नयाँ मुख्यसचिव काे बन्ने ? निर्णायक रेग्मी

khabarwave
७ आश्विन २०७७

 

काठमाण्डाै । कार्तिक ६ गतेपछि रिक्त हुने मुख्यसचिव पदका लागि  सचिवहरूको दौडधुप सुरु भएको छ। मुख्यसचिव लोकदर्शन रेग्मीको कार्यकाल कात्तिक ६ मा सकिँदैछ। अहिलेसम्म मुख्यसचिवका लागि ६ जना सचिव आकांक्षी छन्।

रेग्मीले कार्यकाल पूरा हुनुभन्दा   १५ दिनअघि अर्थात असाेज २२ गतेभित्र राजिनामा गरे भने शंकरदास बैरागी, केदारबहादुर अधिकारी र मोहनकृष्ण सापकोटामध्ये एक मुख्यसचिव हुनेछन्। तर उनले कार्यकाल पूरा गरी अवकाश लिए भने यी तीनैजना मुख्यसचिवको दौडबाट बाहिरिने छन्। यि तीनैजना २०७२ असोज २२ मा सचिवमा बढुवा भएका हुन्।उनीहरूकाे  असोज २२ मा निजामती सेवाबाट अनिवार्य अवकाश हुँदैछ। बैरागी परराष्ट्र, अधिकारी संस्कृति पर्यटन र सापकोटा सार्वजनिक खरिद अनुगमन कार्यालयमा सचिव छन्।

रेग्मीले पूरा कार्यकाल काम गरे (कार्तिक ६ गते सम्म) चन्द्रकुमार घिमिरे, विश्वनाथ ओली र मधुसुधन अधिकारीमध्ये एकजनाले मुख्यसचिव हुने अवसर पाउनेछन्। घिमिरे उद्योग, वाणिज्य तथा आपूर्ति, ओली वन र अधिकारी सहरी विकास मन्त्रालयमा कार्यरत छन्। घिमिरे २०७२ माघ ८, ओली २०७३ वैशाख ७ र अधिकारी २०७३ वैशाख २४ मा सचिवमा बढुवा भएका हुन्।  घिमिरेले आगामी माघ ८, ओलीले २०७८ वैशाख ७ र अधिकारीले २०७८ वैशाख २४ मा पाँच वर्षे कार्यकाल पूरा गरी अनिवार्य अवकाश पाउनेछन्। यी तीनजनामा जेष्ठताको हिसाबबाट घिमिरे पहिलो नम्बरमा छन् तर निजामती सेवा ऐन, २०४९ मा मुख्यसचिव पदमा सरकारले बहालवाला सचिवमध्येबाट ज्येष्ठता र कार्यकुशलताका आधारमा छनोट गरी बढुवा गर्ने व्यवस्था छ।

सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ ले प्रधानमन्त्रीको सुपरीवेक्षण तथा निर्देशनको अधीनमा रही प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रशासकीय प्रमुखका रूपमा कार्यसम्पादन गर्ने वा गराउने अधिकार र जिम्मेवारी मुख्यसचिवलाई दिएको छ।

अहिले  मुख्यसचिव रेग्मीलाई रिक्त  राजदुत वा अन्य  कुनै महत्वपूर्ण ठाउँमा राजनीतिक नियुक्ति दिलाएर पूरा कार्यकाल सकिनुभन्दा १५ दिनअघि नै पदबाट राजीनामा गराएर पद रिक्त गर्नका लागि एउटा पक्ष लागेकाे छ भने   अर्को पक्ष उनले पूरै कार्यकाल बिताएर अवकाश लिनुपर्ने लबिङमा छ।

लोकदर्शन रेग्मीले १५ दिनअघि पदबाट राजीनामा गरे शंकरदास बैरागी, केदारबहादुर अधिकारी र मोहनकृष्ण सापकोटामध्ये एकलाई मुख्यसचिव बन्ने ढोका खुल्नेछ भने पूरै कार्यकाल काम गरे चन्द्रकुमार घिमिरे, विश्वनाथ ओली र मधुसुधन अधिकारीमध्ये एक सो पदमा पुग्नेछन्। तसर्थ भाबि मुख्यसचिब काे भन्रे कुरा रेग्मिले लिने निर्णयमा भर पर्छ।

 

 

 

Loading spinner