हामीले बिर्सिएको धर्म र धर्म छाडाहरूकाे मनपरी
धर्म भनेको कर्तब्य हो तर हामीले बुझेनौ। हाम्रा नीतिहरूले त भनेकै हुन् धर्म के हो भनेर तर हामीलाई कसैले बुझाउन सकेन वा हामीले बुझ्न चाहेनौ र सकेनौ पनि। जतिले बुझेका छन् धर्म के हो भनेर ती अधिकांश बुझाइ अधुरा छन्। धर्म भनेको परोपकार हो, धर्म भनेको सबैको हित हुने काम हो, धर्ममा वनावटीपन वा कृत्रिमता हुनु हुदैन तर हामीले यसलाई ब्यक्तिगत प्रयोगमा सीमित गर्न थाल्यौ। भनिन्छ राजनीतिमा धर्म हुदैन।
यसो किन भनिएको होला भने राजनीति कर्मी जब सत्तामा जान्छन् तिनीहरूलाई सत्ता मोहले अन्धो बनाउने रहेछ। त्यसैले उनीहरू राजनीतिक धर्मलाई जनता र देशको लागि नभएर आफू र आफ्ना परिवारको लागि प्रयोग गर्ने रहेछन्। अहिले हाम्रा देशका राजनीति कर्मीले आफ्नै लागि काम गर्दैछन्। त्यसैले हाम्रो देशको राजनीतिले देश र जनताको लागि केही गर्न सकेको पाईदैन।
हाम्रा राजनीति कर्मीहरू स्वार्थको लागि राजनीति गर्दै छन्। यस वर्षको बजेट तयार गर्दै गर्दा सम्बन्धित मन्त्रीले राजिनामा दिनु पर्नाको कारण राजनीतिले आफ्नो धर्म निर्वाह गर्न नसक्नाले नै हो। यसरी नेपालका राजनीति कर्मीले राजनीतिको धर्म निर्वाह नगरेको यस पटक मात्र हैन, यस्ता अपराधिक कर्महरू पटक पटक हुने गरेका छन् नेपालमा। राजनीति कर्मीहरू मात्र आफ्नो धर्मबाट च्यूत भएका हैनन् कि राष्ट्र सेवकका नाममा जनताको घर दैलोमा सेवा दिने भनेर खटिएका सरकारका स्थायी संयन्त्रको समेत यस्तै हालत छ आफ्नो धर्म निर्वाहको सवालमा।
सर्वसाधारणको काम पर्ने जिल्ला तहका कार्यालयहरूले प्रदान गर्ने सेवाहरूमा पनि पेशाको धर्म निर्वाह गरेको पाईदैन। सेवाग्राहीलाई झुलाउने, नतिजा भन्दा प्रकृयालाई महत्व दिने, सेवाग्राहीले तिरेको करबाट तलव खाएको बिर्सने, आफूलाई सेवक हैन शासक सम्झने, आफू पनि भोली सेवाग्राही हुनु पर्छ भन्ने बिर्सने जस्ता सोच र ब्यबहारले आफ्नो धर्म निर्वाह गर्न नसकेको देखिन्छ। त्यसैले धर्मको यथार्थ चित्रण गर्न टाढा जानु पर्दैन। त्यसै गरी विकास, निर्माणमा खटिने प्राविधिक र ठेकेदारहरू समेत आफ्नो धर्मबाट बिचलित हुन पुग्दा दीगो विकास दिवा स्वप्ना भएको छ भने सुशासनमा खडेरी परेको छ।
त्यस्तै पारदर्शिता र न्यायका लागि खटिएका राष्ट्र सेवकहरू समेत आफ्नो धर्मबाट बिचलित हुन पुग्दा भ्रष्टाचार मौलाउदै गएको र न्याय जुम्सो र निरीह भएको स्थिति छ। यसरी धर्मको कुरा गर्दा राजनीतिकर्मी छनौट गर्ने मतदाता र सेवाग्राहीको रूपमा आउने सर्वसाधारणहरू बाट पनि आफ्नो धर्म निर्वाह भएकै छ भन्न सकिने अवस्था पनि छैन। किनभने हाम्रा मतदाताहरूले राम्रा उम्मेद्वार भन्दा हाम्रालाई छानेर आफ्नो धर्मको खिल्ली उडाएको पाईन्छ।
त्यसै गरी सेवा लिन कार्यालयमा सेवाग्राहीको रूपमा जाने सर्व साधारणहरूले समेत आफ्नो कामको लागि आवश्यक पर्ने कागजातहरू लिएर कार्यालयमा गए बहाना बनाउने कर्मचारीलाई जवाफ दिन सकिन्थ्यो तर अधिकांश सेवाग्राहीहरूले यस मामलामा आफ्नो धर्म निर्वाह गरेको पाईदैन। सेवा लिने दिने सम्बन्धमा धर्मका कुरा गरिरहदा हाम्रा शिक्षा प्रदायक गुरू वर्ग र विद्यार्थी वर्गको धर्मको बारेमा उल्लेख नगर्दा लेख अधुरो नै हुन्छ।
हाम्रा गुरू वर्गहरू मध्ये अधिकांशले अध्यापनको धर्म निर्वाह गरिरहनु भएको पाईदैन। उहाहरू अध्यापनमा भन्दा राजनीतिमा र ट्यूशनमा ब्यस्त हुनुहुन्छ भन्नु पर्दा दुःख लाग्छ। समाजको अगुवाइ गर्ने वर्ग नै आफ्नो धर्मबाट विचलित हुन पुग्छ भने को बाट धर्म पालनाको अपेक्षा गर्ने हो? त्यसै गरी विद्यार्थीहरू पनि राजनीतिक पार्टीको हतियार र मतियार भएर आफ्नो पठनपाठन कार्यलाई पाखा लगाउने कार्यले विद्यार्थी वर्गले समेत आफ्नो अध्ययन धर्मलाई बिर्सेको पाईन्छ। यसरी देश र जनताको पक्षमा लाग्नु पर्ने पात्रहरूले आफ्नो धर्म बिर्सेर अन्यत्र पलायन भएको अवस्थामा देशले दुःख पाउने स्थिति देखिएको छ।
हामीले धर्मलाई कर्तब्यबाट विमुख बनाएर मन्दिर, पूजाआजा, धूपवत्ती र अक्षतामा केन्द्रित गर्नाले धर्मको परिभाषा जवर्जस्त फेरेका छौ जुन सरासर गलत हो। त्यसैले देश बनाउने हो भने के राजनीतिकर्मी, के राष्ट्र सेवक, के शिक्षक, के सर्वसाधारण सबै आ-आफ्नो धर्ममा लाग्नुको विकल्प छैन।