस्थताकोे मूलमन्त्र व्दारा पेशागत दक्षता, व्यवसायिकता र विशिष्टताका आधारमा सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी, जनमुखी र परिणाममूलक बनाउनु हो ।
यसको साथसाथैसरकारी नीति र कार्यक्रम प्रति अपनत्वबोध, स्वामित्व ग्रहण, कार्यान्वयनमा तदारुकता र दृढ ईच्छाशक्ति, मनोवलयुक्त भावनाको व्यवहारगत अबलम्बन सहितको प्रतिबध्दता अर्को आवश्यकीय आयाम हो । संघीय शासन प्रणाली उच्चतम प्रजातान्त्रिक परिपाटी अगाल्न सकिने प्रणाली हो । संघीय शासन प्रणाली अन्तरगतको निजामती प्रशासन अझै बढी प्रभावकारी, पारदर्शी , परिणाममुखी हुनु आवश्यक हुन्छ ।
जनप्रतिनिधि मार्फत प्राप्त जनताको अभिमत र चाहनालाई कार्यरुपमा परिवर्तन गर्न सार्वजनिक प्रशासनको महत्वपूर्ण भूमिका रहेको हुन्छ । यसै अर्थमा निजामती प्रशासनले सरकारको नेतृत्व गर्ने वा नगर्ने दल विशेषको राजनैतिक आस्था वाट प्रभावित नभै संविधान, कानून,नीतिको परिवेश भित्र रही कार्यकारी निकायको रुपमा रहेको सरकारको सच्चा प्रतिनिधिका रुपमा रही प्राप्त जनताको अभिमत र चाहनालाई कार्यरुपमा परिवर्तन गर्न दत्तचित्त रहनु पर्दछ । यदि प्रशासनयन्त्र प्रभावकारी भयो, सेवा प्रवाहमा चुस्त दुरुस्त रह्यो, सरकारी नीति नियमको अन्तरवस्तु प्रति प्रतिबध्द र त्यसको परिपालनामा तटस्थ रही प्रतिबध्दतापूर्वक कार्यान्वयन गर्ने तत्परता देखायो भने जनअभिमतको सच्चा कदर भएको हुन्छ । यसले गर्दा जनता प्रति सरकारको विश्वसनीयता अभिवृध्दि हुने र सरकारको दिगोपना रहने गर्दछ । यसैले कुनै पनि देशको सरकार त्यहांको प्रशासनयन्त्र भन्दा राम्रो हुन सक्दैन भन्ने गरिएको छ ।
प्रजातन्त्रमा सरकार कुनै राजनैतिक दल विशेषको हुने भएकोले सामन्यतया उसले आफु अनुकुलको प्रशासनयन्त्रको अपेक्षा राख्नु स्वभाविकै हो तर प्रशासनयन्त्र प्रतिस्पर्धात्मक छनौट प्रणालीबाट आएका हुन्छन् उनीहरुको पेशागत मर्यादा र आचरण , उत्तरदायित्व एउटा निश्चित कानूनी आधारशीलावाट निर्देशित भएको हुन्छ यसर्थ उनीहरुले चुनाव प्रणाली बाट आएका पदाधिकारी को आदेशलाई स्वेच्छा वा कुनै वादवाट प्रेरित भएर काम गर्न सक्दैनन् । प्रशासनयन्त्रको दायित्व भनेको सरकारले ल्याउने नीति निर्माणमा असल पृष्ठपोषक, व्यवहारकुशल कानूनी आधारशीला प्रदान गर्नमा सहयोगी, नीति कार्यान्वयनका लागि अनुकुल संस्थागत संरचना तयार गर्ने, नीतिको सकारात्मक वकालतकर्ता र सरल सहज झन्झटमुक्त तरीकावाट सेवा प्रवाहलाई प्रभावकारी बनाउनु हो ।
तटस्थता प्रशासनयन्त्रको त्यो अपरिहार्य गुण हो जसमा कर्मचारी कुनै वाद, आस्था, समूह वा वर्गगत साइनोवाट आफूलाई पूर्ण रुपमा मुक्त गराउंछ । उसको मूल ध्येय भनेको कानूनले निर्धारित गरेका प्रक्रियालाई पूर्णरुपमा परिपालन गर्दै सेवाग्राही सम्बन्धको सम्बन्धमा स्वच्छता, निष्पक्षता, इमान्दारिता र तटस्थतालाई आफ्नो मूलमन्त्र वनाई पेशागत दक्षता, व्यवसायिकता र विशिष्टताका आधारमा सरकारको प्रतिनिधिको रुपमा सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी, जनमुखी र परिणाममूलक बनाउनु हो । तटस्थतामा राजनीतिक तटस्थता, वर्गीय तटस्थता, संस्कारगत तटस्थता, भौगोलिक तटस्थता, भाषिक तटस्थता, धार्मिक तटस्थता आदि पर्ने गर्दछन् र सार्वजनिक जिम्मेवारी ग्रहण गरेका प्रशासकहरु यस्ता सामीप्यता वाट मुक्त रहन सक्नु पर्दछ ।
स्थायी सरकारको हैसियतले एउटा राष्ट्सेवकको रुपमा कर्मचारीको आफ्नो राष्ट्प्रति विशिष्ट दायित्व रहेको हुन्छ । प्रशासनयन्त्र कुनै पनि दल विशेषको राजनैतिक दर्शन, सिध्दान्त र चिन्तनवाट सार्वजनिक रुपमा प्रभावितहुनुुहुदैन । कर्मचारीहरुले आफ्नो कार्यसम्पादन गर्ने क्रममा यस्तो झुकाव प्रदर्शन गर्नु तटस्थताको परम्परागत अवधारणाका दृष्टिले उपयुक्त मानिदैन । सार्वजनिक प्रशासनका आदि पुरुष वुडे वुल्सनका अनुसार राजनीति र प्रशासनको वीचमा एउटा लक्ष्मणरेखा विद्यमान रहेको हुन्छ र त्यो लक्ष्मणरेखा नीति निर्माण र नीति कार्यान्वयन गरी दुई कित्तामा विभाजित भएको हुन्छ । नीति निर्माणको दायित्व राजनीति अर्थात सरकारको हो भने नीति कार्यान्वयनको दायित्व प्रशासनयन्त्रको हो ।विडो विल्सन पछि म्याक्स वेबर लगायतका प्रशासनविदहरुवाट यस्तै तटस्थतामा जोड दिइएको पाईन्छ।
तटस्थताको आधुनिक विचारधारा परम्परागत विचारधाराभन्दा केही फरक छ । यस अवधारणा अनुसार कर्मचारी समाजको एउटा सदस्यको हैसियतले समाजको जे जस्तो चरित्र छ त्यो चरित्र कर्मचारीको आचरण र व्यवहारमा कुनै न कुनै रुपमा प्रतिबिम्वित भएको हुन्छ । यसर्थ कर्मचारीवाट पुरै तटस्थता प्रदर्शित नहुन सक्दछ भन्ने तर्क तटस्थताको आधुनिक विचारकहरुवाट प्रस्तुत गर्ने गरेको पाईन्छ । राजनीति र प्रशासन दुई फरक जिम्मेवारी भए पनि नीति निर्माणमा कर्मचारी पूर्ण रुपले अलग हुने भन्ने कुरा व्यवहारमा त्यति संभव छैन कर्मचारीले स्वभावतः नीति निर्माणको चरणमा नीति पृष्ठपोषणको रुपमा नीतिका अन्तरवस्तुहरुमा आफ्नो व्यवसायिक विशिष्टताको आधारमा विचार राख्न सक्दछ जसले सही र यथार्थपरक नीति निर्माणमा सहयोग पुग्न जान्छ । यसलाई प्राकृतिक परिपूरकताको सिध्दान्तभनिन्छ । सन् १९५० को दशकपछि तटस्थताको आधुनिक विचारधाराको प्रचलन हुन थालेको हो ।
नीति निर्माण राजनीतिक नेतृत्वको मूल कार्यक्षेत्र हो। तर राजनीतिक नेतृत्वसंग जनताका ईच्छा, आकांक्षा,चाहनाका सन्दर्भमा परिवर्तनको एउटा स्पष्ट लक्ष्य रहेको हुन्छ तर त्यो ईच्छा, आकांक्षा,चाहनालाई कानूनी र प्रशासनिक प्रक्रियाको माध्यमवाट नीति दस्तावेजमा प्रतिविम्वित गराउन, कार्यान्वयनको सुनिश्चितताको लागि संस्थागत संयन्त्रको परिचालन गर्न र तल्लो तहसम्म फैलिएको प्रशासनिक संयन्त्रको परिचालनव्दारा जनतासंग सम्पर्क कायम गर्न प्रशासनिक संयन्त्रको परिचालनको आवश्यकता हुन्छ । यसैले तटस्थता प्रशासनयन्त्रको अपरिहार्य विषवस्तु भएपनि विषगत विज्ञता र स्थायी संयन्त्र भएको कारणले प्रशासनयन्त्रले दक्षता सहितको तटस्थता व्दारा सकारात्मक योगदान गर्न सक्छ भन्ने मान्यताको विकास हुदै गएको छ । यो अवधारणाले आस्था, वाद वा विचारको आवध्दता सहितको दक्षतालाई पूर्ण रुपमा नकारेको छ ।
प्रशासनयन्त्र सरकारको मूल सहयोगी र कार्यकारी संयन्त्र हो । स्थायी सरकारको रुपमा रहेर प्रशासनयन्त्रले सरकारका नीति नियमको कार्यान्वयन, सरकार समक्ष आएका जनताका चाहना, सरकारले जनता समक्ष पुर्याउनु पर्ने सेवा सुविधालाई सरल , सहज, कम झन्झटिलो तरीकाले पुर्याउनु यसको प्रमुख दायित्व हो । यसका लागि कर्मचारीहरुमा सरकारी नीति र कार्यक्रम प्रति अपनत्वबोध हुनु आवश्यक छ । सरकारी नीति र कार्यक्रम प्रतिको अपनत्वबोध, स्वामित्व ग्रहण, कार्यान्वयनमा तदारुकता र दृढ ईच्छाशक्ति, मनोवलयुक्त भावनाको व्यवहारगत अबलम्बननै प्रतिबध्दता हो ।
सरकार कुनै राजनैतिक दल विशेषको हुने भएकोले सामान्यतया उसले प्रशासनयन्त्रवाट आफु अनुकुलको अपेक्षा राख्ने गर्दछ । यो अपेक्षा त्यति अस्वभाविक पनि होइन । अहिले योग्यता प्रणाली छनौट प्रणालीको मूल आधार वन्दै गएको छ । यस प्रणाली अनुसार कर्मचारीहरु योग्यता, दक्षता र प्रतिस्पर्धाको आधारमा छनौटहुन्छन् र कर्मचारी छनौट प्रक्रियामा राजनीतिको कुनै भूमिका रहदैन । तथापि योग्यता प्रणाली छनौट भएका कर्मचारीहरु वाट सरकारले उति नै तहको प्रतिबध्दताको अपेक्षा गरेको हुन्छ फरक यति हो यस प्रणालीमा कर्मचारीहरुको प्रतिबध्दताको तहलाई उच्च राख्न उचित कार्य वातावरण, उत्प्रेरणाका अवयवहरु, कार्य संचालनका स्पष्ट आधार, अधिकार र उत्तरदायित्व जस्ता तत्वहरुलाई प्रयोगमा ल्याईएको हुन्छ । यसलाई सन्तुलित प्रतिबध्दता भनिन्छ ।प्रतिबध्दताका क्षेत्रहरुमा कानून प्रतिको प्रतिबध्दता, नीति प्रतिको प्रतिबध्दता, कार्यान्वयन तहको प्रतिबध्दता,सेवाग्राही प्रतिको प्रतिबध्दता र परिणाम प्रतिको प्रतिबध्दता पर्दछन् ।
प्रजातान्त्रिक शासन प्रणाली जनमुखी शासन प्रणाली हो । संघीय शासन प्रणाली उच्चतम प्रजातान्त्रिक शासन प्रणाली हो । यस प्रणालीमा जनतासंग सरकार संग छिटो, छरितो र सहजतापूर्वक अन्तरक्रिया गर्न , आफ्ना गुनासो राख्न,सेवा लिन र शासन प्रणालीमा सहभागी हुने अधिकार रहेको हुन्छ । सार्वजनिक सेवा प्रवाह गर्ने संस्थाहरु र सार्वजनिक सेवा प्रदायक हरु जनताको निकटतम दूरी मा रहनु पर्दछ अनि मात्र त्यो सरकार प्रभावकारी हुन्छ भन्ने परिपूरणको सिध्दान्तको वास्तविक प्रतिविम्व संघीय शासन प्रणाली हो भन्ने गरिन्छ । यस अर्थमा संघीय शासन प्रणाली अन्तरगतको प्रशासन अझै बढी प्रभावकारी, पारदर्शी , परिणाममुखी हुनु आवश्यक हुन्छ ।
संघीय स्वरुपमा निजामती प्रशासनको भूमिका सेवा प्रवाहको दृष्टिले जति महत्वपूर्ण छ तटस्थता र निश्पक्षताको दृष्टिले अझै चुनौतीपूर्ण छ । प्रजातान्त्रिक शासन प्रणालीमा एउटा वा केही राजनीतिक दल सरकारमा रहने र सरकार वाहिर अन्य दल तथा सरकारमा प्रतिनिधित्व गर्ने दललाई मत नदिएका मतदताहरु रहन्छन। यस परिप्रेक्ष्यमा प्रशासनको भूमिका दलगत प्रभावमा नआई तटस्थ र प्रतिबध्द भै सेवा प्रवाह गर्नु हो । संघीय शासन प्रणालीमा यो समस्या अझ घनीभूत रुपमा देखिन सक्छ । यसमा केन्द्रीय सरकार कुनै एक दलको, प्रादेशिक सरकार दोश्रो दलको र स्थानीय सरकार तेश्रो दलको हुन सक्ने हुदा कर्मचारीले हरेक तहमा राजनैतिक तटस्थता प्रदर्शन गर्दै सेवा प्रवाहमा प्रतिबध्दता, कार्य सम्पादनमा प्रभावकारिता र आफ्नो विशिष्टता र दक्षताको कुशल प्रदर्शन गर्नु पर्ने हुन्छ ।
यस सन्र्दमा प्रशासनको दायित्व तटस्थता सहितको प्रतिबध्द दक्षताको अवधारणाको प्रत्याभूति गर्नु हो ।प्रशासकहरु योग्यता प्रणालीका उपज भएकालेआफ्नो कार्यलाई विधिको आवरणवाट सुरक्षित राखि सेवा प्रवाहमा जन प्रशंसा प्राप्त गर्न सक्ने पोख्त योध्दा बन्न सक्नु पर्दछ । विषगत विज्ञता र स्थायी सरकारको हैसियतले प्रशासनयन्त्रले राजनीति प्रति तटस्थता देखाउदै सेवा प्रवाह र सरकारी नीति कार्यान्वयनमा मा सकारात्मक योगदान को निम्ति सदा सर्वदा तत्पर र प्रतिबध्द रहनु नै वास्तविक रुपमा प्रतिबध्द दक्षताहो । संघीय शासकीय स्वरुपका तीनै तहमा प्रशासनको भूमिका सेवा प्रवाहको दृष्टिले जति महत्वपूर्ण छ तटस्थता र निश्पक्षताको दृष्टिले अझै चुनौतीपूर्ण छ यस सन्दर्भमा यो चुनौतीलाई अवसरमा परिवर्तन गर्न कर्मचारीले हरेक तहमा राजनैतिक तटस्थता प्रदर्शन गर्दै सेवा प्रवाहमा प्रतिबध्दता, कार्य सम्पादनमा प्रभावकारिता र आफ्नो विशिष्टता र दक्षताको कुशल प्रदर्शन गर्दै सरकार जनता वीचको असल र प्रभावकारी सम्बन्ध सेतुको रुपमा आफूलाई प्रखर भूमिकामा प्रस्तुत गर्न सक्नु पर्दछ यो नै नेपालको संघीय शासन प्रणालीको सामयिक आवश्यकता हो ।
( लेखक कुशल प्रशासनविद तथा संघीयताका विज्ञ हुन् )