धर्म र यसको पालना

khabarwave
१६ भाद्र २०७८

धर्म भन्ने शब्द संस्कृत भाषाको धृ धातुबाट बनेको रहेछ। यसको अर्थ धारण गर्नु अर्थात लिनु हो।अर्थात लोक वा परलोकको सुख शान्तिका लागि पवित्र भावना तथा कार्य गर्नुलाई धर्म मानिने कुरा यो धृ धातुले अर्थ्याउने रहेछ। यसै गरी मनुस्मृतिको ६/९ मा धर्मको बारेमा उल्लेखित श्लोक यस्तो पाईन्छ। “ धृति:क्षमा दमोऽस्तेयं शोचं ईन्द्रिय निग्रह: धीर्विद्या सत्यं क्रोधो दशकं धर्म लक्षणं” धर्मका दशवटा विशेषता हुन्छन् भनिएको छ।ती दशवटा विशेषता विनाको कार्यलाई धर्म मानिएको छैन।

ती दशवटा विशेषता हुन्:- (१) धैर्य (२) क्षमा ( अपकार गर्नेहरू उपर समेत क्षमादान ) (३) मनको नियन्त्रण (४) ईन्द्रियको नियन्त्रण (५) चोरी नगर्नु (६) बुद्धी (७) बिद्या (८) सत्य (९) रीस नगर्नु (१०) शौच ( भित्री र बाहिरी पवित्रता) पूर्वीय दर्शनका पक्षपाती हामी नेपालीहरूमा यस्ता धार्मिक ब्यबहारहरूले संस्कारको रूप लिनु पर्ने हो। तर हामीमा यस्ता बानी बेहोराहरू एका देशको कथा बन्न पुगेका छन्। प्रकृतिले आफ्नो धर्म पालना गरेको छ र प्राकृतिक रूपले रहेका प्राणीहरूले पनि आफ्नो धर्म निर्वाह गरेको पाईन्छ तर हामी मानव जातीहरूले क्रमश: हाम्रो धर्म बिर्सदै गएका छौ।

आज विश्वमा जे जति अशान्ति र उच्छृंखलताका घटनाहरू भै रहेका छन् ती सबै मानव मात्रले धर्म निर्वाह नगरेका कारणले भै रहेका छन्। जुनसुकै मानवीय ब्यबहारहरूमा धार्मिक भावना जोडिएको छैन भने त्यसले सकारात्मक नतिजा दिदैन। उदाहरणका लागि राजनीतिलाई लिन सकिन्छ।राजनीतिको धर्म के हो? नागरिक र देशको सेवा राजनीतिको धर्म हो तर नेपालको राजनीतिले यो धर्म निर्वाह गरेको छ कि छैन? पक्कै छैन। नेपालको राजनीतिमा अपराधी, गुण्डा, सामन्ती, तस्कर आदिको गन्ध आएको पाईन्छ। हाम्रा दर्शनले देखाएका कुनै पनि विशेषताले नेपालको राजनीतिमा स्थान पाउन सकेको छैन।

देशको मूल नीतिको हालत यस्तो छ भने हाम्रा शिक्षा नीति, स्वास्थ्य नीति, हाम्रो विदेश नीति, अर्थ नीतिमा धर्मको अंश कति होला सहजै अनुमान गर्न सकिन्छ। हामीले धर्म र धार्मिक कार्यलाई ज्यादै सांघुरो अर्थमा बुझ्ने गरेका छौ। धर्मलाई मन्दिर,पूजा, अक्षता, दक्षिणा, कर्मकाण्डमा सीमित गरेर बुझ्यौ भने हाम्रो सांस्कारिक भूमिकालाई नबुझेको ठहर्छ। हामीमा भएका धार्मिक भावनालाई ईश्वर समक्ष पुर्याउन गरिने धार्मिक कार्यलाई अन्यथा भन्न खोजिएको हैन तर हाम्रा हरेक कृयाकलापमा उल्लिखित विशेषताहरू समावेश हुनु जरूरी छ, अन्यथा यस्ता कृयाकलापले गन्तब्यमा पुर्याउदैनन्।हामीले बुझेर गरेका हरेक कार्यमा धर्म हुनु जरूरी हुन्छ।

हामीले जे काम गर्छौ ती धारणा गर्न योग्य हुनु पर्यो, बैयक्तित स्वार्थ गासिएको हुनु भएन, शुद्ध मनले गरिएको हुनु पर्यो। जसरी पानी ओरालोमा बहनु पानीको धर्म हो, आगोको धर्म तातोपन दिनु हो, पंखाको धर्म शितलता दिनु हो त्यसरी नै मानवले परोपकार गर्नु, लोभ नगर्नु, ईन्द्रियलाई नियन्त्रणमा लिएर काम गर्नु उसको धर्म हो। सरकार र जनताको बीचमा रहेर काम गर्ने निकाय वा पदाधिकारी झनै यस विषयमा बढी जिम्मेवार हुन जरूरी छ। किनभने राजनीतिका अबधारणालाई मूर्त रूप दिन खडा भएको सरकारले आफ्ना मतदाताहरू वा सेवाग्राही समक्ष पुर्याउने सेवा प्रदान गर्न आफ्ना प्रतिनिधि स्थानीय तहमा खटाएको हुन्छ।

यसरी खटिने प्रतिनिधिले सेवा प्रवाहमा धर्म निर्वाह गर्न सकेन भने सही रूपमा जनता लाभान्वित हुन पाउदैनन्।सेवाग्राहीका रूपमा रहेका जनतालाई हैरानी दिने, अपारदर्शी रूपमा काम गर्ने गरियो भने यो सेवा प्रदायकको धर्म भित्र पर्दैन।अत: राज्यका प्रतिनिधि सरकार र सरकारका प्रतिनिधि निजामती कर्मचारीहरूले आ-आफ्नो काम गराईमा धर्म निर्वाह गर्न सक्नु पर्छ। न्याय माग्दा न्याय पाईएन भने ,उपचार माग्दा उपचार पाईएन भने देशमा असन्तुष्ठी उत्पन्न हुन जान्छ जसको परिणाम अशान्ति र अराजकता हुन्छ। त्यसैले धर्मको महत्व जुनसुकै समय र स्थानमा हुने गर्छ। यस कारण राज्यले प्रदान गर्ने शिक्षा आधुनिक र वैज्ञानिकका साथै नैतिक र सांस्कारिक पनि हुनु जरूरी छ। देशका भावि कर्णाधारलाई यस किसिमबाट दीक्षीत र शिक्षित गर्न राज्य चुक्यो भने यसले भविष्यमा पार्न सक्ने क्षति अपूरणीय हुन सक्छ।

Loading spinner