
नेपाली कांग्रेसको भावि नेत्तृत्त्वको छनौटमा देखाउनु पर्ने सजगता
लामो समयको प्रतीक्षा पश्चात् नेपाली कांग्रेसको १४ औं महाधिवेशन यही मंसीरको अन्तिम साता काठमांडौमा शुरू हुदैछ। यसका प्रारम्भिक छनकहरू समेत देखिन थालेका छन्। नेपाली कांग्रेसको यो महाधिवेशन हुनका लागि मात्र भै रहेको छैन।अर्थात यो महाधिवेशन आफ्ना संरचनाहरूमा पदाधिकारीको आपूर्ति गर्न मात्र भै रहेको छैन। यसले आफ्नो अधिवेशन सम्पन्न गरीरहदा आफूले पूरा गर्नु पर्ने दायित्वहरूको हेक्का राख्ने अपेक्षा गरिएको छ।
यसको पहिलो दायित्व भनेको प्रजातन्त्रलाई समसामयीक र जनताको मन मस्तिष्कमा रहन सक्ने बनाउनु हो। यसको ईतिहांसले भन्छ कि नेपालमा प्रजातान्त्रिक अवधारणा बोकेको एकमात्र पार्टी नेपाली कांग्रेस हो। नेपालको राजनीतिक ईतिहांसको काल खण्ड देखि नै नागरिकको हक अधिकारका लागि लडेको पार्टी हो यो। राज्य नियन्त्रित शासन ब्यबस्थाको बिकल्प दिने, तानाशाही र एकतन्त्रिय शासन ब्यबस्थाको बिकल्प दिने भनेर उभिएको पार्टी हो नेपाली कांग्रेस। यसैले प्रजातान्त्रिक संस्कार र चरीत्रको गुरू पनि हो यो पार्टी। कानूनी शासन, शक्ति सन्तुलन, नागरिक स्वतन्त्रता, आदिको पर्याय हो नेपाली कांग्रेस।
तर नेपालमा यसको जन्म भए देखि आज सम्म यसको नेत्तृत्त्वमा रहेका ब्यक्ति र यिनले विगतमा खेलेका भूमिकाले नेपालमा प्रजातन्त्रको अवस्था कस्तो देखिदैछ? हिजोका नेत्तृत्त्वले खेलेका भूमिकाहरू त्यसमा जिम्मेवार छन् कि छैनन्? यो बारेमा नसोचिकन महाधिवेशन गर्नु कर्मकाण्डी मात्र हुन जान्छ। त्यसैले नेकाको आसन्न महाधिवेशले यसको जवाफ दिने अपेक्षा गरिन्छ। नेपाली कांग्रेस एउटा पुरानो र एक तन्त्रिय र तानाशाही विरूद्ध लडेको एक प्रजातान्त्रिक पार्टी भएकोले यसले आफ्नो मात्र हैन बैचारिक तवरले अरू विचार संग पनि समन्वय गर्नु पर्ने हो।
विगतका राजनीतिक आन्दोलनमा नेका र यसका नेत्तृत्त्वले यस किसिमको भूमिका निर्वाह गरेको स्मरण ताजै छ। तर त्यस पछिको नेत्तृत्त्वले अरू विचार समेतको समन्वय गर्न त परै राखौ आफ्नै दललाई पनि तीन चिरामा विभक्त गरे। यस्तो परिस्थिति हुन गएको कारणले नेपालमा राजनीतिक अस्थीरता देखिएको छ। राजनीतिक विचारहरू सैद्धान्तिक मात्र भएर पुग्दैन, यिनीहरू ब्यबहारिक पनि हुन पर्छ। यदि यिनीहरू ब्यबहारिक हुन सकेनन् भने साम्यवादी दर्शन जस्ता बासी बिचार हुन पुग्छन् । त्यसैले हाम्रो प्रजातन्त्र पनि हाम्रै परिवेश सुहाउदो हुनु पर्छ। हामीले विश्वका प्रजातान्त्रिक मुलुकका अवधारणालाई नेपालको समाज, आर्थिक अवस्था, जनताको चेतना र नेपालको भौगोलिक अवस्थालाई मध्य नजर राखेर आकार दिन सक्नु पर्छ।
अरूको वहकाऊमा लागेर लहडका भरमा राजनीतिक ब्यबस्थालाई आकार दिन खोज्दा अहिलेको परिस्थिति सृजना भएको हो भन्न संकोच मान्नु पर्दैन। यी सबैको समीक्षा गरेर एउटा स्पष्ट दृष्टिकोण बनाउन सक्ने नेत्तृत्वको खोजी आसन्न महाधिवेशनले गर्ने अपेक्षा गरेको पाईन्छ। जनताको चाहना के छ त्यो बुझ्नु पर्यो। जनताले अहिले धेरै ठूलो अपेक्षा गरेका पनि छैनन्। राज्यले आफ्नो आवश्कता संबोधन गरोस् भन्ने चाहन्छन्। यसको निम्ति उनीहरू सुशासन चाहन्छन्, रोजगारी चाहन्छन्, भर पर्दो स्वास्थ्य सुविधा चाहन्छन्, रोजगारी मूलक शिक्षा चाहन्छन्।
जनताहरूमा देखिएको असन्तुष्ठी जुन सरकारले संबोधन गर्न सक्छ, त्यही सरकारको खोजीमा छन् नेपाली जनता। केही वर्ष यताका सरकारले जन चाहनालाई सम्बोधन गर्न नसकेको हुदा नेपाली जनताले पालै पालो सबै दलहरूलाई सरकारमा पुर्याए तर आफूले सोचे जस्तो उपलब्धी पाउन सकेनन्।त्यसैले नेपाली कांग्रेसको आसन्न अधिवेशनले यही जन आकांक्षालाई लक्षित गरेर नीति तय गरोस् भन्ने चाहना रहेको छ।
आसन्न अधिवेशनको नेत्तृत्त्व छनौटका प्रकृयाहरू आरम्भ भएका छन्। नेत्तृत्त्व छनौटमा सहभागी हुन देशको कुना काप्चाबाट करीब ४,००० प्रतिनिधि महाधिवेशन स्थल जादै छन्। तर यी प्रतिनिधिलाई बिभिन्न खेमामा विभक्त गर्ने प्रयास भएका छन् जुन निरर्थक प्रयास हो। स्थानीय तह देखि छानिदै र चुनिदै आएका प्रतिनिधिहरू सबैजना देशको अवस्था र संभावित उम्मेद्वारहरूको विगतको भूमिकाबाट अनविज्ञ छैनन्। निर्वाचित हुने क्रममा जुन जुन समूहबाट आए पनि सबै कार्यकर्ता सिंगो नेपाली कांग्रेसका हुन्। सबैको उदेश्य ब्यक्तिलाई हैन पार्टीलाई जिताउनु हो। पार्टीको जित भनेको सिंगो प्रजातन्त्रको जित हो, प्रजातन्त्रका सबै अवयवहरूको जित हो, प्रजातन्त्रको पूर्णताको जित हो ।यो पार्टीका सबै कार्यकर्ताहरू प्रजातान्त्रिक संस्कार र ब्यबहारबाट दीक्षित समेत छन् ।
बैयक्तित स्वतन्त्रताका पक्षपाती यो पार्टीका हरेक कार्यकर्ता आफ्नो विवेक पुर्याउन स्वतन्त्र पनि छन्। कम्युनिजममा जस्तो यिनीहरूले आफ्नो विवेकलाई बन्धक राख्दैनन्। यस अर्थमा आसन्न महाधिवेशनले एउटा दूर दर्शी र स्पष्ट दृष्टिकोण भएको र सबै राजनीतिक दललाई समन्वय गर्न सक्ने र प्रजातन्त्रलाई देशको आकारमा प्रिन्ट गर्न सक्ने ब्यक्तिलाई निर्णायक ठाऊमा राख्ने छन् भन्ने अपेक्षा समस्त शुभेच्छुकले राखेका छन्। महाधिवेशनको सफलताको कामना।