२३ जना भ्यान्टिलेटरमा, १४४ जना आइसीयुमा, संक्रमित भन्दा घर फर्किने दोब्बर

khabarwave
२३ भाद्र २०७७

काठमाडौं । कोरोना संक्रमित थपिँदै गए पनि कोरोनालाई पराजित गरेर घर फर्किनेको संख्या ठूलो हुन थालेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ९०२ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्‍वर गौतमले पछिल्लो २४ घण्टामा संक्रमित थपिएको जानकारी दिए । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १४ हजार ८६८ रहेको छ ।
देशभर २३ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ भने १४४ जना आईसीयूमा राखेर उपचार भइरहेको छ । पाँच सयभन्दा बढी संक्रमित रहेका जिल्लाहरु धनुषा, सुनसरी, मोरङ, चितवन, रुपन्देही, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, बारा, काठमाडौं रहेका छन् । ताप्लेजुङ, मुगु, सोलुखुम्बु, मनाङ, मुस्ताङ, डोल्पा र हुम्लामा कोरोना भाइरसको संक्रमण शून्य रहेको छ । हालसम्म देशभर कोरोना भाइरस संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ ।
आइतबार देशभर ९८० जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो भने सोही अवधिमा ८१४ जना डिस्चार्ज भएका थिए । कोरोना भाइरसको संक्रमणबाट आइतबार ९ जनाको मृत्यु भएको थियो । सोमबार देशभर ९७० कोरोना संक्रमित थपिएका छन् भने यही अवधिमा एक हजार ७३६ कोरोना संक्रमित डिस्चार्ज भएका छन् । कोरोना भाइरसको संक्रमणबाट ११ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा दुई हजार २८७ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ३२ हजार ९६४ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ६८ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १० हजार ६११ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ७ लाख ८८हजार १७४ जनाको पीसीआर परीक्षण गरिएको छ ।
देशभरका संस्थागत आइसोलेसन ८ हजार ५३ जना र होम आइसोलेसनमा ६ हजार ८१५ जना रहेका छन् । आजसम्म देशभर ५ हजार ३१० जना क्‍वारेन्टिनमा रहेका छन् ।

Loading spinner