तमु ल्होछार (ल्होसार) र भाषा हस्तान्तरणकाे समस्या

khabarwave
१४ पुष २०७७

नयाॅं वर्षको दिन हरेक देश, समाज, समूहको लागि एउटा पर्वको दिन हो ।नेपाल भौगोलिक रूपमा सानै भए पनि जात ,जाती, संस्कार र संस्कृतिमा ठूलो छ। यी बिभिन्न जातजाती मध्ये नेपालको आदिवासी जनजाती तमु (गुरुङ) जाती एक महत्वपूर्ण संस्कार र पुरानो ईतिहाॅंस तथा पुरानो कला र संस्कृति भएको जाती हो।

यसैले तमु जातीलाई कला र संस्कृतिको पर्याय पनि भन्न सकिन्छ। यहाॅं उल्लेख गर्न खोजिएको ल्हो छार अर्थात नयाॅं वर्ष गुरुङ जाती द्वारा मनाईने एक महत्वपूर्ण पर्व हो। यो नयाॅं वर्ष चिनीया पात्रो अनुसार मानिने हुदा भारतीय पात्रो संग भिन्न हुन्छ।गुरुङ भाषामा ल्हो भनेको वर्ग वा वर्ष हो र छार भनेको नयाॅं भनिएको हो।

ल्हो छार लाई काही काही ल्होसार पनि भनिन्छ। यो जातीमा उमेरको गणना गर्दा वर्गलाई आधार मानिन्छ। गुरुङका पुरोहित (घ्याब्रे) हरूद्वारा यही वर्गलाई आधार मानेर गुरुङका संस्कारजन्य कामहरू गरिन्छन्। गुरुङहरू द्वारा नयाॅं वर्षका रूपमा हरेक पुष महिनाको १५ गतेलाई मानिन्छ। पुष महिना को १५ गतेलाई वर्ष भरीको लामो रात र छोटो दिन भएको अवधी मानिने हुदा यसलाई नयाॅं वर्ष को पहिलो दिन मानिन्छ ।यो दिन पुरानो वर्गलाई विदाइ गरी नयाॅं वर्गको स्वागत गरिन्छ।

गुरुङ पुरोहितबाट आशिर्वचन उच्चारण संगै स्वस्ति शान्तिको कामना गरिन्छ र प्रसाद बाडिन्छ । दिउस स्यू कें को रूपमा भोज गरिन्छ र आफ्नो कला र संस्कृति प्रदर्शन गरेर रमाईलो गरिन्छ । यस वर्ष च्यू ल्हो को विदाइ गरी लोंग ल्हो को स्वागत गरिन्छ तर यस वर्ष विश्वभर फैलिएको कोरोनाको प्रकोपले यस पटकको ल्होसार पर्वलाई पक्कै सीमित गराउने छ । गुरुङजातीको पात्रो अनुसार यस्ता वर्गहरु १२ वटा हुन्छन् र हरेक १२ वर्षमा यी वर्गहरू दोहोरिएर देखा पर्छन् ।

यी वर्गहरू निम्न बमोजिम छन्। (१) च्यू ल्हो (मुसा वर्ग) (२)लोंग ल्हो (गाई वर्ग) (३)तो ल्हो (वाघ वर्ग) (४)ह्योई ल्हो (खरायो/बिरालो वर्ग) (५)प्ह्रु ल्हो (गोरू वर्ग) (६) प्ह्री ल्हो (सर्प वर्ग) (७)त ल्हो (घोडा वर्ग) (८) ल्हु ल्हो (भेडा वर्ग) (९) प्र ल्हो ( वाॅंदर वर्ग) (१०) च्ह्य ल्हो (चरा वर्ग) (११)खी ल्हो (कुकुर वर्ग) (१२) फो ल्हो (मृग/ बॅंदेल) गुरुङ समुदाय आफैमा संस्कृतिको पर्याय हो।यो समुदायको ओझेलमा मुस्किलले मात्र छायाॅंमा पर्छन् नेपालमा मानिने चाडपर्वहरू।

यो समुदाय हरेक पर्वमा रमाउन जानेको छ। यिनीहरूको नाचगान, खानपान, वेशभूषा आदिले बिभिन्न पर्वहरू छुट्टा छुट्टै संबोधन गर्न सक्ने ल्याकत राख्छ।झनै वर्षको शुरूवातको पर्व ल्होसारलाई त वर्ष भरीका पर्वको प्रतिनिधीको रूपमा देश भित्र मात्र हैन विदेशमा समेत ठूलो महत्वका साथ मानिन्छ।

शुरूका दिनहरूमा यस पर्वलाई स्यू कें वा वनभोज खाने पर्वको रूपमा मानिन्थ्यो र पछिका दिनहरूमा नयाॅं पुस्ताको रूचीलाई संबोधन गर्दै यसको दायरा र गुणस्तरमा क्रमश: फराकिलोपन देखाउदै आएको पाईन्छ। वास्तवमा तमु भाषाको आफ्नै लिपी नहुदा यो भाषामा प्रकाशित पुस्तकहरूको अभाव छ। यति मात्र हैन यो भाषाको लिखित ग्रन्थ नहुदा बोलीचाली कै माध्यमबाट भावि पुस्तामा भाषा हस्तान्तरण गर्न वाध्य हुनु परेको छ।

यसको अशर बिभिन्न स्थानमा बोलिने तमु भाषामा एकरूपता समेत भएको पाईदैन। त्यसै गरी बिभिन्न क्षेत्रमा छरिएर रहेका तमुहरूमा यो भाषा हराउदै गएको छ। भविष्यमा यो भाषा लोप हुने सम्भावना हुदा तमुहरूको पहिचान नै संकटमा नपर्ला भन्न सकिदैन। यसैले तमुहरू आफै यो विषयमा अग्रसर भएर राज्यको सहयोगमा तमु भाषालाई पुनर्जीवन दिन अगाडि बढ्नु पर्ने देखिन्छ।

गुरुङ जातीको आफ्नै भाषा, आफ्नै वेशभूषा, आफनै संस्कृति र आफ्नै संस्कार हुनाले यिनीहरू मनाउने पर्व खाशगरी ल्होसारमा यी सबै विशेषताहरू पस्किएर आफूलाई पर्वमय बनाउछन्। नेपालको एउटा गौरवमय जातीको पर्वले राष्ट्रिय मान्यता पाउन सकोस् भनेर यिनीहरूले उठाएको आवाजलाई सरकारले सुनेको पाईदैन । यो जातीको घनत्व गण्डकी प्रदेशमा भए पनि यिनीहरू नेपालका जुन सुकै जिल्लामा पनि पुगेका छन्।

यति मात्र हैन यिनीहरु विश्वका हरेक देशमा पुगेर आफ्नो पहिचान दिएका छन्। त्यसैले गुरुङ जातीको यो महत्वपूर्ण पर्व ल्होसारले हाल सम्म जातीय रूपमा मात्र पाएको मान्यतालाई राष्ट्रिय रूप प्राप्त हुन सकोस र यो दिन नेपाल र विदेश स्थित कूटनीतिक नियोगहरूमा समेत सार्वजनिक विदा होस् भन्ने माग तमु जातीहरूको रहेको छ। जातीय रूपमा राज्य दिन आंटेको सरकारले यो पर्वमा सार्वजनिक विदा दिएर तमु जातीको शिर अझै उचो बनाउने अपेक्षा गरिन्छ। ल्होसारको अवसरमा समस्त तमु दिदी बहिनी दाजु भाइहरूमा मंगलमय शुभकामना।

Loading spinner