कोरोना संक्रमितको संख्या बढ्न सक्ने भन्दै स्वास्थ्य मन्त्रालयले अघि बढायाे नयाँ रणनीति

khabarwave
१८ चैत्र २०७७

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको संख्या बढ्न सक्ने भन्दै उपचारका लागि तयारी अवस्थामा राख्न अस्पतालहरुलाई आग्रह गरेको छ ।

मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टम (आईसीएस) को बैठकले तीनै तहका अस्पतालमा कोरोना संक्रमितको उपचार व्यवस्थापन गर्ने निर्णय गरेको हाे । त्यसका लागि ती अस्पतालहरुलाई तयारी अवस्थामा रहन मन्त्रालयले निर्देशन दिएको छ ।त्यस्तै कोरोना संक्रमण परीक्षण गर्ने निजी र सरकारी गरी सबै ८४ प्रयोगशालालाई पनि तयारी अवस्थामा राख्ने निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । २०० भन्दा बढी शय्या भएको अस्पतालमा अक्सिजन रिफिलिङ ट्यांक स्थापना गर्न सहयोग गर्ने पनि प्रवक्ता गौतमले बताए ।मन्त्रालयले सरकारी प्रयोगशालालाई थप जनशक्ति आवश्यक पर्ने भएमा रकम माग गर्न पनि आग्रह गरेको छ । सरकारी अस्पतालमा २००० वटा एचडीयू बेड स्थापना गर्ने निर्णयसमेत गरेको छ ।

यसैबीच सरकारले चीनबाट ल्याएको खोप ४० देखि ५९ वर्षसम्मका नागरिकलाई दिने तयारी गरेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार चिनियाँ खोप पूर्वाधारका लागि उपयुक्त अस्पतालबाट ४० देखि ५९ वर्ष उमेरका नागरिकलाई दिने तयारी छ ।

 

 

Loading spinner