अस्पताल शैय्याबाट क्याप्टेन लामा भन्छन्, जटिल अवस्था पार गरेँ

khabarwave
६ आश्विन २०७७

काठमाडौं । वरिष्ठ पाइलट विजय लामा कोरोना संक्रमणपछि सोल्टी होटलको आइसोलेशनमा छन् । लामाले पछिल्लो उडान शान्ति मिसनमा खटिएको नेपाली सेनाको टोलीलाई लिएर दक्षिण सुडान गएका थिए । दक्षिण सुडानबाट फर्केपछि लामाले जहाज उडाएका थिएनन् । लामासँगै अर्का पाइलट उदय कोल्हात्करलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

कोल्हात्कर पनि लामासँगै सोल्टी होटलको आइसोलेसनमा बसेका छन् । नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामाले कोरोना संक्रमणलाई सामान्य रुपमा नलिन आग्रह गरेका छन् । आफ्नो स्वास्थ्यमा उल्लेख्य सुधार भएको जानकारी दिँदै उनले चाँडै उडान भर्ने र बिदेशमा रहेका नेपालीहरुलाई फर्काउने विश्वास दिलाएका छन् । कोरोना संक्रमित क्याप्टेन लामा स्टार अस्पताल ललितपुरमा उपचाररत छन् । कोरोनाविरुद्ध दुई हप्तादेखिको लडाइँमा आफ्नो स्वास्थ्यमा धेरै सुधार भएको उनले जानकारी दिएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, एकदम जटिल अवस्थाबाट पार भै पुनः स्वस्थ बन्दै छु । अबको केही दिनपछि डिस्चार्ज हुने आशा राखेको छु । रगतको नमूना पनि लगेन, नास्ता पनि खाइयो, कमजोरीपनको कतै लक्षण छैन, राति निन्द्रा पनि राम्रै लाग्यो, डाक्टरको भनाइ अनुसार मेरो इन्फेक्सन लेभल पनि घटेको अवस्था छ । क्याप्टेन लामाले यो सम्भव हुनुको पछाडि अस्पतालका सम्पूर्ण टोलीको योगदान रहेको भन्दै आफ्नो उपचारमा खटिएकाहरुलाई धन्यवाद पनि दिएका छन् ।

कोरोनालाई हल्का रुपमा नलिन र आफ्नो सुरक्षामा नचुक्न सबैलाई आग्रह गरेका छन् । उनले लेखेका छन्, ‘मेरो विनम्र अनुरोध सबैमा बिन्ती छ, यो कोविडलाई हल्का नलिनु होला । आफ्नो सुरक्षामा कतै नचुक्नु होला । यो सामान्य रोग होइन । यसले ज्यान लिन सक्छ । लामाले लेखेका छन्, आभारी छु तपाईंहरुको माया, साथ र प्रार्थनाको लागि । चाँडै उडान भर्ने छु र विदेशमा हुनु भएकाहरुलाई नेपाल फर्काउने छु अनि राष्ट्रप्रति समर्पित हुने छु ।

Loading spinner