आधुनिकतामा श्री स्वस्थानी

khabarwave
१५ माघ २०७७

१८ पुराणहरू मध्ये स्कन्ध पुराणको केदार खण्डमा वर्णित स्वस्थानी ब्रत हरेक वर्ष पौष शुक्ल पूर्णिमाबाट आरम्भ भै माघ शुक्ल पूर्णिमा सम्म करीब एक महिना बस्ने गरिन्छ।यसमा उल्लेखित कथा शिवजीका जेष्ठ सुपुत्र कुमार र अगत्स्य मुनी बीच भएको संवादमा आधारित छ । यस पटक यसको ब्रत माघ १५ देखि आरम्भ भएर फाल्गुण १५ मा समापन हुन्छ।आफ्ना विविध मनोकामना एवं मनोकांक्षा पूरा होस् भनी यसको ब्रत बस्ने प्रचलन हिन्दू धर्माबलम्बीहरूमा रही आएको छ।

शिव र पार्वतीको प्रमुख आख्यान रहेको यो ब्रतकथामा जीवनमा पर्ने जुनसुकै दु:ख, पीर, समस्याको समाधानमा यस ब्रतको साधनालाई माध्यम बनाईएको छ। समस्त पूराणका रचयीता वेदब्यासको दर्शनमा आधारित स्कन्ध पूराण अन्तर्गतको यो ब्रतले त्यति बेला सिकाएको पाठ आज पर्यन्त कत्तिको सान्दर्भिक होला त्यसको समीक्षा गर्न सकिएला तर सो कथामा बर्णित सामाजिक ब्यबहार, अनुशासन, कर्तब्यपरायणता, जस्ता अबधारणाहरू बर्तमान समयमा पनि उत्तिकै सान्दर्भिक भएको पाईन्छ। ३१ अध्यायमा बर्णित यो कथा ब्रम्हाण्ड र पृथ्वीको उत्पति देखि समाज र ब्यक्तिमा देखिएको दानवीय प्रवृत्ति र त्यस उपरको विजय , मानव समाजमा आबश्यक पर्ने त्याग, समर्पण र त्यसको परिणाम आदिको विषयमा उदाहरण सहित ब्याख्या गरिएको छ जुन बर्तमान समयमा पनि उपयोगी हुन सक्छन्।

ज्ञानको बाहुल्यता र बोलाबाला भएको र आधुनिक विज्ञानले समेत प्रवेश नपाएको त्यो जमानामा उल्लेखित अबधारणाहरूले अहिलेको वैज्ञानिक यूगमा कति प्रमाणिकरण प्राप्त गर्न सक्छ त्यो खोजी को विषय हुनसक्ला तर पनि त्यस बेला भएको सामाजिक चेतना तर्फको अबधारणाले भने आज सम्म पनि प्रभाव पारेको छैन भन्न सकिदैन। यो कथा नेपाल सरहद भित्रैका विभिन्न स्थानहरूमा आधारित छ। नेपालका बिभिन्न स्थानलाई देव देवीका पीठको रूपमा वर्णन गरिएबाट नेपाल आदिकाल देखि तपोभूमिको रूपमा मानिएको पाईन्छ।

ती स्थानहरूलाई जीर्णोद्धार गरेर कृयाशील तुल्याउन सके ती ठाऊॅंहरूमा धार्मिक वा सांस्कृतिक पर्यटन गराउन सकिन्छ। त्यो वेलाको नेपाली समाजमा गरिने ब्यबहारहरू,समाजको विकास संगै आज सम्म आईपुग्दा तिनीहरूमा आवश्यक परिमार्जन हुदै गएका छन् तर पनि कति समाजिक ब्यबहारले सामाजिक चेतनाको विकास संगै परिमार्जित हुन नसकेर आज सम्म पनि समीक्षाका विषय बनेका छन्। यस्ता विषयलाई लिएर अहिलेका पिंढीले यो शास्त्रलाई आलोचना गरेको पाईन्छ तर यो पुस्ताले यो शास्त्र लेखनको त्यो समयलाई ख्याल गर्न सकेको पाईदैन। यो ब्रत श्री स्वस्थानीको ब्रत हो।

स्वस्थानी शब्द स्व + स्थान +ई बाट बनेको पाईन्छ जस्को अर्थ हो आफ्नो स्थानमा रहनु अर्थात सबैले आ-आफ्नो ठाउमा रहनु पर्ने अर्थमा स्वस्थानीलाई लिईन्छ। यो भनेको आत्म अनुशासनमा रहने,बस्ने भनिएको हो। यसरी सबै आ-आफ्नो सीमामा रहने बस्ने गरेमा सामाजिक अपराधहरू हुदैनन् भन्न खोजिएको छ यो शास्त्रमा। यहा जप, तप, ध्यान, पूजा, अर्चनाका माध्यमबाट बिभिन्न भक्तिभावहरु र कर्महरू गरिएका छन् जुन आजसम्म पनि मानवीय ब्यबहारमा अपनाउनु पर्ने कर्तब्य भित्र पर्छन्। यहां दानवहरूले गरेको भक्तिभाव देखेर देवताहरूले उनीहरूको मनोकांक्षा पूरा गरिदिएका कथाहरू पढ्न पाईन्छ। यसबाट के बुझिन्छ भने हामीले गर्ने हरेक कार्यहरू एकमनले ध्यान चित्त लगाएर गर्न सकेमा त्यसको परिणाम सकारात्मक हुन्छ। स्वस्थानी ब्रतमा समाजले स्थान नदिएका धोका, छलछाम आदिलाई समेत उल्लेख गरी समाजलाई सचेत बनाईएको पाईन्छ, जस्तै शिव नभएको मौकामा पार्वतीलाई छल गर्न जाने जालन्धर, नक्कली जालन्धर बनी बृन्दाको शत्य डगाउन जाने बिष्णुको भूमिका होस् वा स्वयंवरको बेला बिष्णुले झुक्याएर सतीदेवीको हात महादेवको हातमा पारीदिएको घटना होस् ,यी सबै कुराबाट समाजलाई सजग बनाउन खोज्नु निश्चय पनि स्वस्थानीको सकारात्मक पक्ष हो। त्यसै गरी राजकाजको भूमिकामा रहनु पर्ने ब्यक्तिले आफ्नो भूमिका बिर्सदा मुलुकमा आउन सक्ने अराजकतालाई रोक्न बिसूर भएका महादेवलाई कामदेवले कामवाण प्रहार गरेर सजग र सचेत तुल्याउनु पनि एउटा नेताको लागि पाठ हुन सक्छ। कुनै पनि बहानामा माग्न आउने भिक्षुकलाई भीक्षा दिन बिलम्ब गर्नाले गोमाले पाएको श्रापलाई उदाहरणको रूपमा लिएर समाजमा दान दिने प्रवृत्तिलाई बढवा दिएको पाईन्छ।

समाज र घर परिवारमा घमण्डका कारण हुन सक्ने बिग्रहलाई नवराजकी जेठी श्रीमती चन्द्रावतीको ब्यबहारलाई हेर्न सकिन्छ। त्यसै गरी आमाबाबु उपर सन्तानको कर्तब्य कस्तो हुनु पर्छ भन्ने विषयमा गर्भे सन्तान नवराजको भूमिकालाई हेर्न सकिन्छ। त्यस्तै कुनै पनि उद्यम गर्न साधन र श्रोतको अभावले छेक्दैन, हिम्मत र आंट भएमा जस्तो सुकै काम पनि गर्न सकिदो रहेछ भन्ने कुरा गोमा को भूमिकालाई अध्ययन गरे पुग्छ। त्यसै गरी पति पत्नी बीचको सम्बन्धमा कति सहजता वा सामिप्यता हुनु पर्छ भन्ने शिक्षा शिव र पार्वती बीचको भूमिकाले दिएको पाईन्छ। समाज र ब्यक्तिमा हुने तामसी, राक्षसी प्रवृतिले समाजमा अशान्ति, झै झगडालाई प्रश्रय दिन्छ, यसैले यस्ता प्रवृत्तिलाई हटाउनु पर्छ भन्ने पाठ यसको आठौं अध्ययले दिएको पाईन्छ। हाम्रो परम्परा, संस्कृतिहरू समाज र परिवार प्रेमी छन्।

यस्ता परम्परा र संस्कार जन्य पहिचान भएका हामी नेपालीहरूलाई विश्वको जुनसुकै कुनामा गए पनि हाम्रो पहिचानले हामीलाई नैतिकवान , अनुशासित र सामर्थ्यवानमा जनीन मद्दत पुर्याएको छ तर हाम्रो शिक्षा नीतिमा नैतिक शिक्षाको ॲंश कम परेकोले अहिलेको पिंढीले यस्तो शिक्षाबाट लाभ लिन पाएको छैन। यसकारण हाम्रो नैतिक वल विस्तारै कमजोर हुदै गएको छ। यही स्वस्थानी ब्रत कथा मात्रलाई पनि उपयोग गर्न सकेमा नेपालको प्रकृति र धार्मिक पीठहरूलाई धार्मिक पर्यटनको स्थल बनाउन र सु योग्य तथा नैतिकवान समाज निर्माण गर्न मद्दत पुग्ने देखिन्छ।

Loading spinner