दह्रो मियोको अपेक्षा
हाम्रो जस्तो कृषि प्रधान देशमा हरेक किसानले दाई हाल्ने क्रममा दह्रो र बलियो मियोको खोजी गर्छ। मियो भनेको अग्लो र बलियो काठ हो जसको वरपर दुई हार सम्मका गोरूहरू नारिन सक्छन्।मियो दह्रो भएमा जति हल गोरू नारे पनि मियोले धान्छ र दाईं सफल हुन्छ। यहां मियोलाई राजनेताको प्रतिकात्मक संकेतका रूपमा हेरिएको छ। देशका राजनीतिक दलहरूले हाल महाधिवेशनका क्रममा यस्तै राजनीतिक मियोको छनौट गरीरहेका छन्।
यही क्रममा नेपाली कांग्रेस अगाडि बढ्दै छ। यो पार्टीको महाधिवेशनको उद्घाटनमा शुभकामना दिने क्रममा सबै नेता र विदेशी पाहुनाको चाहना थियो कि महाधिवेशनले बलियो र सक्षम नेत्तृत्त्व दिन सकोस्। नेपाली कांग्रेस एक प्रजातान्त्रिक र लोकतान्त्रिक ईतिहांस बोकेर आएको पार्टी भएको र नेपालको राजनीतिक संकटको बेला सदैव नेत्तृत्त्व लिएको पार्टी भएको नाताले यो पार्टीको नेत्तृत्त्व संग देश विदेश सबै तिरबाट सकारात्मक भूमिकको अपेक्षा गरेको पाईन्छ। यसरी आजबाट शुरू भएको नेकाको महाधिवेशन तिर सबैको आखा परेको छ। मन्चबाट पार्टीलाई शुभकामना दिने क्रममा विदेशी पाहुनाले विभिन्न कुराका अतिरिक्त मन्चमा भूपू प्रधामन्त्रीको संख्या धेरै देखियो भन्नुको अर्थ नेपालका सरकारहरू अस्थीर भएको रूपमा चित्रित गरेको छ।
हुन पनि हाम्रो तीन दशकको राजनीतिक ईतिहांस हेर्दा पूरा अवधि एउटै सरकार चलेको पाईदैन। यसरी सरकार अस्थीर हुनु राम्रो संकेत हैन। त्यसै गरी प्रतिपक्ष दलका नेताले त वर्तमान सरकारलाई सरकारको रूप नै दिएको देखिएन। किनभने संवोधनका क्रममा उद्घाटन समारोहको सभापतित्व गरिरहेका प्रधानमन्त्री एवं पार्टी सभापतिलाई प्रधानमन्त्री सम्म भन्न नसकेर भूपू प्रमं भनेर संवोधन गरिनुले प्रतिपक्षीले कानूनी शासनलाई उपहास गरेको रूपमा बुझ्न सकिन्छ। त्यसै गरी संबोधनको क्रममा केही नेताले त यति सम्म भन्न भ्याए कि वर्तमान शासन ब्यबस्था नै परिवर्तन गरी राजतन्त्रात्मक शासन ल्याउनु पर्छ भनेर।
यसरी यति छिटै वर्तमान ब्यबस्थाको बिरूद्धमा आबाज सुनिनु र त्यो आवाज पनि अन्यत्र नभएर एउटा लोकतान्त्रिक पार्टीको महाधिवेशनको पूर्व सन्ध्यामा महाधिवेशनको मन्चबाटै आउनु कदापि सुखद मान्न सकिदैन।यसरी निस्कने आवाजलाई पूर्वाग्रह भनेर मात्र उम्किन भने मिल्दैन। किनभने लोकतन्त्र आएको दुई दशक हुन लाग्दा पनि यसको प्रतिफल जनतामा कति पुग्न सक्यो भन्दा यसको सन्तोषजनक उत्तर दिन सकिने अवस्था छैन। यस्तो परिस्थितिमा हुन गै रहेको यो अधिवेशनले यसको जवाफका अतिरिक्त लोकतन्त्रमय र प्रजातन्त्रमय भएको विश्वमा सकारात्मक सन्देश प्रवाह गर्न सक्छ कि सक्दैन, आफ्नै पार्टीको आन्तरिक जीवनमा लोकतन्त्र सन्चार गर्न सक्छ कि सक्दैन, देश भित्र समेत लोक तन्त्रलाई डोर्याउन वा नेत्तृत्त्व प्रदान गर्न सक्छ कि सक्दैन भन्ने कुराको आधारमा यसको मूल्यांकन गर्नु पर्ने हुन्छ।त्यसैले यो अधिवेशनबाट छानिने पार्टीको मियो वा नेत्तृत्त्व पनि पार्टीका यस्ता भूमिका सम्हाल्न सक्षम हुने अपेक्षा गरिन्छ।
यस पटक भै रहेको नेपाली कांग्रेसको महाधिवेशन हुनको लागि मात्र भै रहेको छैन। विगत दुई दशक यता नेपाली कांग्रेस उपर आफ्नो पार्टी भन्दा राज्य ब्यबस्थाको सुधार र अन्य पार्टीमा देखापरेका विचलनहरूलाई सम्हाल्दै समय वित्यो । यसले गर्दा आफू भित्र जमेका फोहरहरू सफा गर्न सकेन वा पाएन। वितेको दशकमा पार्टीको आन्तरिक लोकतन्त्र कमजोर भयो, पार्टी भित्र यूवाहरूको सन्चार सहज हुन पाएन, विद्यमान नेत्तृत्त्व ढावामा गाढेको किला जस्तो लल्यांग लुलुंग भयो। यसको परिणाम सुखद हुन सकेन। संसदमा दर्हो उपस्थिति त के सवल प्रतिपक्ष समेत हुन सकेन। यही मौकामा कम्युनिष्टहरूको नक्कली मिलनले अधिनायकवादको वीजारोपण गर्न खोज्यो। यस्तो परिस्थिति सृजना हुनका पछाडि नेपाली कांग्रेसको नेत्तृत्त्वले आफ्नो भूमिकालाई पन्छाउने वा नकार्न मिल्ने देखिदैन।
नेपाली कांग्रेसको नेत्तृत्त्वमा देखिएको कमजोरीले पार्टीको आन्तरिक जीवनलाई मात्र असर पार्ने हैन कि यसका कारण मुलुकको कानूनी शासन, नागरिक हक र अधिकार तथा समस्त लोकतन्त्रका मूल्य र मान्यतामा अशर पारेको छ। यसैले महाधिवेशनका यस्ता पर्वहरूमा बिभिन्न सुधारका कामहरू गर्नु पर्ने हुन्छ। केहीगरी महाधिवेशनको यो घडीलाई शतप्रतिशत उपयोग गर्न समस्त महाधिवेशन प्रतिनिधिहरू चुके भने यसको मूल्य सार्है महंगो हुनेछ। विगत केही वर्ष यता लोकतान्त्रिक फांटमा देखिएको कमी कमजोरीलाई उपयोग गर्दै प्रतिगमनका स्वरहरू नेका को महाधिवेशनकै मन्चमा झिनो रूपमा भए पनि सुनिन पुगे। यदि विगतका गल्तीहरूमा सुधार गरिएन भने यस्ता स्वरहरूको आकार नबढ्ला भन्न सकिदैन। त्यसैले यो महाधिवेशनका प्रतिनिधिहरूले दह्रो मियो गाढेर मुलुक र मुलुकवासीलाई ढुक्क बनाउने अपेक्षा गरिएको छ।