प्रधानमन्त्रीलाई अनुशासनको कारबाही, भाेलि नेकपा संसदीय दलको बैठक बोलाइयाे,मंगलबार केन्द्रीय कमिटीको बैठक बाेलाउने स्थायी कमिटीकाे निर्णय

khabarwave
५ पुष २०७७

काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टीकाे स्थायी कमिटी बैठकले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा ४५ सदस्यीय स्थायी कमिटीका आमन्त्रित ४ सहित ३१ जना उपस्थित थिए ।

बैठकले पार्टी अध्यक्ष ओलीले पार्टी अनुशासन उल्लंघन गरेको ठहर गर्दै अनुशासनको कारबाहीका लागि केन्द्रीय कमिटीमा सिफारिस गर्ने निर्णय गरेको र   पुष ७ गते केन्द्रीय कमिटीको आकस्मिक बैठक बोलाइएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद भंग गरेपछि बसेको नेकपा स्थायी कमिटीको बैठकले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र जनादेशविरुद्ध भएको ठहर गर्दै खेद व्यक्त गरेको छ ।

त्यसैगरी स्थायी कमिटी बैठकले भोलि सोमबार दिउँसो १ बजे नयाँ बानेश्वर नेकपा संसदीय दलको बैठक बोलाउने निर्णय भएको छ । भोलि नै दिउँसो ३ बजे स्थायी कमिटीको बैठक पनि बस्नेछ ।

 

Loading spinner