माघे सक्रान्ति,परम्पराको निरन्तरता
नेपाल बिभिन्न सस्कृति र परम्पराले सम्पन्न भएको देश हो। यहाॅं रहने बस्ने विभिन्न जात जाती र समुदायले आफ्नो पहिचानका रूपमा विभिन्न चाड पर्वहरू मनाउने गर्छन्। यी विभिन्न चाड पर्व मध्ये माघे सक्रान्ति पनि एक महत्वपूर्ण पर्व हो। यो पर्व लिच्छवी काल देखि नै मान्दै आएको पाईन्छ ।
यो पर्वलाई बिभिन्न समुदाय र क्षेत्रले बिभिन्न नाम दिएका छन् जस्तै यो पर्वलाई मधेशमा माघी, थारू समुदायमा नयाॅं बर्ष वा माघी, किराॅंत समुदायमा किराॅंत सम्बत् शुरू भएको दिन, नेवार समुदायमा घ्यू चाकु खाने दिन को रूपमा मनाईन्छ। खासगरी मगर, गुरूॅंग र बाहुन ,क्षेत्री समुदाय सबैमा यो दिनलाई विशेष पर्वको रूपमा मनाईन्छ। त्यस्तै पहिला पहिला जुन बेला यातायातको सहजता थिएन, त्यति बेला माघे सक्रान्तिमा ठाऊ ठाऊमा मेला, हाट लाग्ने गर्दथ्यो।
यस्ता हाटमा किसानका लागि आवश्यक पर्ने औजारहरू जस्तै कुटो, कोदालो, बन्चरो, हॅंसिया, फाली जस्ता फलाम जन्य बस्तुहरू किन्न पाईन्थ्यो। कृषि जन्य उत्पादनहरूको बजारको रूपमा यस्ता हाटबजारहरू प्रयोग हुन्थे। यी हाट बजारहरू गीत, संगीतका थलोको रूपमा पनि प्रयोग हुन्थे। नुवाकोट जिल्लाको तारूका भन्ने ठाउमा त माघे सक्रान्तिका दिन गोरू जुधाउने चलन अद्यपि छ। सूर्य मकर रेखाबाट उत्तर तिर सर्ने अबधी पनि यही हुनाले यो सक्रान्तिलाई मकर सक्रान्ति पनि भनिन्छ।यसरी चिसो मौसमको अन्त्यको शुरूवात पनि यही भएकोले यो सक्रान्तिमा चीसो भगाउने वा गरम प्रवृतिका परिकारको प्रयोग गरिन्छ।
जस्तै घ्यू,चाकु र च्यूरा जस्ता परिकारको प्रयोगलाई लिन सकिन्छ। हाम्रा पूर्वजहरूले प्रयोग गर्ने गीठा, तरूल जस्ता कन्दमूल पनि यस पर्वका परिकार हुन्। त्यसैगरी मासको दाल र चामल एकै ठाउमा राखेर बनाईएको खिचडीमा सर्दीको औषधी मानिने बेसार, अदुवा, घ्यू राखेर पकाईन्छ।यसैले यस्ता चाडपर्वमा प्रयोग गरिने खाद्य वा भोजनीय पदार्थमा औषधीय गुण रहेको पाईन्छ। माघे सक्रान्ति पर्वलाई स्थान विशेष पनि पृथक तरीकाले मनाईन्छ। उदाहरणका लागि मनाॅंग जिल्लाको नासों गाऊ पालिका अन्तर्गत पर्ने ताचै भन्ने गाउमा यो पर्वलाई परापूर्व काल देखि पृथक तवरले मनाईदै आएको पाईन्छ।
यो गाउमा गुरूॅंग जातीको बाहुल्यता छ । गरूॅंग पुरोहित( घ्याब्रे) हरूले पुष मसान्तको राती गाऊबाट पूजा गर्दै गाऊॅं देखि करीब २ माईल टाढा रहेको फोप्चे देवीको मन्दिर जहाॅं प्रकृतिक तातोपानीको पोखरी छ, त्यहा रातभर सबै गाऊले सहित उपस्थित भै पूजा गर्छन र बिहान उक्त पोखरी र धारामा नुहाईधुवाई गरेर राती उसिनेका कन्दमूलहरू प्रसादको रूपमा खाएर घरमा फर्केर घरघरमा विशेष परिकार बनाएर खाने चलन छ।
यसरी नेपालमा यो पर्व के हिमाल, के पहाड, के भित्री मधेश, के तराई जता सुकै र जुन सुकै जाती, जनजाती र समुदायमा मनाउने चलन रहदै आएको छ। वास्तवमा कुनै पनि देश वा समुदायको संस्कृति र परम्परा नै त्यो देश वा समुदायको चिनारी हो। संस्कृति र परम्परा हरायो भने पहिचान गुम्छ। वर्तमान समयमा हाम्रा युवाहरू वेरोजगारीका कारण विदेशिन वाध्य छन्।यसैले हाम्रो गाउघरहरू यूवाविहीन हुने क्रम बढ्दो छ। यस्तो परिस्थिति हुनु भनेको हाम्रो सस्कृति र परम्परा क्रमश: लोप हुदै जानु पनि हो र अन्तत हाम्रो पहिचान पनि हराउदै जानु हो। त्यसैले हामीले र हाम्रो राज्य समेतले हाम्रो परम्परा र सस्कृति संरक्षण गर्न विशेष ध्यान दिन जरूरी छ।