
चिनी उद्योगीप्रति सरकार थप कडा बन्दै,उखुको मुल्य भुक्तानी गरेको विवरण पेश गर्न २४ घण्टाकाे अल्टिमेटम,मंगलबार निर्णायक छलफल
काठमाडौं । उखु किसानकाे उखुको मुल्य भुक्तानीका बारेमा सरकार थप कडा बन्दैछ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले किसानलाई उखुको मुल्य भुक्तानी गरेको विवरण पेश गर्न चिनी उद्योगीलाई भोलिसम्मको समय दिएका छन् । मंगलबार विहान ११ बजे उद्योग मन्त्रालयले आयोजना गर्ने छलफलमा कृषिमन्त्री र गृहमन्त्री पनि सहभागी हुने भएका छन् ।
आन्दोलनरत किसानसँग गर्ने भनिएको वार्ता हुन नसकेपछि उद्योगीसँग वार्ता भएको र मंगलबार पुनः वार्ताका लागि आन्दोलनरत किसानलाई बोलाइएको मन्त्रालयले जानकारी दिएकाे छ ।उद्योग मन्त्रालयले गरेको छलफलमा अन्नपूर्ण र इन्दिरा सुगर मिलका सञ्चालक राकेश अग्रवाल र श्रीराम सुगर मिलका सञ्चालक विशाल अग्रवाल सहभागी थिए । राकेशको दुई मिलको २२ करोड र विशालको मिलको २७ करोड रुपैयाँ वक्यौता छ ।विशाल अग्रवालले भने सरकारी कानुनकै कारण भुक्तानी गर्न नसकिएको दाबी गरेका थिए । उद्योगको जग्गा बिक्री गरेर किसानको पैसा तिर्न मन्त्रालयमा गत वर्ष नै निवेदन दिए पनि प्रक्रिया जहाँको त्यही रहेको उनको जवाफ थियो ।उखुको भुक्तानी नपाएका सर्लाहीका किसानले काठमाडौंमा प्रदर्शन थालेको दोस्रो दिन सोमबार मन्त्रालयमा उद्योगीसँगको छलफलमा मन्त्री भट्टले यस्तो निर्देशन दिएका हुन ।