नवनियुक्त मन्त्रीहरूकाे शपथ बिहान साढे ११ बजे, पोखरेलले पाए नयाँ जिम्मेवारी

khabarwave
२९ आश्विन २०७७

काठमाडौं । नवनियुक्त मन्त्रीहरूलाई बिहीबार शपथ ग्रहण गराउने तयारी राष्ट्रपति कार्यालयले गरेको छ। राष्ट्रपति कार्यालयकाअनुसार  प्रमुख शपथका लागि बिहान साढे ११ बजेको समय तय भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिमण्डल आंशिक हेरफेर गरेका छन्। यस क्रममा खाली रहेका ३ मन्त्रालयका नेतृत्व परिपूर्ति गर्नुका साथै केही मन्त्रीका जिम्मेवारी फेरबदल गरिएका छन्।

यो पुनर्गठनमा उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्ने गरी नयाँखाले जिम्मेवारी दिइएको छ। प्रधानमन्त्री कार्यालयअन्तर्गत सम्पत्ति शुद्धीकरण, राजस्व न्यायाधिकरण, राष्ट्रिय अनुसन्धानलगायत महत्वपूर्ण विभागीय जिम्मेवारी पोखरेलले सम्हाल्ने गरी उनलाई त्यता सारिएको प्रधानमन्त्री निकट स्रोतको भनाइ छ।

प्रधानमन्त्री ओलीले पार्टी महासचिव विष्णु पौडेललाई अर्थ मन्त्रालयको जिम्मेवारी सुम्पेका छन्। त्यस्तै कृष्णगोपाल श्रेष्ठलाई सहरी विकास र लीलानाथ श्रेष्ठलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिएका छन्। यसअघिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा लगिएको छ। उपप्रधानमन्त्री पोखरेलले सम्हाल्दै आएको रक्षा मन्त्रालयको जिम्मेवारी भने प्रधानमन्त्री आफैंले राखेका छन्।

२०७४ फागुन ३ मा सरकारको नेतृत्व सम्हालेयता प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुनर्गठन तथा विस्तार गरेको यो एघारौंपटक हो। गत भदौ २६ मा पार्टीभित्रको आन्तरिक विवाद मिलाउँदै नेकपाको स्थायी समिति बैठकले सरकार पार्टीको नीतिगत मार्गनिर्देशनमा सञ्चालन हुने स्थापित मान्यतालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने, सचिवालयमा गरिने छलफल, अध्यक्षद्वयको आपसी परामर्श र सहमति तथा संवैधानिक व्यवस्था र कानुनी प्रबन्धका आधारमा संघीय मन्त्रिपरिषद् र प्रदेश मन्त्रिपरिषद् पुनर्गठन तथा राजनीतिक नियुक्तिसम्बन्धी निर्णय लिने प्रस्ताव पारित गरेको थियो।पार्टी प्रणालीमा परामर्श नगरी निर्णय लिएको भन्दै यससँगै अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपाल असन्तुष्ट देखिएका छन्।

 

Loading spinner