हात्ती आयो फुस्सा…

khabarwave
२२ फाल्गुन २०७७

आन्तरिक झगडाले भंग भएको प्रतिनिधि सभा पुनर्स्थापित हुदाका दिन खुसीयाली मनाएर लड्डू खाने ख्वाउने गरेका दाने समूह अहिले बिलखम्बमा परेका छन्।किनभने प्रतिनिधि सभा पुनर्स्थापित भए पछि ओलीले सरक्क राजिनामा देलान् र सरकार र पार्टीको सोलो डोलो रजाई आफ्नो समूहको हुन्छ भन्ने सोचाई दाने समूहको थियो तर परिस्थिति त्यस्तो देखा परेन।

पार्टीको आधिकारिता आफ्नो पक्षमा पार्न दुबै पक्ष असफल भएको स्थितिमा जीऊ जोडिएको तर टाउको दुईबटा भएको शरीर जस्तो भएको छ हाल नेकपा नामको पार्टी। सत्तामा रहेर पनि आधा प्रतिपक्ष र आधा सत्ता पक्षको रूपमा नेकपा देखिएको छ। सत्तामा रहेर पनि सत्ताको चास्नीमा डुब्न नपाएको र सत्ताको भाग बण्डा नपाएका कारणले दाने समूहले ओली समूहको विरोध गर्दै आएकोमा ओलीले संबिधानका प्रवधानको हेक्का नराखी सबैको साझा संस्था प्रतिनिधि सभा बिघटन गरे।

यो बिघटित संस्था न्यायीक निर्णयले पुनर्स्थापित भै यही २३ गते प्रतिनिधिसभाको अधिवेशन बस्दै छ। पुषको १८ तिर बस्नु पर्ने अधिवेशन करीब ९ हप्ता पछि सरेको छ र अधिवेशनको शुरूका दिनमा बिभिन्न राजनीतिक दृश्यहरु देखा पर्ने सम्भावना छ। पहिलो प्रयास नेकपाको संसदीय दलको नेता फेर्ने मा हुने छ जसमा हालका नेता ओली र प्रस्तावित नेता दाहाल बीच मतदान हुनेछ र बहुमत जसको पक्षमा होला उही संसदीय दलको नेता हुनेछ।

संसदमा दुवै पक्षको संभावना उत्ती कै छ तर झिनो मतले ओली कमजोर भएको मानिन्छ। यदि हर्स ट्रेडिंगको खेल सफल भएमा कुनै पनि खेलाडीको पल्ला भारी हुन सक्छ। संसदीय दल भित्रको खेल सकिए पछि नेकपा बिभाजन नभएको अबस्थामा हालको नेकपा नै नेपालको संविधान २०७२ को धारा ७६(१) बमोजिम नै प्रमं हुनेछन् तर पार्टी बिभाजन भएको अबस्थामा धारा ७६(२) बमोजिमको सरकार बनाउनु पर्ने हुन्छ र यस स्थितिमा अरू दलको सहयोग आबश्यक पर्छ तर यी दलहरूले सहयोग नगरेमा सरकार बन्न नसकेर अन्य धाराहरूको प्रयोग गर्नु पर्ने हुन्छ र यसरी बन्ने सरकारहरूले ३० दिन भित्र विश्वासको मत लिने सम्भावना कम हुनाले पुन: प्रतिनिधि सभा बिघटन गरी मध्यावधी चुनाव मै जानु पर्ने स्थिति रहन्छ।

यसैले यसरी पुनर्स्थापित संसदले सरकार दिन नसक्ने अबस्था हुदा पुन: मध्यावधि मै जानु पर्ने स्थिति रहन्छ। नेकपा भित्र संसदीय दलको नेता हेरफेरको प्रक्रिया अबलम्बन नगरी सोझै प्रमं ओली उपर अविश्वासको प्रस्ताव राखेमा यसमा पनि दाने समूह पछि पर्ने सम्भावना छ। किन कि यसको लागि पनि नेकाको सहयोग चाहिन्छ तर विगतमा नेका उपर दाहालले देखाएको बेहोरालाई नेकाले बिर्सन सकेको छैन।

यदि हालको नेकपामा कुनै पनि तवरबाट बिभाजन भयो भने नेका वा समाजवादी जुन संग मिल्दा बहुमत आउछ उसै संग विभाजित नेकपा मिलेर सरकार बन्न सक्छ। यसरी बन्ने सरकार पनि देश र जनताको हितमा भन्दा पार्टी र ब्यक्तिको हितमा केन्द्रित हुने पस्टै छ। तर पनि यो दोश्रो विकल्प रोजी प्रतिनिधिसभा पूरा अबधी रहन सक्ने उपाय अबलम्बन गर्नु उपयुक्त हुने देखिन्छ।

Loading spinner