ईश्वरलाई मिल्ला त विद्रोहीको साथ ?

khabarwave
५ मंसिर २०८२

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशन मंसिर २७ गतेदेखि काठमाडौँमा हुँदैछ । कुनै तलबितल नभए यो महाधिवेशनमा केपी शर्मा ओली तेस्रो पटक अध्यक्षमा उठ्ने निश्चित छ । यस पटक उनलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चुनौती दिने तयारीमा छन् । अहिलेसम्मको दृश्य हेर्दा यो महाधिवेशनमा ओली र पोखरेलबीच प्रतिस्पर्धा हुने देखिन्छ । यस महाधिवेशनमा कुनै हालतमा खुट्टा नकमाउने, बरु एक्लिन तयार भएको पोखरेलले बताएका छन् । उनले एमाले सच्चिन र नेतृत्वलाई सच्याउन आफ्नो उम्मेदवारी हुने दाबी गरिरहेका बेला पोखरेलले टिम पनि तयार पारिरहेका छन् । टिमै बनाउने भन्ने प्रश्नमा पोखरेलले भने, साथीहरूसँग छलफल गरिरहेको छु । त्यसको तयारी भइरहेको छ, उहाँहरूले जे सल्लाह दिनुहुन्छ, त्यसैअनुसार अगाडि बढिन्छ । अहिले वरिष्ठ उपाध्यक्ष पोखरेलको समर्थनमा उपाध्यक्ष सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, विष्णु पौडेल, सचिवद्वय गोकर्ण विष्ट, योगेश भट्टराई देखिएका छन् । ओलीले नेतृत्व छोड्नुपर्ने आवाज उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उठाइसकेकी छन् । सुरेन्द्र पाण्डेको पनि आवाज त्यही छ । अष्टले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण गर्न नहुने मत राखेकी छन् । तर उनी ईश्वरलाई साथ दिन तयार छिन् । उनले नेतृत्वमा उठ्ने विषयमा पार्टीमा छलफल भइरहेको बताइन । उनी कुनै हालतमा ओलीले नेतृत्व छाड्नुपर्ने गरी दबाब दिइरहेको बताउँछिन् । अब त केपी कमरेडले रेस्ट गर्ने बेला भयो । उहाँ अभिभावक हुनुहुन्छ भन्ने लागेको छ, उनले अगाडि भनिन्, यदि मलाई पनि छाड्नु भनेर दबाब दिन्छ भने तयार हुनुपर्छ । उहाँलाई त नेतृत्व छाड्न दबाब छँदैछ ।

पूर्वराष्ट्रपति भण्डारीका समर्थक नेताहरू पोखरेलको प्यानलमा देखिने छन् । स्रोतका अनुसार नाटकीय परिवर्तन नभए भण्डारी पक्षका सबै नेताहरूले पोखरेललाई साथ दिने छन् । पूर्वराष्ट्रपतिलाई मन पराउने तर पोखरेललाई मन नपराउने नेताहरू पनि एक ठाउँ देखिन तयार छन् । अरू त कुनै विकल्पै भएन। हामीले पोखरेल कमरेडलाई साथ दिनैपर्ने अवस्था छ। यो महाधिवेशनबाट पूर्वराष्ट्रपतिलाई नेतृत्वमा ल्याउन खोजेका थियौँ, तर ओली कमरेडले रोक्दिनु भयो, एमालेका एक शीर्ष नेताले भने, बाँदरले आफ्नो घर पनि बनाउँदैन, अरुको पनि बनाउन दिँदैन, भनेजस्तै ओलीले एमाले भत्काउँदै जानुभयो ।
ती नेताले फरक ढङ्गले हामी प्रस्तुत नभएसम्म एमालेप्रति जनताको निराशा कम नहुने बताए । उपाध्यक्ष पाण्डे पनि यो पटक ओलीको विकल्प नखोजे एमाले ठूलो दुर्घटनामा पर्ने बताउँछन् । दुर्घटनाबाट बचाउन पनि सङ्घर्ष गर्नुपरेको उनको धारणा छ । अर्का उपाध्यक्ष विष्णु पौडेलले पनि ईश्वरलाई साथ दिने सम्भावना छ । पौडेललाई आफ्नो प्यानलमा ल्याउन पोखरेलले संवाद गरिरहेका छन् । सचिवहरू रघुवीर महासेठ, भट्टराई, विष्ट, लेखराज भट्टलगायत पनि पोखरेलसँग संवादमा छन् । यता , उपाध्यक्ष रामबहादुर थापा बादल, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, सचिवहरू छविलाल विश्वकर्मा र पद्मा अर्याल पनि खुलेर ओलीको टिममा लागिसकेका छैनन् । उनीहरू परिस्थिति बुझेर निर्णय लिने पक्षमा छन् । तर एमाले स्रोतका अनुसार गुरुङ र थापाले अन्तिममा ओलीको साथ छाड्ने सम्भावना छ । अर्याल र विश्वकर्मा ओलीसँगै रहने छन् । थापा र गुरुङले यही अवस्थामा पार्टी चल्न नसक्ने बताएका छन् । तर गुरुङ अहिले ओलीका प्रशंसा गरेर बसेका छन् । अर्याल र विश्वकर्माले ओलीको विकल्प खोजिसकेका छैनन् । ओलीले ठेगान लाउने डरले केही नेताहरू दुवैतिर बार्गेनिङ गरेर सुरक्षित हुने दाउमा छन् । अहिलेसम्म उनीहरू ईश्वरको पक्षमा पनि खडा भएका छैनन् । ओलीको साथ छाडेको पनि उनीहरूले जनाउ दिएका छैनन् । अहिले एघारौँ महाधिवेशनमा ओलीविरुद्ध भिड्ने टिम तयार भइरहेको छ, अहिलेसम्म त्यसको नेतृत्व पोखरेलले नै गरेका छन् । अहिले ओलीको पक्षमा उपाध्यक्ष थापा, गुरुप्रसाद बराल, महासचिव शंकर पोखरेल, उपमहासचिवहरू प्रदीप ज्ञवाली, विष्णु रिमाल, सचिव पद्मा अर्याललगायत देखिएका छन् ।
आफ्नो सदस्यता नवीकरण नभएपछि पूर्व राष्ट्रपति भण्डारीले ईश्वरलाई अगाडि बढ्न भनिसकेको उनीनिकट नेता बताउँछन्। तर भण्डारीले सबै नेतालाई बोलाएर ईश्वरको पक्षमा खुल्न भनिसकेकी छैनन् । अझै पनि गहिरो सम्वादमा उनीहरू छन् । अब बस्ने सचिवालयबाट पनि सदस्यता नवीकरण हुने आश अझै राखिएको छ। नेताहरूका अनुसार सदस्यता नवीकरण भएमा परिस्थिति फेरिन सक्छ । तर ओलीले भण्डारीको सदस्यत यो महाधिवेशनमा नउठ्ने शर्तमा मात्रै नवीकरण गर्न सक्छन् । भण्डारीनिकट स्रोतका अनुसार अहिले ईश्वरलाई नेताहरूसँग भेटेर उम्मेदवारीबारे छलफल गर्न भनिएको छ । पोखरेल र भण्डारीबीच अहिले बाक्लो संवाद चलिरहेको छ । उनले आफ्नो पक्षमा नेता तान्ने मिहिनेत थालिसकेका छन् । यदि भण्डारीले औपचारिक रूपमा ईश्वरलाई अघि सारे एमालेको यो पटकको महाधिवेशन प्रतिस्पर्धात्मक हुन सक्छ । जसले ओलीलाई पनि दबाब बढाउँछ । एमालेकी केन्द्रीय सदस्य उपकिरण तिम्सेना महाधिवेशन प्रतिनिधिलाई राजनीतिक दल र एमालेप्रतिको धारणा चिर्न यो पटक नेतृत्व परिवर्तनको पक्षमा लाग्न आग्रह गर्छिन् । उनी भदै २३ र २४ गतेको आन्दोलनले राजनीतिक दल यथास्थितिमा चल्न नहुने संकेत गरेको बताउँछिन् । जनता र शुभेच्छुकको भावना समेट्ने गरि अगाडि बढ्न उनी एमालेजनलाई आग्रह गर्छिन् । ‘जनता परिवर्तनको पक्षमा छन् । जनताले हरेक आन्दोलनपछिको उपलब्धि संस्थागत गरेका छन् ।
यस्तो छ हिसाव किताव
जेन–जी आन्दोलनपछि २९ आसोजमा बसेको एमाले केन्द्रीय कमिटी बैठकमा बेल्ने १ सय ५० जना प्रतिनिधिले खुलेरै ओलीको विकल्प खोजेको नेताहरूले दाबी गरेका छन् । यस्तै ५० जति केन्द्रीय सदस्य पर्ख र हेरको अवस्थामा छन् । अहिले एमालेमा ३ सय ५१ जना केन्द्रीय कमिटी सदस्य छन् । अब २ सय ५१ जनाको केन्द्रीय कमिटी बन्ने छ । पूर्व माओवादीबाट आएका र राजनीतिक चेत भएका धेरै नेताले ओलीको साथ छाड्नेछन्, एमालेका एक सदस्यले भने, १ सय ५० जना पूर्वएमालेले नै ओलीको विकल्प खोज्नुपर्ने आवाज उठाइरहेका छन् । एमालेमा अहिले मुखै खोलेर १ सय ५० जना सदस्यले ओलीको विकल्प खोजेका ती सदस्यको दाबी छ । यसबारे एमालेका अर्का केन्द्रीय सदस्यले भने, हाम्रो आँकललमा अहिलेका ३ सय ५१ सदस्यमध्ये २ सयजना ओलीको विपक्षमा खुल्नुहुन्छ । उहाँहरूले ईश्वर कमरेडलाई साथ दिनुहुन्छ । अहिले एमालेमा ओली टीमबाट महासचिवमा उठ्ने नेताबारे अलमल छ । ईश्वर टीमबाट पनि कुरा मिलेको छैन । ओलीले उपमहासचिव ज्ञवाली र ईश्वरले सचिव भट्टराईलाई महासचिवमा भिडाउन सक्छन् । तर पृथ्वीसूब्वा गुरुङ ईश्वरतिर आए योगेश उपमहासचिव मात्रै बन्न सक्ने देखिन्छ । एमालेमा अब वरिष्ठ उपाध्यक्ष पद रहने छैन । ईश्वर टीमबाट उपाध्यक्षमा सुरेन्द्र पाण्डे र अष्टलक्ष्मी शाक्यहरू आउन सक्छन् । यस टीमबाट विद्या भट्टराई र बिन्दा पाण्डे पनि पदाधिकारीमा आउने सम्भावना छ ।

Loading spinner