आज घटस्थापनासँगै नवरात्र सुरु ,उत्तम साइत बिहान ११ः४६ मा

khabarwave
१ कार्तिक २०७७

काठमाडौं । कार्तिक १ गते आजबाट नेपालीहरूकाे महान चाड बडादशैं शुरु भएको छ । बडादशैंको पहिलो दिन आज घरघरमा घटस्थापना गरिँदै छ ।  घटस्थापना गर्दा पूजाकोठा वा दशैं घरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजा आरम्भ गरेर मनाइन्छ ।पञ्चाङ्ग निर्णायक समितिका अनुसार घटस्थापनाको उत्तम साइत आज बिहान ११ः४६ मा रहेको   छ ।

नवरात्रको पहिलो दिन आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दशैँघरमा जौ रोपिन्छ । जौको पहेँलो अंकुरण अर्थात् जमरा दुर्गा देवीको प्रिय वस्तु भएकाले त्यसलाई विजयादशमीको दिन टीका प्रसादसितै ग्रहण गरिन्छ । पहेँलो जमरालाई समृद्धिको प्रतीक पनि मानिन्छ ।

कुल परम्परानुसार कसैले जमरा राख्दा जौसँगै अन्य अन्न पनि रोप्ने गरेका छन् । तर जमरा राख्ने कार्यमा जौबाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको जानकारहरू बताउछन ।

घटस्थापनाको दिनदेखि नवरात्र सुरु हुन्छ । नवरात्रभर दुर्गाका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको विधिपूर्वक पूजाराधना गरिन्छ । महाकाली शक्ति, महालक्ष्मी धनधान्य र ऐश्वर्य तथा महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकका रुपमा पूजाराधना गर्ने वैदिककालदेखिको परम्परा छ ।

नवरात्रको पहिलो दिन दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौंँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाराधना गर्ने गरिन्छ । दुर्गाका यी नौ रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ ।कात्तिक १० गते देवी विसर्जनको साइत बिहान १०ः११ बजे रहेको र टीका प्रसाद ग्रहण गर्ने मिति रहेकाे छ ।

Loading spinner