तेश्रो लिंगी र यिनीहरूको पींडा
प्रकृतिले मानवको सृष्टिमा कहिलेकाही असाधारण ब्यबहार देखाउदो रहेछ। सामान्यत: पुलिंग र स्त्री लिॅग गरी दुई किसिमका लिंगीय प्राणीलाई समाजले सहज रूपमा स्वीकारेको छ तर तेश्रो लिंगीहरूहरूलाई समाजले हेयको दृष्टिले हेरेको पाईन्छ र तेश्रो लिंगीहरू पनि सो पहिचानलाई गोप्य नै राख्न रूचाउछन्। यस विषयमा मेरो कर्तब्य निर्वाहको सिलसिलामा घटनालाई यहाॅं प्रस्तुत गर्न उपयोगी ठानेको छु। (तर गोपनीयताका कारण जिल्ला र ब्यक्तिको बिबरण उल्लेख गरिएको छैन।)
महिलाको परम्परागत पोशाकमा एक जना ब्यक्ति नागरिकता लिन आएर नागरिकता फाॅंटमा गए, उनी संग नागरिकताको प्रमाणपत्र लिन आवश्यक पर्ने सम्पूर्ण कागजातहरू थिए, नागरिकताको कार्ड बनेर सही गर्न मेरो टेबुलमा आयो, सामान्यतया: शंकास्पद केस र छुट नागरिकता मात्र म समक्ष पेश हुने ब्यबस्था थियो।
सोही बमोजिम सोधीखोजी गर्दा सोधिएका बिबरण मिलेकै थिए तर प्रश्नका उत्तर दिदा अनुहार लुकाउने, अनुहार रातो पार्ने जस्तो ब्यबहार देखे पछि मैले निजले ओडेको बर्को खोल्न भने तर उनले ईन्कार गरे पछि महिला कर्मचारीको सहयोगमा बर्को खोली हेर्दा अनुहारमा दार्ही जुंगा र पाखुरामा समेत रौं देखे पछि म हच्कें , किन कि महिलाको पेशाकमा पुरूष देखिएपछि लिंगको पहिचान पछि मात्र नागरिकता दिने निधो गरी लिंग परीक्षण गर्न जिल्ला अस्पतालमा पठाएको मा डाक्टरले निज पुरूष भएको जानकारी दिए।
उनले किन महिला भएर नागरिकता लिन खोजेको भनेर सोद्धा उनी शरीरबाट पुरूष भए पनि भावनाबाट महिला संग नजिक लाग्ने भएकोले स्त्री लिंग राखी नागरिकता लिन चाहेको भनेर बताए तर त्यो बेला सम्म नेपाली नागरिकता विवरणमा लिंगमा अन्य लेखेर नागरिकता दिने ब्यबस्था नभएकोले मैले निवेदकको माग बमोजिम नागरिकता दिन नमिल्ने र उनलाई स्त्री लिंग उल्लेख भएको नागरिकता प्रमाणपत्र चाहिने हुदा केही समय पछि आउनु भनी उनलाई पठाएर यो समस्याका बारेमा तालुक मन्त्रालयमा लेखी पठाए।
वास्तवमा सांसदहरू जसका मत पाएर कानून बनाउने ठाउमा पुगे त्यतिबेला सम्म तेश्रो लिंगीले आफ्नो पहिचान देखाएर सरकारी दस्तावेज बनाउन सक्ने अबस्था नहुदा ती र त्यस्ता ब्यक्ति नागरिकता पाउनु पर्ने संबैधानिक हकबाट बन्चित हुनुपर्ने अवस्था आयो जुन एक पींडा हो। त्यसै गरी हाम्रो समाजले तेश्रो लिंगीहरूलाई हेर्ने दृष्टिकोण सकारात्मक छैन।
उनीहरू एक आपसमा मिलेर बस्ने, बिहाबारी गर्ने बाताबरण पनि छैन। रोजगारीका क्षेत्र समेत यिनीहरूका लागि सुरक्षित नहुदा बेरोजगारी बढेकोले यस्ता युवाहरू कूलतमा फसेका उदाहरण प्रसस्तै पाउन सकिन्छ। सार्वजनिक स्थलहरूमा यिनीहरूका लागि छुट्टै शौचालयको ब्यबस्था समेत छैन। यिनीहरूको पठनपाठनमा समेत समाज सकारात्मक छैन।
जब सम्म यो पहिचानलाई समाजमा लुकाउने छिपाउने अबस्था रहन्छ तव सम्म यिनीहरूको हक हित कुण्ठित हुने स्थिति रहन्छ।फेरि समस्या कहाॅं नेर छ भने अन्य लिंगको तुलनामा केही तेश्रो लिंगीहरूको पहिचानमा समय लागेको पनि अनुभव छ। त्यसैले सम्बन्धित ब्यक्तिमा पनि हिनताबोध हुने गर्छ। यो समस्यालाई सार्वजनिक गर्न प्रोत्सान गरी यिनीहरूको पहिचान समय मै गर्न र हुन सक्ने वातावरण मिलाउन घर परिवार र समाज अग्रसर हुनु पर्छ।
अमेरिकामा यस्ता ब्यक्तिहरू विना कुनै संकोच सार्वजनिक स्थानमा उपस्थित हुने, काम गर्ने वातावरण बनेको छ। यिनीहरूको आवाज चुनावी नारा हुने गरेको छ। यिनीहरूले प्रयोग गर्ने पोशाक अलग छ। यिनीहरू बीच बैबाहिक सम्बन्ध कायम हुन सक्छ। सन्तानोत्पादनलाई अनिवार्य नगरिने समाजमा तेश्रो लिंगी बीचको बिबाहलाई सहज मानिन्छ। प्रचारमा नआएको विषय भए पनि वास्तविकतालाई नकार्न मिल्दैन । त्यसैले नेपालले पनि गैर सरकारी संस्थाको रूपमा स्थापित नील हिरा समाजलाई थप कृयाशील पारी तेश्रो लिंगी ब्यक्तिको मनोवल उठाउने किसिमका कार्यक्रम संचालन गरी उनीहरूले भोगेका समस्याहरू समाधान गर्नु पर्छ।