
असई र प्रहरी जवान हत्यामा संलग्न ७ जना सार्वजनिक
काठमाण्डाै। जिल्ला प्रहरी कार्यालय कैलालीले मंगलबार पत्रकार सम्मेलनमार्फत अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज असई गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका ७ जनालाई प्रहरीले सार्वजनिक गरेको छ।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका वडा नम्बर १० का ३१ वर्षीय रोहित राना, २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भनिने सुरेश राना, २५ वर्षीय गब्बर भनिने राजकुमार राना, वर्ष २२ को रामनिवास राना, २९ वर्षीय टल्लु भनिने दलराम राना र वडा नम्बर ११ बस्ने २५ वर्षीय गोपाल भनिने रामगोपाल राना रहेका छन् ।
उनीहरुले नेपालबाट भारत सामान तस्करी गर्दा प्रहरीले अवरोध सिर्जना गरेपछि आक्रमण गरी हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । प्रहरीले अनुसन्धानका लागि १६ जनालाई नियन्त्रणमा लिएकोमा ७ जनाको संलग्नता देखिएको जनाएको छ ।
गत शनिबार राती नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज समेत रहेका बिक र प्रहरी जवान वेपत्ता भएका थिए । उनीहरुलाई राती १० बजे सम्पर्क गर्दा समेत फोन नलागेपछि बिहान सम्म प्रतिक्षा गर्दा समेत नआएपछि खोजी गरिएको थियो ।