
कोभिड-१९ का घरवेटी र म
विगत ४ वर्ष देखि उनी मेरा घरवेटी हुन्। म ५ जनाको परिवार सहित भएकोले सिंगै फ्ल्याटको खोजीमा थिएं। यहाॅं फ्ल्याट नपाईएको पनि हैन तर काहीं पानीको समस्या, काहीं सार्वजनिक यातायातको समस्या, काहीं पार्किंगको समस्या, काहीं लोकेशनको समस्याले गर्दा धेरै साथीभाई संग हार गुहार गरें, म आफै कति चाहरे कतै भने जस्तो फ्ल्याट पाईएको हैन। यसरी घुम्दै जादा एउटा घरमा फ्ल्याट भाडामा भएको सूचना टाॅंसिएको देखें। लोकेशन पनि मिल्ने, यातायातको सुविधा पनि भएको हुदा फोन गरेर बेलुका भेट्न गएं।
घरवेटी बिराटनगर तिरका रहेछन् र प्राय: उतै बस्ने, कान्छो छोराले घरको हेर बिचार गर्न त्यही बस्ने रहेछन्, मैले फोनमा कुरा गरेका उनै रहेछन्। तीन वटा फ्ल्याटको घर एउटामा घरवेटीका छोरा आफै, अर्कोमा कन्चनपुर तिर घर भएका विद्युतमा काम गर्ने कर्मचारी परिवार सहित बस्ने, सिरानको फ्ल्याट खाली रहेछ। घरमा वोरिंग जडान भएको रहेछ, पानीको समस्या भएन, वाई फाई फ्री रहेछ,तातो चीसो पानी सहितको बाथ रूम, किचन सबै राम्रो रहेछ।
घरवेटी जग्गाका दलाल रहेछन् कमाई राम्रै हुनाले घर सुविधा सम्पन्नै रहेछ, मलाई मन पर्यो। भाडामा कुरा मिले बस्ने विचार गरेर भाडा सोधेको त बत्ति र फोहरको आफैले तिर्ने गरी महिनाको २५ हजार भन्ने सुनियो। बार्गेनिंग गर्दा गर्दा २ हजार घटाउन सकें र ५ वर्षको सम्झौता गरेर फर्के। ४ वर्ष सम्म त राम्रै चल्दै गयो तर यो पाचौ वर्षको शुरू देखि कोरोनाले गर्दा मेरो आफ्नो ब्यबसाय चलेन, काम आउन छाड्यो, काम गर्नेहरू आ-आफ्नै घर तिर लागे। पेशाले म एक निर्माण ब्यबसायी हुं, थालेका प्रोजेक्टहरू पूरा गर्न नसक्दा भुक्तानी रेकियो। उल्टै मलाई कोरोना पोजेटिभ भएर भेन्टिलेटर मै बस्नु पर्यो। घरवेटीले पनि ताकेता गर्न थाले, यो अवस्था कति लम्बिने हो कुनै टुंगो छैन।
उता सरकारले एक महिनाको भाडा तिर्नु पर्दैन भनेर घरवेटीको तर्फबाट राहत घोषणा गर्यो तर आफूले सरकारबाट केही राहत पाएको हैन।अली अली जम्मा भएको रकम मेरै उपचार गर्दा सेनिटाईजर र मास्क किन्दा खर्च भयो, बिहान बेलुका खानु पर्यो, जहान परिवार पाल्नु पर्यो, घरबहाल तिर्ने रकम नहुदा घरबहाल खप्टिदै गयो।कोरोना शंकट आज सकिएला छैन भोली सकिएला छैन, सकिनु त परै राख झन् दिन दिनै संक्रमितको संख्या बढ्दै छ, मर्नेको संख्या बढ्दै छ। सरकार त म उपचार गर्न सक्दिन आफ्नै खर्चमा उपचार गर भन्छ।
यस्ता शंकटको बेलामा आफ्नो जिम्मेवारीबाट भाग्ने अवसरवादी सरकारलाई के वापत कर तिरेर पाल्ने हो? कता कता सुन्छु अहिले कोरोनाको समयमा काम छैन भनेर अमेरिका तिर त जनताको खाता खातामा पैसा हालिदिन्छ रे सरकारले तर हाम्रो हुतियारा सरकारले राहत दिनु त परैको कुरा सित्तैमा खाना ख्वाउनेहरूलाई पनि बेईज्जत हुन्छ भनेर लखेट्यो रे। हुदा हुदा घरभाडा महिनै पिच्छै खप्टिदै गएर झण्डै डेढ लाख हुन लाग्यो, अब त तिर्न पनि गार्हो गार्हो हुदै गयो। उता घरवेटीका पनि कति समस्या समाधानको श्रोत यही घरबाट उठेको भाडा होला,उनको पनि छोराको फी ,खाना खर्च, लुगा फाटो, घर बनाउदाको ऋण र सो को ब्याज समेत यही भाडाको रकमबाटै तिर्नु पर्ने होला।
म बाट घर भाडा रोकिदा यी सबै क्रमहरूको अबरूद्धता हुने कुरामा म अन्जान छैन तर के छ र मेरो पनि उपाय! मैले पनि आफ्नो ब्यबसाय सुचारू गर्न नपाएकै कारण भाडा तिर्न पाएको छैन। कता कता सुन्दै छु अमेरिका तिर कोरोना विरूद्धको खोप पत्ता लाग्यो रे, 2021 को शुरू देखि नै बजारमा आउछ रे, यसो भन्दा आशा पनि लाग्छ कतै मेरो ब्यबसाय पनि सुचारू हुन्छ कि?
नेपालमा आपद् विपदमा सरकारको भूमिका देखिनु पर्ने हो तर यस्तो अवस्थामा सरकार कुन दुलोमा लुकेर बसेको छ टर्च बालेर खोज्दा पनि भेटिने अवस्थामा छैन, कानमा तेल हालेर बसेको छ। सरकारले घर भाडा बाट उठ्ने रकममा घरवहाल कर लिएर घर धनी र डेरावालको हित हुने गरी नीति नियम बनाउन र बनेका नीति नियमको पालना र अनुगमन गर्न ढिला भै सकेको छ।