पितृहरूको सम्मान गरौं

khabarwave
२२ भाद्र २०७८

आफैले सन्तान पाएर सन्तानलाई उनीहरूको खुट्टामा उभिने बनाउदा सम्मको जिम्मेवारीले वोध गराउने रहेछ, पितृत्वको महत्व। यहा पितृ भन्नाले आमाबाबु दुबैलाई स -सम्मान स्मरण गरिएको छ। हाम्रो पूर्विय दर्शनमा मात्र हैन पश्चिमा र अन्य समुदायमा समेत आमाबाबु(पितृ) को महत्वलाई उत्तिकै स्थान दिएको पाईन्छ। बच्चाको गर्भ अबस्था देखि बच्चाको शारीरिक, मानसिक, संवेगात्मक तथा सामाजिक विकासमा आमाबाबुको भूमिका अद्वितीय रूपमा रहेको पाईन्छ। आफ्ना बच्चाहरूलाई आबश्यक शिक्षा दीक्षा नदिने आमाबाबुलाई शत्रुको रूपमा हेरिने शास्त्रीय मान्यता छ।

भनिएको पनि छ कि माता शत्रु:पिता वैरी येन वालो नपाठित: न शोभते सभा मध्य हंस मध्य वको यथा। यसरी सन्तान उपर आमाबाबुले देखाउनु पर्ने जिम्मेवारी र जिम्मेवारी पूरा नगर्दाको अवस्थालाई यो पंक्तिमा चित्रण गरिएको पाईन्छ।यसैले आफ्नो भूमिका निर्वाह नगरेर कुनै बाबुआमा शत्रुको पंक्तिमा उभिन पक्कै पनि चाहदैन। यसै गरी बाबु आमा उपर सन्तानको दायीत्वका विषयमा समेत हाम्रा दर्शनहरूले बिभिन्न तवरले ब्याख्या गरेको पाईन्छ।

उदाहरणका लागि एउटा श्लोक प्रस्तुत गरिन्छ- सर्व तीर्थमयी माता सर्व देवमय: पिता मातारम् पितरम् तस्मात् सर्व यत्नेन पूजयेत् यसरी भनिएको छ कि आमा सबै तीर्थ बराबर हुन्छिन र बाबु सबै देवताका प्रतीक हुन्छन्, त्यसैले आमाको सेवा गरे तिर्थ ब्रत गरे सरह हुने र बाबुको सेवा गरे सम्पूर्ण देवताको पूजा गरे सरह हुने भन्ने शास्त्रीय कथन रहेको पाईन्छ। जन्म दिने आमाबाबुको सेवा र सुश्रुषा गर्न कुनै दिन तिथी मितिको प्रतीक्षा गर्नु पर्दैन तर पनि मातातीर्थ औंसी(बैशाख कृष्ण अमावश्य) का दिन आमालाई र भाद्र कृष्ण औंसी वा कुशे औंसीको दिनलाई बाबुको मुख हेर्ने दिनको रूपमा मानिन्छ। हाम्रो पूर्वीय दर्शन अनुसार भाद्र कृष्ण औंसीको दिन बाबुको मुख हेर्ने दिन हो। यो दिन आफूलाई जीवनमा सफल मार्गमा हिड्नका लागि जे जति ज्ञान सीप र संस्कार आवश्यक पर्छ त्यसमा निर्देश गर्ने,बाटो देखाउने अभिभावकको रूपमा बाबुलाई सम्मान गर्ने दिन हो।त्यसैले हरेक सन्तानले आज आफ्नो बाबुलाई मीठो मसिनो ख्वाउने, नयां उपहारहरू दिने गरेर बाबुको सम्मान गर्ने परम्परा छ।

हाम्रो चलन अनुसार हामीले आफ्ना बाबुआमालाई जन्म दिवस मनाएर, बिबाहोत्सव मनाएर र चौरासीको पूजा लगाएर समेत आमाबाबुको सम्मान गर्ने गर्छौ। बाबुको आदेशलाई शिरोपर गरेर श्री राम वनवास गएर बाबुको सम्मान गरेका उदाहरण लगायत वृद्ध आमाबाबुलाई खर्पनमा बोकेर आमाबाबुको सेवा गरेका श्रवण कुमारका विषयमा समेत हाम्रा शास्त्रहरूले बताएको पाईन्छ। बाबुआमा जिवित हुदा गरिने सम्मानका अतिरिक्त दिवंगत भै सकेका आमाबाबुलाई दिवंगत भएका तिथिमा हरेक वर्ष श्राद्ध गरेर मृत्यु पश्चात समेत सम्मान गर्ने चलन रहेको पाईन्छ। यसैले हाम्रो संस्कार र परम्परा मातापिता प्रेमी रहेको पाईन्छ। हाम्रो परम्परा र संस्कार यति सकारात्मक हुदा हुदै पनि आजभोली कोही कोही सन्तानले आफ्ना आमाबाबुलाई भार सम्झेर आफ्नो कर्तब्यबाट बिमुख भएको पाईन्छ।यसरी आफ्ना आमाबाबुलाई हेला गर्ने सन्तानलाई तिनीहरूका सन्तानले पनि त्यसै गरेर पैचो तिर्छन्।

किन भने आमाबाबुलाई सम्मान गर्ने कुरा तिनीहरूले आफ्ना आमाबाबुबाट सिक्न पाएका हुदैनन्।यस सन्दर्भमा एउटा भनाई याद आयो-“ बाबा त्यो डोको नफाल्नुस् किन कि पछि तपाईहरूलाई फाल्न काम लाग्छ”। यसैले हामीले हाम्रा आमाबाबुलाई देवताका रूपमा मानेर सम्मान गर्न सक्यौ भने हाम्रा सन्ततिले समेत सिको गर्ने रहेछन्। भनिन्छ,पितृले दिन्छन् तर दैवले हर्छन्। मृत्यु पर्यन्त समेत पितृहरूले आफ्ना सन्तानलाई आशिर्वाद दिईरहेका हुन्छन् भन्ने मान्यता हाम्रा दर्शनहरूले राखेका छन्।हाम्रा पितृहरूले हाम्रो भूमिकालाई मृत्यु पर्यन्त पनि देखी रहेका हुन्छन्। त्यसैले मृत्यु पर्यन्त समेत हामीले पितृका नामबाट गरिने दान कर्महरूमा पितृ खुसी हुन्छन् भन्ने शास्त्रीय मान्यता रहेको पाईन्छ। यी र यस्तै विभिन्न शास्त्रीय एवं लौकिक मान्यताहरूको अनुशरण गरी बाबुको मुख हेर्ने पर्व मनाऔं र हाम्रा पितृहरूको सम्मान गरौ।

Loading spinner