राजनीतिक दलहरूको असफलता
देश र जनताको हितका लागि बनेका दर्शनलाई राजनीतिक बिचार भनिन्छ। राजनीतिक दर्शन वा बिचार साधन हुन भने देश विकास र जनताको कल्याण साध्य हुन्। विश्वमा राजनीतिक तवरबाट दुईवटा बिचारले मान्यता पाएका छन्। पहिलो बिचार हो जनताको शासन वा प्रजातन्त्र। अर्थात आफूलाई आफैले शासन गर्ने पद्दति। जसमा खुला बजार तथा प्रतिस्पर्धी बजारको माध्यमबाट अर्थ नीति कायम गरिएको हुन्छ।विश्वका अधिकांश राष्ट्रले यही पद्दति अपनाएका छन्।
दोश्रो बिचार हो साम्यवादी शासन अर्थात राज्यले शासन गर्ने पद्दति जहा जनमतको कुनै स्थान रहदैन। यस किसिमको शासन ब्यबस्थामा राज्य नियन्त्रित अर्थ नीति रहन्छ। यहा निजी वा प्रतिस्पर्धी बजारले स्थान पाउदैन। यहा जनमतको कदर गरिदैन , त्यसैले आवधिक निर्वाचन पनि हुदैन। विश्वमा ९० को दशक पछि यो विचारको पतन हुदै गएर हाल मुस्किलले एउटा हातको औंलामा गन्न मिल्ने संख्यामा यो पद्दति अनुसारको शासन ब्यबस्था छ। राणाकालीन नेपालमा राणाहरूको मनोमानी भएकोले उनीहरूको हुकूम नै शासन थियो। भारतमा बृटिश साम्राज्यको पतन संगै नेपालमा पनि राजा र जनता मिलेर राणा शासन हटाएर प्रजातान्त्रिक प्रणालीको आरम्भ भएको थियो।
यो प्रणालीको आरम्भ संगै राणा शासनका कारण प्रवासमा रहेका राजनीतिक नेताहरूको नेपाल आगमन संगै २०१५ सालमा भएको आम निर्वाचनमा प्रजातान्त्रिक शक्ति शासनमा पुग्यो तर यो लामो समय शासन चलाउन नपाउदै करीब १८ महिना मै तत्कालीन राजाको कोप भाजनमा पर्यो संसदीय प्रजातन्त्र। करीब ३० बर्ष पंचायतको नाममा रहेको निर्दलीय ब्यबस्थाले गरेको शासन कम्युनिष्ट पाराको थियो। सकृय राजतन्त्र रहेको यो शासन ब्यबस्थामा प्रजातान्त्रिक शक्तिलाई पाखा लगाईएको थियो। राजाले बनाएका केही कम्युनिष्टहरू समावेश गरी पंचेहरू समेत सहभागी गराएर चुनावको नाटक गरिन्थ्यो। राजावादी पन्चेहरू र कम्युनिष्टहरू बाहेक राजनीतिक दलहरू खोल्न र ती दलको नाममा राजनीति गर्न नपाईने ब्यबस्था थियो। २०४६ सालमा नेपाली कांग्रेस र वाम मोर्चा मिलेर आन्दोलन गरे अनुरूप संबैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्र नामको संसदीय शासन ब्यबस्था आयो तर संसदीय ब्यबस्थाको बिरोधमा लागेका कम्युनिष्टहरू यो ब्यबस्था फाल्ने नाममा २०५२ बाट भूमिगत भै आन्दोलन गर्न थाले। यसै बीचमा राजदरवार हत्याकण्ड हुदा संविधान अन्तर्गत रहन चाहेका राजा बीरेन्द्रको वंश नाश भयो।
यति बेला प्रजातान्त्रिक दल नेपाली कांग्रेस जो संबैधानिक राजतन्त्र र संसदीय ब्यबस्थाको पक्षपाती हो, सरकार उसैको हुदा यस्तो संकटमा राजा बीरेन्द्र कै भाई ज्ञानेन्द्रलाई राजा मानेर अगाडि बढ्ने नीति लियो तर राजनीति भन्दा ब्यापार ब्यबसायलाई दैनिकी बनाएका ज्ञानेन्द्रमा एकाएक तानाशाह बन्ने रहर चल्यो। यही सनकमा संसदलाई भंग गरेर ज्ञानेन्द्रले सत्ता कब्जा गरे।एकातिर ज्ञानेन्द्रमा तानाशाहको भूत चढेको र अर्को तिर संसदीय प्रजातन्त्रको विरोधी नेकपा माओवादीले देशका विभिन्न स्थान र सदरमुकाममा हतियारवन्द युद्ध गर्न थाले तर राजाको मातहत रहेको नेपाली सेना सो युद्धमा खट्न राजाले दिएनन् जसका कारण शासन ब्यबस्था माओवादी र राजाको दोहोरो चेपुवामा पर्यो। यसै बीच भारतको मध्यस्थतामा सरकार र बिद्रोही माओवादी बीच सम्झौता गरेर विद्रोही माओवादी शासन ब्यबस्थामा सहभागी हुने भयो। यसरी माओवादी र संसदीय दलहरू मिलेर ज्ञानेन्द्रले विघटन गरेको संसद पुनर्स्थापन गर्न आन्दोलन गरे। आखिरमा ज्ञानेन्द्र हारे र संसद पुनर्स्थापना भयो यही पुनर्स्थापित संसदले गणतन्त्र स्थापना भएको घोषणा गर्यो। पहिलो पटकको संविधानसभामा वाम पक्षको बहुमत आयो तर निर्धारित समयमा बाम पन्थी सरकारले संविधान दिन नसके पछि दोश्रोपटक पुन: संविधान सभाको लागि चुनाव भयो ।
यसरी संविधान बनाउन ढिला हुनुको कारण संबैधानिक ब्यबस्थामा राजनीतिक दलहरू बीच मतैक्य हुन नसक्नु नै मुख्य कारण थियो तर पनि दोश्रो पटक भएको निर्वाचनमा प्रजातान्त्रिक शक्ति नेका को बहुमत भएकै कारण संबिधान बन्न सक्यो। यसरी करीव एक दशकको समय लगाएर बनेको सबिधानमा समावेश भएका ब्यबस्थाहरू हेर्दा हरेक राजनीतिक दलका तस्वीरहरू यो संबिधानमा देखिएका छन्। यो संविधानमा संसदीय प्रजातन्त्र रहेको छ जसमा नेकाको जित भएको छ तर कम्युनिष्ट हारेका छन्। यो संविधानको प्रस्तावनामा समाजवाद उन्मुख शासन ब्यबस्था भनिएको छ जसलाई कम्युनिष्टहरूले आफ्नो जित मानेका छन् र गणतन्त्रात्मक शासन ब्यबस्था पनि कम्युनिष्टहरूले आफ्नो वपौति ठानेका छन्। यहा नेर नेपाली काग्रेसले आफ्नो गन्तब्यलाई बिर्सेर वाम पन्थी मार्गमा हिडेको भन्ने अपजश लिनु परेको छ। किनभने संबैधानिक राजतन्त्रको वकालत गर्दै आएको नेका राजा ज्ञानेन्द्रको रीसका कारण आफ्नो पहिचान र गन्तब्य गुमाएकै हो भन्ने जनमत बढी भएको पाईन्छ। संविधानमा उल्लेखित धर्म निरपेक्षताको विषयमा पनि कम्युनिष्टहरूले आफ्नो जित ठानेका छन्।
धर्मलाई अफिम ठान्नेहरू संगै लहसिएर नेका बहकियो भन्ने जनमत बढेको सन्दर्भमा धार्मिक स्वतन्त्रताको तर्क दिएर नेपाली कांग्रेस उम्कने गरेको पाईन्छ। केन्द्रियताको वकालत गरेर नथाक्ने कम्युनिष्टहरू संघीयताको पक्षमा त्यति खुल्न चाहदैनन् र चाहना अनुसारको संघीयता भएन भनेर मधेशवादीहरू समेत बर्तमान संघीयतामा सहमत छैनन्। खर्चले संघीयता धान्न नसकेको निहुमा नेकाले पनि संघीयत खासगरी प्रदेश तहलाई त्यति रूचाएको पाईदैन। यसरी हेर्दा नेपालका राजनीतिक दलहरू सबै आफ्ना बिचारबाट बिचलित भएर पहिचान गुमाएको अबस्थामा छन्। विश्वबाटै हराउदै गएको साम्यवादका बाहकहरूको गतिविधि र गन्तब्य नेपालबाट समेत हराउदै जानु स्वभाविकै भए पनि केन्द्रमा बसेर राजनीति गरेको नेपाली कांग्रेसले आफ्नो गन्तब्य र पहिचान बिर्सदै जानु नै नेपालमा हाल देखिएको राजनीतिक संकटको कारण हो।