यसरी मनाइन्छ छठ पर्ब

khabarwave
३ मंसिर २०७७

 काठमाडौं । आजबाट छठ पर्व सुरु भएको छ । छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, सन्तान सुख हुने र रोगव्याध नलाग्ने जनविश्वास छ । खासमा चर्मरोग सूर्यको उपासनाले निको हुने विश्वास गरिन्छ ।छठ पर्वकाे  पहिलो दिन ब्रतालुले ‘नहाय–खाय’ विधि सम्पन्न गर्नेछन् । पहिलो दिन ब्रतालुले हातगोडाका नङ काटेर स्नान गर्दै चोखोनितो खाएर व्रत संकल्प गर्दछन् ।

त्यसैगरी दोस्रो दिन पञ्चमी तिथिका दिन दिनभरि निराहार व्रत उपासना गरेर राति सक्खर हालेर पकाइएको अरवा चामलको खिरमात्र इष्टदेवलाई चढाएर परिवारजनसहित प्रसादस्वरुप खाने गर्छन् । दोस्रो दिनको यो विधिलाई मिथिलामा ‘खरना’ भनिन्छ ।

पर्वको मुख्य दिन षष्ठी तिथिका दिन निराहार व्रत बसेर साँझपख पवित्र जलाशयमा बनाइएको घाटमा स्नान गर्दै सूर्यदेवलाई अर्घ दिइन्छ । यसक्रममा ठकुवा, भुसुवा (कसार), अन्य मिष्ठान्न परिकार, केरा, दहीसहितका सामग्री सूर्यलाई देखाइन्छ । यो विधिलाई ‘सझुका अरख’ भनिन्छ ।

षष्ठीको रात सूर्यदेव र षष्ठीमाता (सूर्यदेवकी पत्नी) को आराधना गर्दै घाटमै रात बिताउने चलन छ । पर्वको अन्तिम अर्थात् सप्तमी तिथिका दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व विधिवत सम्पन्न गरिन्छ । मिथिलामा अन्तिम दिनको विधिलाई ‘भोरका अरख’ वा ‘पारन’ भनिन्छ ।

पर्व सम्पन्न भएसँगै ब्रतालुले घर फर्केर (घाट जानेहरु) ब्राह्मण, गरिब, आशामुखीलाई अन्नदान गरी भोजन गर्दछन् । यससँगै छठपर्वको प्रसाद खाने खुवाउने क्रम शुरु हुन्छ ।

पछिल्ला केही दशकयता आपसी घुलमिलले छठपर्व पहाडी मूलका हिन्दू मात्र नभएर भाकलका रुपमा फरक धर्म संस्कृतिका जाति समुदायले पनि मनाउन थालेपछि यो पर्व मिथिलाको साझा पर्वको रुपमा विकास हुँदैछ । कोभिड–१९ संक्रमणको जोखिमले धेरैजसो ब्रतालुले घरआँगनमै व्रत विधि सम्पन्न गर्न सरकारले अनुराेध गरेकाे छ  ।

Loading spinner