जन प्रतिनिधिबाट अपेक्षा

khabarwave
५ जेष्ठ २०७९

स्थानीय तहको चुनाव सकिएको छ। जन प्रतिनिधि चुनिएका छन्। मतदाताको काम हाल सकिएको छ र जन प्रतिनिधिको काम अब शुरू भएको छ। जनताबाट चुनिएको हुनाले मात्र यिनीहरूको नाम जन प्रतिनिधि राखिएको हैन। जनता संग प्रत्यक्ष वा परोक्ष जोडिएका कामहरू सम्पादन गर्नका लागि आफूमा निहीत सार्वभौम सत्ता निश्चित समयलाई चुनावका माध्यमबाट उनीहरूलाई सुम्पिएको हुनाले यी चुनिएका पदाधिकारीलाई जन प्रतिनिधि भनिएको हो । यसैले चुनिएका जन प्रतिनिधिले जन सरोकारका काम पारदर्शी तवरबाट सम्पादन गर्ने अपेक्षा गरिन्छ।

यसरी चुनिएका जन प्रतिनिधिहरू प्रतिस्पर्धामा आउदा कुनै राजनीतिक दल संग आबद्ध हुन सक्छन् तर निर्वाचनमा विजय भए पछि उनीहरूबाट सम्पादन हुने काममा दलीय ब्यवहारको अपेक्षा गरिएको हुदैन। चुनावी महायज्ञमा होमिदा बनाएको नीति, कार्यक्रम र घोषणापत्रलाई माध्यम बनाएर जनताको काम गरिनु पर्छ तर सेवाग्राही वा जनता जुनसुकै विचारधाराका भए पनि वा आफूलाई मतदान नगर्ने मतदाता भए पनि सेवा प्रवाहमा विभेद गरिनु हुदैन। मतदाताले अपेक्षा गर्ने भनेको यस्तै जन प्रतिनिधि पनि हो।

अर्को महत्वपूर्ण पक्ष के हो भने स्थानीय संसदमा सत्तापक्ष र प्रतिपक्ष हुदैन र स्थानीय सरकार स्थानीय संसदले नबनाएर प्रत्यक्ष चुनावबाट चुनिएर आएको हुन्छ । त्यसै गरी स्थानीय सरकार संघीय सरकार जस्तो बीच बीचमा फेरिदैन पनि । यसले पूरा अवधी काम गर्न पाउछ। त्यसैले स्थानीय सरकार बहुदलीय ब्यबस्थामा बनेको तर दल भन्दा माथि उठेको सरकार हो। यो तहको मुख्य लक्ष भनेको जनसरोकारका विकास, निर्माण र दैनिक आवश्यकता पूर्ति गर्ने काममा केन्द्रित हुनु हो।

विश्वका प्रायः मुलुकमा स्थानीय सरकार निर्दलीय चरीत्रका हुने गर्छन् तर हाम्रो देशमा विगतमा चलेको निर्दलीय शासन ब्यबस्थाबाट तर्सिएका विधायकहरूले यस्तो नामबाट स्थानीय तह राख्न सहमत भएनन्।यसो हुदाहुदै पनि स्थानीय तहमा बन्ने सरकारले दलीय आधारमा सेवा दिन अनुकूल नहुदा नेताहरू दल भन्दा माथि उठ्ने परम्परा बन्दैछ जुन खुसीको कुरा हो। स्थानीय तह, त्यसमा पनि गाऊ पालिकाका बासिन्दाका आबश्यकता भनेको औलामा गन्न सकिने खालकै हुन्छन्।

शहर र नगरवासीका चाहनाका तुलनामा ग्रामीण जनताका आवश्कता सीमित नै हुन्छन्। गोरेटो बाटो, कुवा मर्मत, धारा मर्मत, मठ मन्दिर, विद्युत, विद्यालय, स्वास्थ्य चौकी, शीत भण्डार गृह, हाट बजार, मल, बीऊ, पार्क, सार्वजनिक एवं ऐलानी जग्गाको अभिलेख र संरक्षण ,सर्व साधारण जनतालाई छिटो छरितो सेवा प्रवाह, सुशासन आदि लाई सहज गरिदिए पुग्छ। यी कामका अतिरिक्त पर्यावरणलाई संरक्षण गर्दै जग्गाको वर्गीकरण गरी सोही बमोजिम बस्ती विकास गर्ने, आर्थिक श्रोतका आधारहरू पहिचान गर्दै तिनीहरूलाई संरक्षण गर्दै सम्पदाको रूपमा विकास गर्ने काम गर्नु पर्छ। यति काम यी चुनिएका प्रतिनिधीले गर्न सक्ने हो भने अर्को चुनावमा पनि जनताले खोजी खोजी आफ्नो प्रतिनिधि बनाउने छन् ।

यसो नगरी राज्यको साधन र श्रोत आफ्नो स्वार्थमा लगाउने हो भने यस्ता जनप्रतिनिधीलाई जनताले मनबाट निकाली दिने छन्। वर्तमान संविधानले स्थानीय तहलाई धेरै क्षेत्रमा स्वायत्तता दिएको हुदा स्थानीय जन प्रतिनिधिले माथिको आदेश, निर्देशको प्रतीक्षा गर्न पर्दैन। ब्यबस्थापिका, कार्यपालिका र न्यायपालिका समेतबाट सम्पन्न स्थानीय तह सन्चालन गर्न त्यस्तै सोच भएको जन प्रतिनिधि चाहिन्छ। दलहरूले यस्ता प्रतिनिधि उपलब्ध गराउन सकेनन् भने जनताले स्वतन्त्र ब्यक्तिलाई समेत सो पदमा चुन्न सक्छन् जुन कुरा काठमांडौ,धनगढी,जनकपुरका मतदाताले कोशिस गरी रहेका छन्।

हामीले चुनेका प्रतिनिधिहरूले विजय जुलुस निकाल्दै गर्दा वा विजय जुलुसमा सहभागी हुदै गर्दा उनीहरूको मनमा के कुरा उब्जिएको हुन्छ? आफूले चुनावमा सहभागी हुदा प्रस्तुत गरेको घोषणा पत्र कार्यान्यनका विषयमा त्यति बेला सोच आउछ कि आउदैन? आफूले बनाउने बाटाहरू, खानेपानीका बिकल्पहरू, विद्युतिकरणका कुराहरू सोचमा आउछन् कि आउदैनन्? यी बिचारणीय पक्ष हुन्। राजनीतिलाई पेशा नबनाउने, हरेक पल जनताका सुख दुःखमा चिन्तन गर्ने, आवश्यक पर्ने साधन श्रोतको पहिचान गर्ने, सोच र चिन्तन हुनेले मात्र यस चुनावमा प्रतिस्पर्धा गर्नु पर्छ। साविकको शासन ब्यबस्थामा जन प्रतिनिधिहरूलाई अधिकार प्रत्यायोजन गरिने ब्यबस्था हुदा हरेक स्थानीय निकायले केन्द्रको मुख ताक्नु पर्ने अवस्था थियो तर वर्तमान संघीय शासन ब्यबस्थामा स्थानीय तह आफैमा स्वायत्त हुन्छन्। त्यसैले भनिन्छ पनि सिंहदरवार घर घरमा भनेर अर्थात सरकार खोज्दै जनता जाने हैन जनता खोज्दै सरकार जानु पर्छ भनिन्छ।

यही अनुभूति जन प्रतिनिधिले जनतालाई दिन सक्नु पर्छ। हाम्रा ग्रामीण ईलाकाहरू जीर्ण र रूग्ण हुदै छन्। यो ठाऊबाट सदर मुकाम र शहरी ईलाकामा बसाई सर्ने प्रवृत्ति बढ्दै छ। शिक्षा, स्वास्थ्य ,खानेपानी र वेरोजगारीका कारण यो प्रवृत्तिले बढोत्तरी पाउदै गर्दा यी सुविधाहरूलाई स्थानीय तहमा ब्यबस्थापन गरेर ग्रामीण ईलाकालाई पुनर्जीवन दिन जरूरी छ। यसको निम्ति जन प्रतिनिधिको जरूरत परेको हो। यसले निर्वाचित जन प्रतिनिधिले यो समस्यालाई मनन गर्नु जरूरी छ। यति खेर हामीले ग्रामीण भेकका जन प्रतिनिधी मात्र चुनेका छैनौ, संगै नगर क्षेत्रका प्रतिनिधि पनि चुनेका छौ। ग्रामीण क्षेत्र र शहरी क्षेत्रका समस्याहरु पनि फरक हुन्छन् ।

यसैले नगर क्षेत्रका प्रतिनिधीको भूमिका पनि केही फरक हुने गर्छ। तै पनि हाम्रो देशका सीमित शहरी ईलाका बाहेक अधिकांश नगर क्षेत्र हाम्रा ग्रामीण परिवेश संग मिल्दा जुल्दा नै छन्। किनभने हामीले शहरी क्षेत्रका संरचनाहरू नबन्दै ती क्षेत्रलाई नगर पालिकाको नामाकरण गर्न उद्दत भयौ। तर पनि नगरका समस्याहरू गाऊका भन्दा केही पृथक हुन्छन्। यिनै समस्यालाई सम्वोधन गर्ने गरी नगर पालिकाले कार्यक्रम बनाउनु पर्छ र यहा चुनिने जन प्रतिनिधीहरु पनि नगरका यस्तै समस्याहरू समाधान गर्ने तर्फ उन्मुख हुनु पर्छ। यसरी चुनिएर गएका जन प्रतिनिधीहरूले आफ्ना मतदाता मात्र नभै समस्त बासिन्दाको हित र स्वार्थलाई दृष्टिगत गरी कार्यक्रम बनाएर अगाडि बढ्नु पर्ने देखिन्छ र आवधिक निर्वाचनको एक मात्र उद्देश्य पनि यही हो।

Loading spinner